Comments Add Comment

भरतपुर प्रकरणको ५१ औं दिन : के भन्छन् देवी ज्ञवाली र रेणु दाहाल ?

जितेकाले काम गर्न पाएनन्, गन्न बाँकी मतपत्रमा मुसा लाग्ने र रङ उड्ने चिन्ता

३ साउन, चितवन । चलचित्र भए ५१ औं दिनको अपार सफलता मनाउने थियो भरतपुर महानगरको वडा नम्बर १९ ले ।

वडा नम्बर ६ चलचित्रको सफलता देखेका भरतपुरबासीले व्यंग्यात्मक रुपमा यस्तै टिप्पणी गरेका छन् भरतपुर १९ को मतपत्र च्यातिएको प्रकरणलाई । जुन प्रकरणले न्यायिक निरुपण नहुदा मंगलवार ५१ दिन पूरा गरेको छ ।

मतपत्र च्यातिएको ५१ औं दिनलाई भने भरतपुरवासीले असफलता, वेइज्जती र न्याय नपाउँदाको अत्यासका रुपमा बुझेका छन् । गएको जेठ १४ गते राति मतगणना अन्तिम चरणमा पुग्दा माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए ।

हरेकपटक सर्वोच्चमा पेशी तोकिने दिन भरतपुरवासीका कान ठाडा हुने गरेका छन् । तर, पटकपटक सारिएको पेशी र अनिर्णयले भने यहाँका वासिन्दा निरास हुने गरेका छन् ।

भरतपुरको शीर झुकाउने घटनाको ५१ औं दिनसम्म पनि यो प्रकरणले निकास पाएको छैन ।

शिक्षाविद् रमाकान्त सापकोटा मतपत्र च्यातिएको प्रकरणले देशका बाँकी जिल्ला र भेगका जनताको भरतपुर प्रति हेर्ने दृष्टिकोण र सोचाइको परिभाषा नै बदलिन थालेको बताउछन् । उनी भन्छन्-‘भरतपुर भन्ने वित्तिकै मतपत्र च्यात्ने ठाउँ भनेर चिनियो ।’

दोस्रो चरणको निर्वाचनको मतगणना कार्य सम्पन्न भइसक्दा पनि भरतपुर महानगरपालिकाको वडा नः १९ मा मतगणना हुने या पुनः मतदान हुने भन्ने विषय सर्वोच्च अदालतमा अड्किएको छ । सोमवार सुरु भएको सुुनुवाई फेरि एक साता पछि सरेकोे छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नः १९ को सम्पूर्ण मतपत्र बदर गर्दै पुनः मतदानका लागि मिति तोक्न जिल्लाका प्रमुख निर्वाचन अधिकृत कवि न्यौपानेलाई निर्देशन दिएको थियो ।

आयोगको निर्णय माथि चित्त नबुझेपछि वडा नः १९ का एमाले उम्मेदवार गुञ्जमान विक र सोही वडाका स्थानीय समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा जेठ २१ गते रिट दायर गरेपछि यो बिषय अहिलेसम्म रोकिएको छ ।

सर्वोच्चले समेत जनचासो गाँसिएको भरतपुर प्रकरणलाई प्राथमिकतामा नपारेको गुनासो छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएर मतपरीणाम समेत अवस्था र सर्वोच्चमा रिट दायर भएको डेढ महिना पार भइसक्दा पनि अझै मुद्दाका विषयमा छिनोफानो नहुँदा भरतपुरवासी अन्योल र निराश बनेका छन् । भरतपुरवासीलाई हीनतावोध गराएको छ ।

मतपत्र च्यातिएको घटनाले सिंगो भरतपुर महानगरका २ लाख ८० हजार जनसंख्यालाई नै लज्जित तुल्याएको छ ।

मतपत्र च्यात्ने कार्यमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका र धरौटीमा छुटेका व्यक्ति यतिबेला नं १९ मा उम्मेदवारसँगै मत माग्न हिँडिरहेका छन् ।

देवी ज्ञवाली भन्छन् : म विरुद्ध राज्य लाग्यो

भरतपुर महानगरपालिकामा एमाले तर्फबाट मेयरका उम्मेदवार बनेका देवी ज्ञवाली आफूलाई हराउन सरकारले सबै खालका हथकण्डाको परिचालन गरेको आरोप लगाउँछन् । ‘सरकार सेटिङ मिलाउँदैछ, उहाँहरु सेटिङ मिलाउन खप्पिस हुनुहुन्छ पहिला पनि अख्तियार र सर्वोच्चमा सेटिङ मिलाएको छु भन्नुहुन्थ्यो ।’ ज्ञवाली थप्छन् ।

अदालत जस्तो गरिमामय निकायले जनताको संवेदनशीलता कत्ति पनि नबुझेको ज्ञवालीले गुनासो गरे ।

उनले मतपत्र च्यात्ने व्यक्तिहरुनै अहिले पुनः मतदान हुन्छ भन्दै भोट माग्न १९ नम्बर वडामा हिँडिरहेको आरोप लगाए ।

ज्ञवालीको आरोप छ-‘प्रचण्डको छोरीलाई जसरी पनि जिताउनुपर्दछ भन्ने मान्यता कारण भरतपुर पछि पर्‍यो र बदनाम भयो । सत्य र निष्ठाका बिरूद्धमा झुट र स्वार्थहरु एक ठाँउमा उभिँदा यस्तो भयो ।’

चाँडो फैसला होस् :  रेणु दाहाल

कांग्रेस माओवादी गठवन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले सर्वोच्च अदातलले भरतपुरको विषयलाई बढी तन्काउन नहुने धारणा व्यक्त गरिन् ।

प्रचलित नियम र कानुनका आधारमा अदालतले चाडै फैसला देओस्, दाहालले थपिन्,-‘फैसला नआउँदा उम्मेदवार र यहाँका जनतालाई बढी नै टर्चर भएको छ ।’

जनताका विकास निर्माण योजना निर्माणका सबै काम अलपत्र परेको दाहालको भनाइ छ ।

वडा नः १९ मा पुनः मतदान हुने भन्दै एक चरण सबै जनताको घरदैलोमा पुगिसकेकी दाहाल हिजो आज भने, अलि फुर्सदिली बनेकी छिन् । ‘जनताहरु सबै आ आफ्नो काममा हुनुहुन्छ, व्यस्त हुनुहुन्छ’ दाहालले भनिन्,’अदालतको आदेशपछि फेरि जनताको वीचमा जानुपर्ला ।’

वडाध्यक्षका गुनासा उस्तै

भरतपुर महानगरका वडा नः १९ र २० बाहेक अन्यत्रका वडाध्यक्षहरुले निर्वाचन जिते पनि जनताको प्रतिनिधि भएर काम गर्न पाएका छैनन् । उनीहरुको सपथ समेत अहिलेसम्म भएको छैन् ।

जनताको प्रतिनिधि भएर काम गर्न नपाएकोमा उनी चिन्तित छन् । निर्वाचनको मैदानमा होमिएर परिणाम पर्खिएका वडाध्यक्षहरुको पनि अवस्था उस्तै छ । सबै वडाध्यक्षहरुको साझा धारणा छ-चुनावी उत्साह र जाँगर नै मर्‍यो ।

भरतपुर महानगरपालिका वडा नः १९ का एमाले वडाध्यक्ष उम्मेदवार प्रकाश तामाङ सर्वोच्च अदालतले निर्णय सुनाउन ढिलाई गरेकोमा आक्रोश पोख्छन् । उनी भन्छन् ‘यो देशमा कानुनी शासनको राज र जनताको सर्वोच्च भन्ने कुरा कागजमा लेखिने कुरा मात्रै रहेछ ।’

सर्वोच्चले निर्वाचनको फैसला नै गरे पनि पहिलेको भन्दा धेरै भोट एमालेले पाउने तामाङले विश्वास ब्यक्त गरे ।

निर्वाचन आयोगले वडा नः १९ मा पुन निर्वाचन गर्ने निर्णय गरेपनि माओवादीले वडाध्यक्षसहित सबै सदस्यमा कांग्रेसलाई सर्मथन गर्ने जनाएको छ ।

कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका कर्णबहादुर गुरुङ वडा नः १९ को मतगणनाका क्रममा आफूले जितिसकेको भए पनि अहिले फेरि दुःख दिएको बताउँछन् । तैपनि निर्वाचन आयोग र अदालतले गर्ने फैसला मान्ने गुरुङले बताए ।

कांग्रेस चितवनले पुनः निर्वाचनको माग गरेपछि केही समय भोट माग्न हिँडेका कर्णले विगत २ सातादेखि भने घरमा नै आराम गरेर बसेको सुनाए । गुरुङले भने ‘जनताका बीचमा कति जाने हो, जनता नै वाक्क भैसके’ ।

यता, वडा नः २० का वडाध्यक्षका उम्मेदवारहरु पनि वडा नः १९ का जतिकै निराश छन् ।

एमालेबाट वडाध्यक्ष उठेका मेखबहादुर तामाङ जनताका सबै सपनाहरु चकनाचुर भएको बताउँछन् । ‘मैले निर्वाचनका दौरानमा गरेका प्रतिवद्धताहरु पूरा नहुने अवस्था आउने भयो’ तामाङले भने, ‘सबै चुनावी जोश र जाँगर नै मर्‍यो ।’ ‘वडा नः २० को मतपत्र मुसाले काट्यो होला, चिन्हमा लगाएको छापको रंग पनि उड्यो होला’ तामाङले आंशका व्यक्त गरे ।

कांग्रेसका तर्फबाट वडा नः २० का उम्मेदवार बनेका मनिलाल तामाङले जिल्ला पार्टी सभापति समक्ष वडा नः १९ लाई छाडेर २० को गणना गर्न प्रस्ताव गरेको बताए । तर, पार्टी सभापतिले सर्वदलिय निर्णय अनुसार नै गणना भएकोले वडा नः २० को गणना गर्न नसकिने जवाफ दिएको तामांगले बताए ।

भरतपुर महानगरपालिका वडा नः १० का निर्वाचित वडाध्यक्ष अरुणपीडित भण्डारी, निर्वाचित भए पनि जनताको प्रतिनिधि भएर काम गर्न नपाएको गुनासो गर्दछन् । ‘जनताले ठूलो आशा गरेका छन् तर पनि जनताका दैनिक जीवनलाई सहज बनाउने गरी काम गर्न पाइएको छैन, भण्डारीले भने ।

सपथ ग्रहण नगरे पनि आफ्नो स्थानबाट गर्ने सहयोग भने गरिरहेको भण्डारीले सुनाए ।

जनप्रतिनिधि नहुँदा भरतपुर पछाडि

जिल्लाका अन्य ५ नगरपालिका र १ गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ समेत खाएर कामकाज अघि बढाइसकेका छन् । तर, जिल्लाकै महत्वपूर्ण महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि भने कामविहीन भएका छन् ।

बिजेताको सपथ, अभिमुखीकरण, जिल्ला समन्वय समिति गठन हुन सकेको छैन भने जनप्रतिनिधि र जनताको मनभित्रको उत्साह मरेको छ ।

नयाँ निर्वाचित मेयर र उपमेयर लगायतका जनप्रतिनिधि नहुँदा महानगरपालिकाको आगामी बर्षका लागि बजेट बनाउन समस्या भएको महानगरपालिका कार्यकारी अधिकृत प्रेम जोशीले जानकारी दिए ।

जनप्रतिनिधि नहुँदा जनतामा सेवा प्रवाह,कार्यक्रम छनौट, अनुगमन गर्न समस्या भएको जोशीको भनाइ छ ।

जनशक्तिको व्यवस्थापनको कामलाई पनि नयाँ निर्वाचित मेयर र उपमेयर आएपछि गर्ने भनेर थन्काएर राखिएको छ ।

देशका अधिकांश भागका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसके पनि भरतपुर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधि नआउँदा खिन्नता वोधको अनभूति भएको कार्यकारी अधिकृत जोशीले सुनाए ।

छिटोभन्दा छिटो नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई भरतपुर महानगरको साँचो हस्तान्तरण गर्न आफू आतुर रहेको कार्यकारी अधिकृत जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment