Comments Add Comment

किन सधैं बिग्रन्छ यातायातको सर्भर ? भारतीय कम्पनीको लापरवाहीले नेपालीलाई सास्ती

सर्भर डाउन भएपछि आक्रोशित भएका सेवाग्राही यातायात कार्यालय अगाडि प्रदर्शन गर्दै ।

३ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले गत पुसमा ‘लाइसेन्स लिन लाइन नै बस्नु नपर्ने’ व्यवस्था गर्न भन्दै अनलाइन सेवा सुरु गर्‍यो । तर, ६ महिनामा ६० दिन भन्दा बढी सर्भर डाउन भयो भन्दै अनलाइन फारम आवेदन नै लिइएन ।

लाइसेन्सका लागि अनलाइन फारम भरौं, सर्भर डाउन भन्छ, लिखित निवेदन दिउँ लिँदैन । यसबाट हैरान भएका सेवाग्राहीहरुले मंगलबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गर्नुका साथै प्रदर्शन गरेका छन् ।

सर्भर डाउन हुने समस्याले आफूहरुलाई पनि ‘धुरुक्क’ बनाएको यातायातका हाकिमहरु बताउँछन् । एकान्तकुना कार्यालय प्रमुख तेजनारायण यादव भन्छन्, ‘सेवा सुरु भएयता ६० पटक सर्भर डाउन भयो, सर्वसाधारणको आक्रोश अस्वाभाविक हैन । मैले पनि विभागमा यो समस्याबारे पटक-पटक जानकारी गराएको छु ।’

नियन्त्रण भारतीयकै हातमा, गोपनियताको चिन्ता 

यातायात व्यवस्था विभागले ल्याएको स्मार्ट लाइसेन्स, भारतीय कम्पनी मद्रास प्रिन्टर्सले छाप्छ । र, उसकै सिस्टम प्रयोग भइरहेको छ । यसले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीमा पुगेको भन्दै सर्वोच्च अदालतले रोक्न भनेको छ ।

तर, अहिले पनि यातायात व्यवस्था विभागले वितरण गर्ने स्मार्ट लाइसेन्सको सर्भरको नियन्त्रण भारतीय कम्पनीकै हातमा छ । जुन पटक-पटक डाउन हुने गरेको छ ।

मंगलबार २ जनाको डाटा भर्नासाथ सर्भर डाउन भएको थियो । विभागको सर्भरमा किन बारम्बार समस्या आइरहन्छ भन्नेबारे प्रश्नमा कार्यालय प्रमुख यादव भन्छन्, ‘यो प्राविधिक समस्या आउन नदिने हामीले होइन, विभागले नै केही गर्नुपर्छ ।’

‘हामीलाई अनलाइनबाहेक अन्यबाट फारम नबुझ्न भनिएको छ । हिजो समस्या आएपछि मैले केही दिन आवेदन नबुझौं भनेको थिएँ । विभागबाट नरोक्न भन्दै चिठ्ठी आयो,’ प्रमुख यादव भन्छन्, ‘अब बिहान सिस्टम नै चलेन त म के गरुँ ?’

किन बारम्बार डाउन हुन्छ सर्भर ?

यातायात ब्यवस्था विभागका प्राविधिकहहरुका अनुसार मंगलबार अनलाइन आवेदनको मात्र नभएर लाइसेन्सको मेन सर्भर नै डाउन भएको हो । विभाग र सिंहदरबारमा यो सर्भर स्मार्ट लाइसेन्सको सिस्टमको जिम्मा लिएको मद्रास पि्रन्टर्सले राखेको हो ।

यसको ब्यवस्थापनको जिम्मा उसले नै लिएको छ । भारतीय कम्पनीले जिम्मा लिएको यो प्रविधिको ब्यवस्थापन उचित तवरले नहुँदा पटक-पटक समस्या आइरहेको छ । ‘अनलाइन आवेदन बुझ्ने सर्भरमा समस्या छैन । तर, मेन सर्भर नै डाउन भएपछि अन्य सर्भरले पनि काम गर्न सक्दैनन्,’ विभागका एक प्राविधिक भन्छन् ।

मद्रासले राखेको सर्भरको क्षमता कमजोर भएकाले पनि डाउन हुने समस्या दोहोरिएको हो । त्यसैगरी इन्टरनेट र बिजुलीमा आएको समस्याले पनि सर्भर जाने गरेको प्राविधिकहरु बताउँछन् ।

अधिकारीहरुका अनुसार यातायात व्यवस्था विभाग र मद्रासबीच भएको सम्झौतामा आधा घण्टा बढी सर्भर डाउन भएमा क्षतिपूर्ति दिनु पर्ने प्रावधान पनि छ । तर, विभागले न त अहिलेसम्म क्षतिपूर्ति मागेको छ, न सर्भरको समस्या नै सल्टाएको छ ।

यो पनि पढ्नुहोस् 

लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी, कर्मचारी थुनिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment