Comments Add Comment

डोटीमा पुरुष भन्दा १४ हजार बढी महिलाले मतदान गरे

२ साउन, डोटी । डोटीमा पुरुष भन्दा महिला मतदाताको संख्या बढी देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह चुनावमा जिल्लामा पुरुष भन्दा १४ हजार सात सय ६१ बढी महिलाहरुले मतदान गरेको पाइएको हो ।

कुल एक लाख एक हजार १६ मतदाता रहेको डोटीमा ७१ हजार आठ सय ९८ जनाले मतदान गरेका छन ।

मतदान गर्नेहरुमा ४३ हजार दुई ९७ अर्थात ६०.२२ प्रतिशत महिला रहेका छन । मतदान गर्ने पुरुषहरुको संख्या २८ हजार पाँच सय ३६ अर्थात ३९.२२ प्रतिशत मात्रै रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जानकारी दिएको छ ।

निर्वाचनमा सबै भन्दा बढी जोरायल गाउँपालिकामा ७५.०३ प्रतिशत मतदान भएको छ । कुल ११ हजार एक सय ४५ मतदातामध्ये आठ हजार तीन सय ६२ जनाले मतदान गरेका छन । ६ वडा रहेको यस गाउँपालिकामा चार हजार ४७ पुरुष र चार हजार तीन सय १५ महिलाहरुले मतदान गरेका छन ।

यस्तै दिपायल सिलगढी नगरपालिकामा सबै भन्दा कम ६७.८१ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला सदरमुकाम समेत रहेको यस नगरपालिकामा कुल १५ हजार एक सय पाँच मतदातामध्ये १० हजार दुई सय ४३ ले मात्रै मतदान गरेका छन । नौ वडा रहेको यस नगरपालिकामा तीन हजार सात सय ९१ पुरुष र ६ हजार चार सय ७२ महिलाले मतदान गरेका छन ।

जिल्लाकै दुर्गम र सवैभन्दा सानो स्थानीय तह बडीकेदार गाउँपालिकामा ७२.५६ प्रतिशतले मतदान गरेका छन । सात हजार पाँच सय ९९ मात्रै मतदाता रहेको यस गाउँपालिकामा पाँच हजार पाँच सय १४ ले मतदान गरेका थिए ।

पाँच वडामा बिभाजित यस गाउँपालिकामा भने महिला भन्दा पुरुष मतदाताको संख्या बढी छ । दुई हजार सात सय ७६ पुरुष र दुई हजार सात सय ३८ महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याँकमा छ । डोटीका नौ स्थानीय तहमध्ये महिला भन्दा पुरुष बढीले मतदान गरेको यो स्थानीय तह मात्रै हो ।

यस्तै शिखर नगरपालिकामा ६९.७४ ले मतदान गरेका छन । साबिकका नौ गाबिसहरु मिलाएर बनाइएको यस नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी १७ हजार एक सय १६ मतदाता रहेकामा एक हजार नौ सय ३७ ले मात्रै मतदान गरेका छन ।

वडा र भुगोलका हिसावले पनि जिल्लाकै ठुलो यस नगरपालिकामा चार हजार तीन सय ५० पुरुष र सात हजार चार सय ९९ महिलाले मतदान गरेका छन । यस नगरपालिकामा ११ वडा रहेका छन ।

बोगटान गाउँपालिकाका आठ हजार चार सय २८ मतदातामध्ये ६ हजार एक सय १५ अर्थात ७१.५६ प्रतिशतले मतदान गरेका छन । यस गाउँपालिकामा दुई हजार सात सय ८३ पुरुष र तीन हजार तीन सय ३२ महिलाले मतदान गरेका छन ।

यस्तै आदर्श गाउँपालिकामा ७०.५१ प्रतिशत मतदान भएको छ । यस गाउँपालिकामा कुल मतदाता ११ हजार चार सय १६ मध्ये आठ हजार ४९ ले मतदान गरेका छन । सात वडा रहेको यस गाउँपालिकामा मतदान गर्नेहरुमध्ये दुई हजार आठ सय २७ महिला र पाँच हजार दुई सय २२ पुरुष रहेका छन ।

के आई सिंह गाउँपालिकामा ७३.०३ मत खसेको छ । कुल १० हजार एक सय ७६ मतदाता रहेको यस गाउँपालिकामा दुई हजर ६ सय १० पुरुष र चार हजार आठ सय २५ महिलाले मतदान गरेका छन ।

७ वडा रहेको यस गाउँपालिकामा ३७ वटै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । यस्तै पूर्वीचौकी गाउँपालिकामा ७१.५१ प्रतिशत मत खसेको छ । ११ हजार एक सय तीन मतदातामध्ये दुई हजार आठ सय १८ पुरुष र पाँच हजार एक सय २५ पुरुष गरि ७ हजार ९४० जनाले मतदान गरेका छन । यस गाउँपालिकामा सात वडा रहेका छन ।

सायल गाउँपालिकामा पनि महिला मतदाताहरुको संख्यानै बढी छ । ६ वडा रहेको यस गाउँपालिकामा दुई हजार पाँच सय ३४ पुरुष र तीन हजार सात सय ६९ पुरुष गरि ६ हजार तीन सय तीनले मतदान गरेका छन । आठ हजार नौ सय २८ मतदाता रहेकामा ७०.६० प्रतिशतले मतदान गरेका छन ।

पुरुषको तुलनामा महिला मतदाता बढी हुनुले पुरुषहरु कामको खोजीमा बाहिर जान्छन भन्ने देखाएको जिल्ला निर्वाचन कार्यालय डोटीका नासु दलवबहादुर मलासी बताउँछन । ‘केही व्यक्तिहरु मतदान गर्न भनेर भारतबाट समेत आए तर उनीहरुको मतदाता नामावलीमा नाम छैन’ अनलाईन खवरसंग कुरा गर्दै मलासीले भने ‘फोटो सहितको मतदाता नामावली संकलनकै क्रममा देश बाहिर रहेका व्यक्तिहरुको नाम छुट्यो, त्यसैले उनीहरु मतदान गर्नबाट बञ्चित भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment