Comments Add Comment

वैद्य माओवादीको निष्कर्षः चुनावमा जाने निर्णय सही

पार्टी एकीकरणका लागि क्रान्तिकारी समूहलाई आह्वान

३ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनावमा जाने निर्णय सही भएको निष्कर्ष निकालेको छ ।

वैद्य माओवादीले पार्टी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा रहेको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’को नामबाट चुनावमा भाग लिएको थियो । तर, अपेक्षाकृत नतिजा आएन ।

वैद्य माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय सही भएको ठहर गरेको छ ।

संरक्षित, विशेष तथा स्वायत्त क्षेत्र नबनाई एकात्मकतावादी मान्यता अनुसार चुनाव भएको र नयाँ दल दर्ता र चुनाव चिन्ह नदिएर तीन दलले अधिनायकवाद लागू गरेको भन्दै वैद्य माओवादीको बैठकले भनेको छ, ‘यस्तो परिस्थितिमा निर्वाचन परीणाम बढी आउने अपेक्षा गरिएको थिएन र व्यवहारमा पनि त्यही नै भयो ।’

चुनावमा संसदवादी दलहरुले धाँधलीसँगै अपवित्र तालमेल गरेको र यो संसदीय व्यवस्थाको राजनीतिक पहिचानको संकट भएको वैद्य माओवादीको विश्लेषण छ ।

वैद्य माओवादीले पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान पनि गरेको छ । दश वर्षे जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य वैद्य माओवादीले लिएको छ ।

त्यसैले वैद्य माओवादीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मार्कस्वाद-लेनिनवाद-माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मान्ने, वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रिपरिषदमा नरहने र जनवादी-केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान गर्ने निर्णय लिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment