Comments Add Comment

माओवादी बैठकमा रिपोर्टिङः संगठन कमजोर भएकाले हारियो, प्रदेश नम्बर २ मा ४० सिट जित्छौं

पार्टी संगठन निर्माणमा निर्मम बन्न प्रचण्डलाई सुझाव


२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्जहरुले पार्टी निर्माणका लागि निर्मम भएर प्रस्तुत हुन पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् ।

संगठन कमजोर भएकै कारण पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अपेक्षा गरिएअनुसारको नतिजा नआएको भन्दै उनीहरुले संगठन निर्माणका लागि अध्यक्ष प्रचण्डले विशेष भूमिका खेल्नुपर्ने सुझाव दिए ।

स्थानीय चुनावको समीक्षा गर्न सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले पार्टी बनाउने हो भने नेताहरुको गुट भंग हुनुपर्ने बताएका थिए । लगतै प्रदेश इञ्चार्जहरुले आफ्नो प्रदेशको रिपोर्टिङ गरेका छन् ।

प्रदेश नम्बर १ का संयोजक साबित्री कुमार काफ्लेले पार्टी नेता कार्यकर्ता जनतासँग घुलमिल नभएको बताए । नेता-कार्यकर्ता सुविधाभोगी र नेता केन्दि्रत भएको तर्फ संकेत गर्दै काफ्लेले भने, ‘पार्टीमाथि फर्कियो, तल फर्काउनु पर्‍यो ।’

प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किराँती नबोलेपछि काफ्लेले रिपोर्टिङ गरेका थिए । एक नम्बर प्रदेशका एक सय ३७ मध्ये माओवादीले ८ सिट जितेको छ ।

यसैगरी दुई नम्बर प्रदेश इञ्चार्ज मातृका यादवले प्रचण्डलाई निर्मम हुन सुझाव दिएका छन् ।

माओवादी आन्दोलन र संगठनलाई तपाईंले जति धेरै बुझ्नु भएको छ त्यति हामीले बुझेका छैनौं भन्दै यादवले बैठकमा भने, ‘मैले गल्ती गरेको छु भने मलाई कारबाही गर्नुस् । संगठन बनाउने हो भने निर्मम हुनैपर्छ ।’

आन्तरिक स्थिति सुदृढ गर्न सके प्रदेश नम्बर २ मा ४० स्थानीय तह जित्ने उनको दाबी छ । ‘पार्टीको आन्तरिक स्थितिलाई सुदृढ गर्ने हो भने माओवादीको उपस्थिति राम्रो हुन्छ,’ यादवले भने, ‘हामी ४० को सेरोफेरोमा जित हात पार्न सक्छौं ।’

२ नम्बर प्रदेशमा आगामी असोज २ गते स्थानीय चुनावको मिति तोकिएको छ ।

यसैगरी प्रदेश नम्बर ६ का इञ्चार्ज शक्ति बस्नेतले संगठन कमजोर भएका कारण चुनावमा राम्रो नतिजा नआएको बताए । कमजोर संगठन हुनु, कार्यकर्ताको व्यवस्थापन गर्न नसक्नु र प्रचार प्रसार प्रभावकारी नहुनुले परिणाम राम्रो नआएको निष्कर्ष बस्नेतले प्रस्तुत गरेका थिए ।

स्थानीय चुनावमा माओवादीले प्रदेश नम्बर ६ मा अन्यत्र भन्दा राम्रो मत पाएको छ । ७९ स्थानीय तहमध्ये माओवादीले २५ स्थानीय तह जितेको थियो । तर, पूर्व गृहमन्त्री समेत रहेका बस्नेतको गृह जिल्ला जाजरकोटमा भने ७ स्थानीय तहमध्ये जम्मा दुई स्थानीय तह माओवादीले जितेको छ ।

बस्नेतले पार्टी बिघटन होइन, बनाउने मात्रै कुरा गर्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । ‘बरु गलत गर्नेहरुलाई कारबाही गरौं । बिघटनको कुरै नगरौं, बनाउने कुरा गरौं,’ बैठकमा बस्नेतले भनेका छन् ।

यसैगरी प्रदेश नम्बर ३ का इञ्चार्ज हितमान शाक्यले पनि काठमाडौंमा संगठन कमजोर भएको र उम्मेदवार पनि राम्रो नभएकाले नतिजा राम्रो नआएको बताए । ‘काठमाडौंमा खासै अपेक्षा पनि गरिएको थिएन । ललितपुरमा अपेक्षा गरिएअनुसार भएन,’ शाक्यले भने, ‘हाम्रो लोकल अर्गनाइजेसन कमजोर भयो । कतै-कतै उम्मेदवार चयनमा पनि चुकियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment