Comments Add Comment

न्याय बुझाउन गाउँ पसे न्यायाधीश

मुद्दा फर्छ्यौटमा लुम्बिनी अञ्चलमै पहिलो बन्यो अर्घाखाँची जिल्ला अदालत

 

२ साउन, अर्घाखाँची । राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्‍याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर, राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । अर्घाखाँची जिल्लामा पनि यस्तो अवस्था देखिएपछि न्याय बुझाउन न्यायाधीश गाउँ पसेका छन् ।

जिल्ला न्यायाधीश केशव बास्तोलाले जनतालाई न्यायीक पहुँचमा ल्याउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरेका हुन् । ‘अन्यायमा परे के गर्ने, कहाँ जाने भन्ने जानकारी अझै पनि कमलाई मात्र थाहा छ त्यसैले गाउँ-गाउँ पुगेर बुझाउने अभियान सुरु गरिएको हो,’ न्यायाधीश बास्तोलाले भने, ‘प्रत्येक महिना सेवाग्राहीसँग परामर्श गर्छु ।’

अर्घाखाँची जिल्ला अदालतले फैसला भएका मुद्दा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै आएको छ ।

अभियान अन्तर्गत पाणिनी गाउँपालिका-७ अड्गुरीमा न्यायीक सम्वाद कार्यक्रम आयोजना गरिएको छ । ‘समुदायमा न्यायाधीश’ भन्ने नारासहित आयोजित कार्यक्रममा पराजुलीले दुर दराजका नागरिक अदालतसम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको बताए । अर्घाखाँची अदालतमा आउन डराउनु नपर्ने र कम समयमा निःशुल्क न्याय जनताले पाउनसक्ने बास्तोलाले बताए ।

‘न्यायाधीशले कागज विना राजनीतिक व्यक्तिले जस्तो जवाफ दिन नमिल्ने भएकाले मुद्दा फैसलाका लागि आवश्यक कागजात भएमा प्रक्रिया झन्झटिलो हुँदैन,’ उनले भने ।

कहिल्लै न्यायाधीशको मुख नदेखेका अड्गुरीबासीले न्यायीक संवाद कार्यक्रममा प्रत्यक्षरुपमा आफ्ना गुनासा सुनाएका थिए ।  गुनासा सुनेपछि जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश बास्तोलाले जनतालाई न्यायीक पहुँचमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताए ।

अर्घाखाँची अदालत मुद्दा फर्छ्यौटमा अग्रणी

यसैबीच अर्घाखाँची जिल्ला अदालत लुम्बिनी अञ्चलमै धेरै मुद्दा फर्छ्यौट गर्ने अदालत बनेको छ । गत आर्थिक वर्षमा अर्घाखाँची जिल्ला अदालतबाट कुल ८५ प्रतिशत मुद्दा फैसला भएको छ ।

जिल्ला अदालतका नायब सुब्बा टेकराज गैरेले एक वर्षको अवधिमा २ सय ६९ मुद्दा परेकोमा २ सय २९ वटा मुद्दा फैसला भएका छन् ।

जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गत वर्षमा जस्तै सम्बन्ध बिच्छेद गर्ने दम्पतीको संख्यामा यस वर्ष पनि बृद्धि भएको छ ।

०७३ सालको साउनदेखि ०७४ को असार २९ सम्ममा कुल २ सय ६९ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा सम्बन्ध बिच्छेदका छन् । यसवर्ष ९१ जोडीले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएकोमा ८५ जोडीको सम्बन्ध बिच्छेद भएको र ८ मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेर समूहका छन् । जसमा झण्डै ८० प्रतिशत त्यही उमेर समूहका छन् । बाँकी २० प्रतिशत ३० वर्ष माथिका छन् ।

सम्बन्ध बिच्छेद पछि सबैभन्दा बढी मुद्दा अंशको विषयमा परेको छ । अंशका ४३ मुद्दा दर्ता भएका मध्ये ३५ वटा फर्छ्यौट भएका छन् । माना चामलको मुद्दा ३१ वटा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment