Comments Add Comment

स्थानीय तहलाई ७५ अर्ब निकासापछि सेयर बजारमा दोहोरो अंकको वृद्धि

२ साउन, काठमाडौं । सरकारले स्थानीय तहलाई पहिलो किस्ताको रुपमा ७५ अर्ब निकासा गरेको खबरले सेयर बजारमा वृद्धि आएको छ । नेप्से परिसूचक सोमवार एकै दिन २०.५८ अंकले बढेको छ । नेप्से १६ सय बिन्दु माथि (१६०४) आइपुगेको छ ।

स्थानीय तहले पाउने रकम बैंक खातामा नै जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसले बैंक तथा वित्तीय संस्थामा देखिएको लगानी योग्य पुँजी अभावको समस्या समाधान हुने अपेक्षामा सेयर बजार बढेको ब्रोकर सन्तोष मैनाली बताउछन् । यस दिन ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, केही दिन अघिसम्म साउन १ गतेदेखि सेयर कारोबारमा भ्याट लाग्ने भन्ने खबरहरु आएका भएपनि त्यस्तो नभएपछि पनि बजारलाई सकारात्मक प्रभाव परेको हो ।

गत आव अन्त्य भएको र सूचीकृत संस्थाहरुले वित्तीय विवरण प्रकासित गर्न थाल्ने भएकोले बजारमा असार मसान्त प्रभाव समेत देखिन थालेको बजार स्रोतहरु बताउछन् । लामो समयपछि गत असार २२ गते ३१ अंकले बढेको बजार भ्याट लगायतका खबरले पुनः घटेको थियो ।

आव अन्त्यसँगै कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुन्छ र नाफाको आधारमा लगानीकर्ताहरु प्रतिफल प्रक्षेपण गर्न थाल्छन् । कम्पनीहरुको वित्तीय विवरण सकारात्मक आउने अपेक्षामा पनि लगानी बढ्ने गर्छ । अहिले लगानी गर्दा मूल्य धेरै वृद्धि भइसकेको नहुने र प्रतिफल प्राप्त गर्न धेरै लामो समय कुर्न नपर्ने भएकोले पनि लगानीकर्ताहर यो समयमा पनि बजार प्रवेश गर्छन् ।

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । कारोबारमा आएका मध्ये १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य भने घटेको छ । कुल १ सय ५४ कम्पनीको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment