Comments Add Comment

मतदाता नामावलीमा नाम लेखाउन ५ घण्टा हिँडेर सदरमुकाममा

३ साउन, अर्घाखाँची । सितगंगा नगरपालिका १० सिद्धाराकी १८ वर्षीया गीता माझी मतदाता नामावलीमा नाम लेखाउन मंगलबार विहानै सदरमुकाम सन्धिखर्क हिँडिन् । जिल्लाको विकट मानिएको सितगंगाको सिद्धाराबाट ५ घण्टा पैदल हिँडेर उनी चाक्लासम्म आइन् । सितगंगा नगरपालिकाको केन्द्र ठाडा चाक्लाबाट २ घण्टा गाडी चढेर १२० रुपैयाँ भाडा तिरी सन्धिखर्क आइपुगिन् ।

विकट वस्ती रहेको सिद्धारामा उनले रेडियोबाट मतदाता नामावलीमा नाम लेखाउन खुलेको थाहा पाएकी थिइन् ।

उनीसँगै ४ जना सिद्धाराबाट ५ घण्टा पैदल तथा २ घण्टा गाडी चढेर सँगै आएको बताइन् । ‘धेरै समय लाइन लागिरहन पर्‍यो, टाढाकालाई त लाइन नलागी नामावलीमा नाम लेखाउने व्यवस्था गरिदिएपनि हुन्थ्यो,’ उनले गुनासो पोखिन् ।

सन्धिखर्क १० अर्घा निवासी ७० वर्षीया तिला चुदाली पनि मतदाता नामावलीमा नाम लेखाउन ४ घण्टा पैदल हिँडेर सन्धिखर्क आएकी छन् । २०७० सालमा मतदान गरेकी चुदाँलीले मतदाता परिचय पत्र हराइन् र स्थानीय तहको चुनावमा मतदान गर्न पाइनन् । ‘त्यसैले अहिले नाम लेखाउन निवार्चन कार्यालय आएँ,’ उनले भनिन् ।

उनले झण्डै २ घण्टा लाइन बसेर फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएकी छन् ।

सन्धिखर्क नगरपालिका १० अर्घाका नै ६४ वर्षीय गोपालबहादुर रानाले अहिलेसम्म भोट हालेका छैनन् । आगामी चुनावमा भोट हाल्ने मानसिकताका साथ उनी मतदाता नामावलीमा नाम लेखाउन आएका छन् ।

‘पहिले इन्डिया बसेको थिएँ, नेपाल आएको २ वर्ष भइसक्यो, स्थानीय तहको चुनावका लागि गाउँमा नै मतदाता नामावलीमा नाम लेखाउन गएका रहेछन्, थाहा नै पाइनँ,’ उनले भने ।

स्थानीय तहको निवार्चनमा मतदान गर्न नपाए पनि प्रदेश र केन्द्रीय ससंदको चुनावमा मतदान गरी राम्रो नेता चयन गर्ने इच्छा भएकाले नाम लेखाउन आएको उनले सुनाए ।

पाणिनी गाउँपालिका ७ अड्गुरीका कृष्णबहादुर परियार गाउँमै बसेर सिलाई गर्छन् । तर, उनको पनि मतदाता नामावलीमा नाम छुटेछ । ‘गाउँमा नै नाम संकलन गर्न गएका थिए, नाम छ होला भनेर ख्याल नै गरिनँ तर नाम रहेन छ । स्थानीय तहमा मतदान गर्न पाइएन,’ उनले भने, ‘अब प्रदेश र केन्द्रयी संसदको चुनावमा मतदान गर्ने भनेर सदरमुकाममा नै मतदाता नामावलीमा नाम लेखाउन धाएको छु ।’

जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीमा मतदाता नामावलीमा नाम लेखाउनेहरु ठूलै भिड छ । अशक्त, हिँड्न नसक्नेहरु ट्याक्सी रिजर्भ गरेर पनि आएको देखिन्छ । भर्खरै नागरिकता बनाएका १६ वर्षका युवायुवती मात्र होइन्, ८० वर्षसम्मका मानिसहरु मतदाता नामावलीमा नाम लेखाउन आइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश पाण्डेले बताए ।

निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा नाम लेखाउन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment