Comments Add Comment

बन्दीपुरमा पर्यटक बढे, रिङरोड र भ्यूटावर बनाइँदै

२ साउन, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरीक पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । भूकम्प र नाकावन्दीका कारण थलिएको बन्दीपुरको पर्यटन व्यवसाय बिस्तारै तगि्रने अवस्थामा आएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बयस गुरुङले जानकारी दिए ।

‘भूकम्प र त्यसपछिको नाकावन्दीले पर्यटन व्यवसाय नै थला पर्ने अवस्थामा पुग्यो, त्यसको एक वर्षसम्म त्यसको असर देखियो,’ अध्यक्ष गुरुङले भने, ‘एक वर्ष अघिदेखि भने पुरानै अवस्थामा बन्दीपुरमा पर्यटकहरु आउन थालेका छन् ।’

बन्दीपुरमा गत वर्षको दशैं पछि पर्यटकहरु बढ्न थालेका हुन् । असार महिनामा समेत पर्यटकहरु बन्दीपुरमा भेटिए । बन्दीपुरमा ९० प्रतिशत पर्यटकहरु आन्तरीक हुन्छन् भने १० प्रतिशत मात्रै बिदेशी पर्यटक आउने गरेका छन् ।

विषेश गरी विकइन्ड मनाउन आन्तरीक पर्यटकहरु बन्दीपुर आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटकहरुको बसाई अवधि भने एक दिनको मात्रै हुने गरेको छ । बन्दीपुरमा ठूला-साना गरी ६० वटा होटलहरु सञ्चालनमा छन् । तिनमा ५ सय रुपैयाँदेखि १२ हजारसम्म पर्ने कोठाहरु छन् । बन्दीपुरमा ३ वटा नयाँ होटल यसै वर्ष थपिएका छन् भने ४ वटा ठूला होटल निर्माणको क्रममा छन् । होटलहरुमा ६ सय जनाले रोजगारी पाएका छन् ।

तालपार्कदेखि भ्यूटावरसम्मको सपना

पर्यटकको आकर्षणको केन्द्र बन्दै गएपछि बन्दीपुरमा भ्यू टावर निर्माणको प्रक्रिया अघि बढेको छ । २ करोडको लगानीमा रानीवन क्षेत्रमा भ्यूटावर निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । यहाँबाट एउटै रेञ्जमा धांलागिरीदेखि लामटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमालहरु देख्न सकिन्छ ।

यसैगरी बन्दीपुरमा तालपार्क निर्माणको योजना अघि बढेको छ । बन्दीपुरको गैह्रीगाउँमा तालपार्क निर्माणका लागि जग्गाको मुआब्जा दिने प्रक्रिया अघि बढेको छ । पार्क निर्माण हुने स्थानमा केही व्यक्तिको समेत जग्गा परेकाले त्यसलाई टुंग्याएर मात्रै काम शुरु गर्नुपर्ने हुँदा ढिला भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

पानीको स्रोत नै नभएको ठाउँमा तालपार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा रिङरोड निर्माण गर्न १ करोड ३० लाख रकम छुट्टाएको छ ।

यस्तै, गुरुन्चे डाँडाको पिकमा रहेका मन्दिरहरुको जीर्णोद्धार गरी त्यहाँ रहेको राजदरवारसम्म पुग्न फुट ट्र्याक निर्माणको काम गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा अघि बढाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै बन्दीपुरको टुँडीखेल क्षेत्रको गुरुयोजना तयार गरी फुटबल मैदान, फुटपाथ निर्माणको काम भैरहेको छ । हेलिप्याड निर्माण, कोसेली घर निर्माणको काम बाँकी छ । २ करोड ५० लाखको लागतमा ३ वर्षभित्र पूरा गर्ने गरी टुँडीखेलमा यी संरचनाहरु निर्माण गर्न लागिएको हो ।

बन्दीपुरका दुःख

आधुनिक शहरको प्रभावभन्दा परिरहेको बन्दीपुरका लागि परम्परागत र साँस्कृतिक संरचनालाई कायम राख्नु सबैभन्दा ठूलो चुनौती बनेको छ । पछिल्लो समयमा पौराणिक कलात्मक घरहरु भत्काएर नयाँ क्रंकिट भवनहरु निर्माण भैरहेको सन्दर्भलाई गाउँपालिकाले पनि गम्भिरतापूर्वक लिएको अध्यक्ष थापाले बताए ।

बन्दीपुर बजार क्षेत्रलाई सवारी साधन मुक्त क्षेत्र र मौलिक शहरकै रुपमा राख्न स्थानीयलाई त्यसतर्फ मोटिभेसन गराउने काम पनि गाउँपालिकाले गर्ने अध्यक्ष थापा बताउँछन् ।

बन्दीपुरमा खानेपानीको समेत समस्या रहदै आएको छ । फागुन, चैत र बैशाख महिनामा बन्दीपुरमा खानेपानीको समस्या ठूलो बन्ने गरेको छ । यो समस्याको दीर्घकालिन समाधानका लागि गाउँपालिकालाई अनुरोध गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बयस गुरुङले जानकारी दिए । यस्तै नगरक्षेत्रमा बढ्दै गएको फोहर मैलाको व्यवस्थापन, साँघुरो सडकलाई बिस्तार गर्नुपर्ने चुनौती पनि बन्दीपुरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment