Comments Add Comment

राप्रपा विवादको भित्री पाटोः कमल थापालाई कमजोर पार्ने खेल

दोस्रो संविधानसभापछि कमल थापा नेतृत्वको राप्रपा नेपाल यो देशमा कांग्रेस, एमाले र माओवादीका अगाडि वैकल्पिक शक्तिका रुपमा उदय हुँदै थियो । यो पार्टी सशक्त रुपमा जनताको मन जितेर देशकै चौथो पार्टीका रुपमा अगाडि आएको थियो । अनुशासित राप्रपा नेपालमा कुनै गुटबन्दीको ठाउँ थिएन । उदाउँदो राप्रपा नेपाललाई देखेर धेरैले आँखा लगाइरहेका थिए ।

यही क्रममा राप्रपालाई अझ बलियो बनाउने उद्देश्यले ०७३ साल फागुनमा राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण भयो ।

यो कुनै सानो चुनौतीको कुरा थिएन कि गणतन्त्रवादी र राजावादीको एकीकरण थियो । एकीकरणपछि पनि नेतृत्व वर्गले लाखौं कार्यकर्ताको भावनालाई बुझेर राजसंस्थाको एजेन्डा पनि कायम गरायो । यससँगै अब राप्रपा २४ सिट र १३ सिट गरी ३७ सिटको बन्दा कार्यकर्ताहरुमा उत्साह देखियो ।

तर, यो हर्ष एक वर्ष पनि टिक्न नसकी नेताहरुवीच विवाद र भनाभनका स्वरहरु सतहमा आउन थालेका छन् । जसले कार्यकर्तालाई निराश बनाउन थालेको छ ।

किन आयो संकट ?

आखिर किन पार्टी एकताको वर्षदिन नपुग्दै राप्रपालाई संकटले घेर्न थाल्यो ? यसको विश्लेषण आवश्यक छ । राप्रपामा संकट वा विवाद आउनुका पछाडिका कारणहरुमा केही राजनीतिक वैचारिक छन् भने केही मनोवैज्ञानिक प्रकारका छन् ।

पहिलो विवाद हो, संविधान संशोधन प्रस्तावको पक्षमा लाग्ने कि विपक्षमा ? सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई मान्ने कि नमान्ने भन्नेबारे राप्रपाभित्र विवाद छ ।

संविधान कुनै संशोधन गर्नै नहुने दस्तावेज होइन । संविधान न त वेद हो, न पुराण हो । केही विषयमा राष्ट्रलाई एकतामा जोड्नका लागी संशोधन हुनुपर्छ । यदि मधेस केन्दि्रत दलहरु समाहित हुन्छन् भने र प्रतिपक्षलाई पनि यसमा ल्याएर संविधान संशोधनको प्रकृया अगाडि बढाउन सकिन्छ । किनकि राप्रपाले भनेजस्तै सीमांकनको विषयलाई थाती राखेर अहिले संशोधन प्रस्ताव ल्याइएको छ ।

तर, यसैलाई विवादको विषय बनाएर पार्टीलाई अलमलमा पार्न र कार्यकर्तालाई निराश बनाउने काम केही नेताहरुबाट भइरहेको छ ।अहिलेको संशोधन प्रस्तावमा राष्ट्रघात हुने केही विषय छैन । यसले त झनै मधेस र पहाडको मित्रता बढाउन मद्दत गर्छ । तर, अहिले संविधान संशोधनमा राष्ट्रघात छ भनेर एमालेबाट गलत प्रचार गरिएको छ र राप्रपाका केही नेताहरु पनि एमालेको त्यही बहकाऊमा लागेका छन् ।

राप्रपाभित्रको दोस्रो विवाद हो-सरकारमा जाने कि नजाने ? आखिर सरकारमा जाँदा के फरक पर्छ र ? सत्तामा गएर जनताका समस्या समाधान गर्न किन नहुने ? कि जंगलै पस्नुपर्‍यो, कि यही संविधानमा रहेर संविधानको परिधिमा बसेर हाम्रा एजेण्डा कायम गर्न किन नहुने ? सरकारमा जाने कुरा र हाम्रा एजेण्डा फरक विषय हुन् । त्यसैले केन्द्रीय कमीटी एवं कार्य समितिकोे बैठक बसेर सबैको सहमतिमा सर्वसम्मत निर्णय गरेर सरकार जाने/नजाने टुंगो लगाउनुपर्छ । अध्यक्ष कमल थापाले पनि यही भन्दै आएको अवस्था छ ।

राप्रपाभित्रको तेस्रो विवाद हो-चुनाव चिन्ह गाई राख्ने कि हलो ?

राप्रपाले हिन्दुराष्ट्रको मुद्दा बोकेको छ, तर, गाई चिन्हको विकल्प खोज्दैछ, किन ? गाई नेपालीको मन मष्तिकमा बसेको भगवान लक्ष्मीको अवतार हो, हिन्दु धर्म अनुसार । यो चिन्हलाई पार्टीको केन्द्रीय कमिटीले नै सर्वसम्मत पारित गरेको हो । फेरि यसमा विवाद झिक्नु भनेको लाखौ कार्यकर्ताको भावनासँग खेल्नु हो ।

त्यसैले राप्रपामा चुनाव चिन्हको वाहाना गर्दै स्वार्थमा लिप्त हुने काम बन्द गर्नुपर्छ र गाईको विकल्प खोज्ने बहस बन्द गरिनुपर्छ ।

राप्रपामा देखा परेको चौथो विवाद हो- कमल थापाले एकलौटी गरेको भन्ने । यो एउटा ठूलो भ्रम हो । कमल थापाले एकलौटी गरे भनिए पनि वास्तविकता भने धेरै फरक छ ।

कुनै पनि पार्टीमा महत्वपूर्ण निर्णय हुँदा केन्द्रीय समितिसँग सरसल्लाहमा गरेर निर्णय गरिने गरेको छ । केवल आˆनो स्वार्थ पूरा नहुनेवित्तिकै यस्ता आरोप लगाउने प्रवृत्ति पार्टीमा हावी छ । कमल थापामाथि लगाइएका आरोपहरु निराधार छन् ।

विवादका भित्री रहस्य बेग्लै छन्….

माथि उल्लेख गरिएका राप्रपाभित्रका विवाद सतहमा देखिएका विषय मात्रै हुन विवादको भित्री रहस्य चाहिँ बेग्लै छ ।

जसरी कमल थापाको नेतृत्वमा देशमा राष्ट्रवादी शक्तिको उदय भइराखेको थियो, हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको शक्तिको निर्माण भइराखेको देखेर चिन्तित भएका व्यक्तिहरुले यो शक्तिलाई समाप्त गर्न सबैभन्दा पहिला कमल थापाको चरित्र हत्या गर्न थाले ।

यसका लागि योजनावद्ध र संगठितरुपमा थापामाथि लगाइएका आरोपहरुले केही हदसम्म भ्रम छर्न सफल भएको देखिन्छ ।

कमल थापालाई कमजोर बनाएपछि राप्रपा पनि सकिन्छ भन्ने खेलमा बाहृय शक्तिको पनि ठूलो चलखेल छ, जो हिन्दुराष्ट्र र राष्ट्रवादी शक्तिको उदय हुन नदिन योजनावद्ध रुपमा सक्रिय छन् । र, यसैको प्रतिफलका रुपमा राप्रपाभित्र गुटबन्दी र विवादको सिर्जना गरिएको हो ।

राप्रपा आफ्नो स्थापनादेखि आजसम्म विभाजनका अत्यन्त दु:खद र एकताका सुखद दिनहरु हुँदै यहाँसम्म आएको छ । राप्रपाको एकतालाई मन नपराउनेले यसलाई विभाजन गर्न पछि परेका छैनन् । कतै पार्टीभित्रकै शीर्ष नेताहरु पनि त्यसमा सामेल भएका त छैनन् ? राप्रपाभित्र गम्भीर प्रश्न उठेको छ यतिबेला ।

यहाँ सबैले बुझ्नुपर्ने कुरा के छ भने विगतमा राप्रपा नेपाल एक अनुशासित पार्टी थियो । त्यहाँ गुटवन्दी भन्ने प्रश्नै थिएन । तर, जब राप्रपाको प्रवेश भयो, एकीकरणले जुट होइन कि फुटाउने खेल प्रवेश गरायो ।

पहिलाको राप्रपाको झगडा पनि अहिले एकीकृत पार्टीमा मिसाइयो । भएका, नभएका कुराहरु मिडियामार्फत ल्याइए । जुन कुरा पार्टीभित्र गर्नु पर्ने थियो, ती विषयलाई सार्वजनिक बहसमा लगियो र पार्टी अनुशासनलाई कमजोर पारियो ।

जब पार्टीभित्र व्यक्तिगत स्वार्थ हामी हुन्छ, तब आफ्नो स्वार्थका लागि पार्टी र देशलाई भुल्ने काम हुन्छ । त्यतिवेला यस्ता स्वार्थी मान्छेले जे पनि गर्न सक्छन् । पार्टीलाई कमजोर बनाउने र आˆनो सीमित स्वार्थका लागि पार्टीलाई विभाजन गर्ने खेल सुरु हुन्छ ।

इतिहासलाई अध्ययन गरी यस्ता पात्र र प्रवृत्तिलाई पार्टी नेतृत्वले पराजित गर्न सक्नुपर्छ र पार्टीको बृहत एकता आमजनताको भावनाअनुसार कायम गर्नुपर्छ ।

अब राप्रपालाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने हो भने बन्द कोठाभित्र गुटको बैठक गरेर होइन, खुल्ला दिल लिएर अघि बढ्नुपर्छ ।

पार्टीले अब यस्तो अनुशासन र नियम बनाउनुपर्छ कि त्यस्ता विखण्डनकारीहरु र भ्रामक प्रचारकहरुलाई तुरुन्तै कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र, बेलाबेलामा निस्कने स्वार्थी तत्वले पार्टीलाई खल्बल्याउने खतरा बढेको छ ।

(पोखरेल राप्रपा कार्यकर्ता हुन्) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment