Comments Add Comment

नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम लगभग ठप्प, ठेकेदारको म्याद थप

२ साउन, चितवन । आगामी मंसिर महिना भित्र निर्माण पूरा गरिसक्ने भनिएको नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम लगभग ठप्प भएको छ । असार महिना लागेदेखि नै काम सुस्त बन्दै गएको यो सडकखण्डको काम पछिल्ला दिनहरुमा लगभग ठप्प छ । सडकखण्डमा न त काम गर्ने मजदुर नै देखिन्छन् न त कुनै काम नै भएको छ ।

अहिले सडकखण्ड निर्माणका लागि जम्मा ८३ जना मात्रै कामदार छन् । अधिकांश कामदारहरु घर फर्किएका छन् । केही स्थानमा डोजरहरु राखिएका छन् पहिरो आए पन्छाउनका लागि भन्दै । गएको असार २५ गतेदेखि रातीको समयमा सडक बन्द गरेपछि दिउँसोको समयमा सडकमा सवारी चाप पर्न थालेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर सडक निर्माणको काम गरिएको भनिए पनि सन्तोषजनक हुन सकेको छैन ।

ठेक्का अवधि सकिन ४ महिना बाँकी रहँदा जम्मा ५०.४ प्रतिशत मात्रै काम भएको छ । अहिले दिउँसोको समयमा दोहोरो सवारी साधन कुदने भएकाले काम लगभग ठप्प भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सामान्य मर्मत बाहेक अरु काम हुन नसकेको इन्जिनियर खनालले स्वीकार गरे । कहिलेसम्म रातीमा सडकबन्द हुन्छ भन्ने एकीन पनि छैन ।

अझै २ महिनासम्म सडक रातीको समयमा बन्द हुने र दिउँसोका समयमा सवारी चापका कारणले काम नहुने देखिएको छ । ठेकेदारहरुले स्थानीय प्रशासन र संसदको विकास समितिले रातीको समयमा सडक बन्द गरिदिँदा दिउँसोको समयमा काम गर्न नपाएको बाहानाबाजी देखाएर यसलाई म्याद थपको एक ‘टुल’का रुपमा प्रयोग गर्ने देखिएको छ ।

पछिल्ला दिनहरुमा ठेकेदारहरुले कालिखोला लगायतका क्षेत्रमा आउने पहिरो पन्छाउने र केही स्थानमा परेका खाडल पुर्ने बाहेक अरु काम खास गरेका छैनन् । वर्षातको समयमा काम गर्न नसक्ने यसअघि नै जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा ठेकेदारहरुले बताइसकेका थिए ।

पछिल्लो समय पहिरोका कारण ठाउँ-ठाउँमा सडकको भित्तामा लगाइएको ग्याविन पनि भत्किएको छ । ठाउँ-ठाउँमा पहिरो सडकमै झरेको छ । पहिरोको अति जोखिम क्षेत्र यो सडकखण्डमा २९ ठाउँमा छ । यस बर्ष मात्रै पहिरोमा पुरीएर ८ जनाको ज्यान गइसकेको छ ।

ठेकेदारको म्याद ६ महिना थप !

२ पटकसम्म म्याद थप गर्दा पनि लक्ष्य अनुसारको काम गर्न असफल ठेकेदारहरुको आयोजनाले पुनः तेस्रोपटक म्याद थप गरेको छ । आगामी २० फेब्रुअरी २०१८ सम्म निर्माण कार्य गरिसक्ने भन्दै २ जना ठेकेदारहरुको म्याद थप गरिएको हो ।

आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि ६ महिना थप गरिएको छ । बीचको सडकखण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको भने समय थप गरिएको छैन । अन्य २ कम्पनीको भन्दा लामाको निर्माणमा प्रगति नदेखिएको भन्दै समय थप नगरिएको हो ।

कुन ठेकेदारको कति प्रगति ?

३ वटै निर्माण कम्पनीहरुको औसत प्रगति ५०.९२ प्रतिशत अर्थात झण्डै ५१ प्रतिशत छ । यो समयसम्म औसत झण्डै ६८ प्रतिशत प्रगति हासिल गर्नुपर्ने थियो । लक्षित उद्देश्यभन्दा १८ प्रतिशत कम लक्ष्य आयोजनाले हासिल गरेको छ ।

आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ५१ प्रतिशत मात्रै काम सकाएको छ । उसको टार्गेट लक्ष्य यो अवधि ६२ प्रतिशत थियो ।

यस्तै, वीचको निर्माण जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको ५७.७९ प्रतिशत निर्माण प्रोग्रेस रेट छ । यसको लक्ष्य ८८ प्रतिशत थियो ।

तेस्रो मुग्लिनसम्मको सडकको जिम्मा पाएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको लक्ष्य ५९.३९ प्रतिशत भएकोमा ४८.५५ मात्रै काम भएको आयोजनाका परामर्शदाता इन्जिनियर पुष्कर रेग्मीले जानकारी दिए ।

कसको रकम कति ?

नारायणगढ-मुग्लिन सडक खण्डलाई एसियाली मापदण्ड अनुसार चार लेनको सडक बनाउँदै भन्दै ०७२ बैशाखबाट निर्माण कार्य आरम्भ गरिएको हो । यो सडकले काठमाडौं पोखरा जाने महत्वपूर्ण मार्ग पृथ्वी राजमार्गलाई जोड्छ ।

नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल-भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । ३६ किलोमिटर सडकलाई तीन खण्ड बनाएर फरक-फरक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।

भरतपुरको आँपटारीदेखि झण्डै १३ किलोमिटरसम्मको सडकखण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ६० करोड १० लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गर्न जिम्मा दिइएको हो । २४ अपि्रल २०१६ मा ठेक्का सम्झौता भएको थियो । त्यसपछि साढे २३ किलोमिटरसम्मको सडक निर्माणको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । सो खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ रहेको छ । ३१ मार्च २०१६ मा सो खण्डको निर्माण सम्झौता भएको थियो ।

त्यसअघि २३ मार्च २०१६ मा निर्माण सम्झौता भएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले नारायणगढदेखि २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको छ । सो खण्डको निर्माण लागत सबैभन्दा धेरै १ अर्ब ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment