Comments Add Comment

विराटनगर महानगरः धुलैधुलोको सहर ! (भिडियोसहित)

३ साउन, विराटनगर । सबैभन्दा जेठो शहर र कान्छो महानगर विराटनगरको पुरानो परिचय हो । अब यसमा अर्को परिचय थपिएको छ- जोखिमयुक्त सडक र धुँवा धुलोयुक्त नगर ।

प्रदेश नम्वर एकको एक मात्र महानगरपालिका हो विराटनगर । तर, मुख्य सडक क्षेत्रको दुरावस्थाका कारण नगरवासीले लामो समयदेखि कष्ट भोग्दै आएका छन् । विराटनगरको बरगाछी दक्षिण र रानी उत्तरसम्म करिब पाँच किलोमिटर सडकको यात्रा निकै कष्टकर हुने गरेको छ ।

बरगाछीदेखि रोडशेष चोक मुख्यतः बजार क्षेत्रमा पर्दछ । यो क्षेत्र भित्र पर्ने मुख्य सडकमा जताततै खाल्डाखुल्डी, अव्यवस्थित ढल र धुवाँ धुलो सामान्यजस्तै बनेको छ । नगरबासीले १५ महिना बितिसक्दा पनि चिल्ला सडकको कल्पना गर्न बाहेक अर्को कुनै संरचना देख्न पाएका छैनन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले पीडित छन् व्यापारीहरु । शिव मन्दिर नजिक चिया पसल सञ्चालन गर्दै आएका स्थानीय ६१ वर्षीय शत्रुधन साहले सडक क्षेत्र हिलो र धुलो हुने गरेकाले व्यापार पनि घटेको गुनासो गर्छन् ।

उनी भन्छन्, ‘विराटनगरको यस्तो अवस्था पहिलोपटक देख्दैछु । पहिले तीन सय कप चिया बिक्थ्यो, अहिले पचास कप पनि बिक्दैन ।

मैले के खानु हजुर !

बिराटनगरभन्दा पछि बनेका शहरहरु तीव्र गतिमा बिकास भइरहँदा विराटनगर भने पछि परिरहेको छ । सामान्य पानी पर्दा पनि मुख्य सडक क्षेत्र जलमग्न र हिलाम्मे हुने यहाँको मुख्य समस्या अहिलेपनि जस्ताको त्यस्तै छ । पैदलयात्रु पनि झण्डै-झण्डै घुँडासम्मको धमिलो पानीमा डुबेर हिँड्न बाध्य छन् ।

डिएसपी रोडमा व्यापार गर्दै आएका सकिल अमात्यले पसल अगाडिको सडकमा खाल्डा खुल्डी परेको र पानी जमेकोले ग्राहकहरु पसलसम्म आउनै मन नगरेको बताए । व्यापार घट्दा सटर भाडामात्र तिर्नु परेको उनले गुनासो गरे ।

‘बाटो यस्तो कठिन छ कि एउटा पनि कष्टमर भित्र आउँदैन । बाहिर आउँछन्, हर्न बजाउँछन् । तेरो पसलमा आउने बाटो कताबाट हो भनेर सोध्छन्,’ स्थानीय अर्का एक व्यापारीले भने, ‘दुई दिनदेखि घाम लाग्दा पनि पसल अगाडिको खाल्डोमा पानी जमेको छ । बाटोघाटो राम्रो भइदिएको भए हाम्रो पनि व्यापार बढ्थ्यो ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा एकीकृत विकास परियोजना सञ्चालनमा छ । विगत १५ महिनादेखि सडक निर्माणमा ढिलासुस्ती छ ।

सडक निर्माणमा देखिएको ढिलासुस्तीका कारण निकै असहज परिस्थिति भोग्नुपरेको स्थानीय व्यापारीहरु बताउँछन् । बरगाछीदेखि रोडक्षेत्र चोकसम्मको मुख्य सडक आसपासका पसलहरुमा वर्षाको हिलो र ढलयुक्त फोहोर पानी पस्ने गर्दछ ।

व्यापारी, पैदलयात्री मात्र सडकको दुरावस्थाका कारण प्रताडित भएका छैनन् सवारी चालकहरु पनि अस्तव्यस्त सडक संरचनाको कारण दुर्घटनाको जोखिम बढेको गुनासो गर्छन् ।

विराटनगर बजार क्षेत्रमा सिटी सफारी चलाएर गुजारा चलाउँदै आएका मनक कुमार मण्डलले भने, ‘कतिचोटी गाडी पल्टिन्छ यो बाटोमा । अस्ति मेन चोकमै एउटा टेम्पो पल्टियो । एकदम जर्जर छ बाटोको अवस्था ।’

उनले महानगरपालिकाको ढिलासुस्तीले सबै नगरबासीले सास्ती भोग्नुपरेको बताए । उनले भने, ‘विराटनगरको कुनै पनि बाटो राम्रो छैन । जताततै खनेको छ । जता गए पनि खाल्डाखुल्डी छ ।’

तर, विराटनगरका मेयर भिम पराजुली भने नगरबासीले अब धेरै दिन यस्तो समस्या भोग्नु नपर्ने दाबी गर्छन् । ‘एक सय दिनभित्र खाल्डाखुल्डी पुरेर तीन वर्षभित्र सबै सडक कालोपत्रे भइसक्छ,’ उनले अनलाइनखबरसँग भने, ‘हामी कार्ययोजनाअनुसार नै कामलाई तिव्रता दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment