Comments Add Comment

डा. रोशनः जसले नेपालमै मुटुको उपचारमा नयाँ आयाम थपे

४ साउन, काठमाडौं । नेपालमा नाम चलेका तथा अन्तर्राष्ट्रियस्तरका चिकित्सकहरु त धेरै छन् । तर, इलेक्ट्रोफिजियोली अर्थात मुटुको चाल गडबडी सम्बन्धी साधारणदेखि जटिल प्रकारका मुटुको चाल उपचार गर्ने एक सफल चिकित्सक हुन् डा. रोशन राउत ।

मुटुको चाल गडबडी सम्बन्धी उपचारका लागि लाइसेन्स प्राप्त गर्ने नेपालको पहिलो चिकित्सक पनि हुन् उनी । उनले सन् २०१५ मा पूर्ण छात्रवृत्तिमा क्यानडास्थित ओटावा विश्वविद्यालय अन्तर्गतको हार्ट इन्स्टिच्युटबाट करिब साढे दुई वर्षे अध्ययन पूरा गरी रोयल कलेज अफ फिजिसियन एण्ड सर्जन अफ क्यानडाबाट लाइसेन्स प्राप्त गरेका थिए । ‘यस अर्थमा म आफूलाई भाग्यमानी नै सम्झन्छु किनकी त्यतिबेला यस विषयमा लाइसेन्स पाउने पहिलो व्यक्ति म नै हुन पुगे,’ डा. राउतले अनलाइनखबरसँग भने ।

यसरी बने डाक्टर

वि.सं. ०३१ सालमा जनकपुरको यज्ञभूमि गाविसमा जन्मेका डा. राउतले एसएलएसीमा अञ्चल टप गरेका थिए । आइएस्सी सम्मको अध्ययन उनले जनकपुरमै पूरा गरे ।

उनी सुरुदेखि नै डाक्टर बन्न चाहन्थे । यसका लागि काठमाडौं गएर पढ्ने उनको इच्छा थियो । तर, परिवारको आर्थिक अवस्था धेरै राम्रो थिएन । त्यसैले, पारिवारिक कठिनाईका कारण आइएसस्सी सम्मको शिक्षा उनले जनकपुरमै पूरा गरे । आइएस्सीको परीक्षामा नेपालमै छैठौं स्थान हासिल गर्न सफल भएको डा. राउत बताउँछन् ।

आइएस्सी पास गरेपछि थप अध्ययनका लागि काठमाडौं आउनुको विकल्प थिएन । पाटनढोकामा साथीहरुसित बस्न थाले र, खर्च जुटाउन आइएस्सीका विद्यार्थीहरुलाई कोचिङ्ग पढाउन थाले । उनले करिब ६ महिना संघर्षमै विताए ।

एमबिबिएस पढ्ने उनको इच्छा थियो । तर पारिवारिक अवस्थाका कारण यो कम चुनौतिपूर्ण भएन । ‘त्यतिबेला (२० वर्ष अगाडि) नेपालमा पूर्ण छात्रवृत्ति भनिए पनि व्यवहारमा पूर्ण छात्रवृत्तिको व्यवस्था कहीँ पनि थिएन । त्यतिबेला मेडिकल कलेजमा पढ्न जानेहरुले कमसेकम पनि आफ्नो पढाईको खर्च तथा आफ्नो खर्च आफै जुटाउनु पर्थ्यो । तर त्यो धान्ने पनि मेरो अवस्था थिएन’, उनले विगत सम्झिए ।

उनले पूर्ण छात्रवृत्तिसहित नेपालमा डिओआई पाटिल मेडिकल कलेज आउँदैछ भन्ने सुने । उनी त्यही कलेजको प्रतिक्षामा बसे । सन् १९९५ मा नेपालमै पहिलोपटक डीओआई पाटिल मेडिकल कलेज, नेपालगञ्ज पनि आयो । उनले पूर्ण छात्रवृत्तिमा नाम निकाले र पढ्न गए ।

तर दुर्भाग्य । कलेजको सम्बन्धन, भर्ना प्रक्रिया, स्ट्याण्डर्ड मेन्टेन लगायतमा विवाद आएपछि उक्त कलेज खुलेको एक वर्षमै बन्द हुन पुग्यो । अनि, पूर्ण छात्रवृत्तिमा गएका उनीसहित १८ जना विद्यार्थीलाई पोखराको मणिपाल मेडिकल कलेजमा स्थानान्तर गरियो । त्यतिबेला मणिपाल कलेज भर्खरै मात्र पोखरामा खुलेको थियो ।

उनले निःशुल्क अध्ययनका लागि पाएको कोटालाई लत्याइदिए । ‘मेरो ब्याचका सबै साथीहरु मणिपाल अस्पतालमा भर्ना भए तर, एउटा भर्खर खुलेको मेडिकल कलेजबाट फर्किनु परेको पीडाले अर्को भर्खर खुलेको मणिपाल मेडिकल कलेजमा जाने इच्छा भएन,’ डा. राउतले भने ।

भाग्यवश, त्यही वर्ष चीनबाट पूर्ण छात्रवृत्तिको लागि आवेदन माग भयो र उनी परीक्षामा सामेल भई एक नम्बरमा नाम निकालेर पढ्न गए । सन् २००४ मा कार्डियोलोजीमा एमडी गेर नेपाल फर्किए र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा काम गर्न थाले ।

नेपालमा यस उपचार सेवाको विकास

मुटुको चाल सम्बन्धी उपचार गंगालाल अस्पतालमा ०६१ सालदेखि सुरु भएको हो । यसको सुरु डा. मनबहादुर केसीले गरेका थिए । डा. केसीकै अगुवाईमा र डा. सुजिब राजभण्डारीको साथमा अमेरिका र भारतीय चिकित्सकको सहयोगमा कार्यशाला गरी मुटुको चाल गडबडी सम्बन्धी उपचार हुँदै आएको थियो ।

डा. राउतले टिममा बसेर काम गर्ने मौका पाए । डा. मनबहादुर भारतबाट तालिम गरेर आए पश्चात नेपालमा यस्ता रोगहरुको उपचार नियमित रुपमा हुन थालेको थियो भने डा. सुजिबले सिंगापुरबाट तालिम गरेर आएपछि उपचारको क्रमशः विकास हुँदै गएको थियो ।

‘त्यतिबेला सामान्य उपचार नेपालमै हुने गरे पनि जटिल समस्याका लागि भारत पठाउनुपर्ने बाध्यता थियो । ‘त्यो नहोस् भन्नका लागि नै मैले यसबारे थप तालिम आवश्यक भएको महसुस गरें’ डा. राउतले विगत सम्झँदै सुनाए ।

क्यानडामा यसको तालिम राम्रो हुन्छ भन्ने बुझेर क्यानडामै तालिम लिने निधो गरे र भाग्यवश उनले त्यो अवसर पनि प्राप्त गरे । डा. रोशन राउतले त्यही तालिमका क्रममा साधारणदेखि जटिल सबै खाले यस्ता रोगको उपचारबारे ज्ञान हासिल गरेका थिए ।

डा. राउतले गंगालालमा सेवा दिन थालेको १२ वर्ष भइसक्यो । गंगालालले मुटुको चाल गडबडी सम्बन्धी विश्वस्तरीय सेवा दिँदै आएको छ । यद्यपि, आजसम्म पनि लाखौं नेपालीलाई मुटुको चाल गडबडीका कारण र उपचारबारे थाहा नहुँदा देश-विदेश भौंतारिरहनु परेको देख्दा दुःखी बनाउने गरेको उनले सुनाए ।

स्मृतिमा एक विरामी

अन्दाजी ५५/६० वर्षकी एक महिलाको मुटुको चाल गडबडीसम्बन्धी समस्याका काण ज्यानै जोखिममा थियो ।

नेपालका विभिन्न अस्पतालहरुमा उपचार सम्भव नभएको भन्दै उनको भारतको एक नाम चलेको अस्पतालमा दुई पटक शल्यक्रिया गरिएको थियो । तर, त्यसबाट उनमा कुनै सुधार देखिएको थिएन ।

क्यानडाबाट फर्केलगत्तै उनले गंगालालमा उपचार सुरु मात्र गरेका थिए । त्यतिबेला, अष्ट्रेलियामा नर्सका रुपमा कार्यरत ती विरामीकी छोरीले डा. राउतको बारेमा सुनिछन् र सिधै डा. राउतकहाँ आएर आमाको ज्यान जाने खतरा भएकोले आइसिडि -मुटुको चाल स्थिर गर्ने पेसमेकर) राख्न अनुरोध गरिन् । ‘भारतमै सफल नभएको शल्यक्रिया म सफल पार्न सक्छु भनेर ढुक्क त थिइनँ, तैपनि एकपटक फेरि कोशिश गर्नलाई तयार भएँ,’ उनी भन्छन् ।

भाग्यवश उनले मुटुको चाल गडबडी के कारणले भइरहेको छ भन्ने तन्तु फेला पारे र, उनको सफल उपचार गरे । उनको उपचार पूरा भएको हाल नौ महिना भइसक्यो । पहिले महिनामा पटक-पटक अस्पताल भर्ना गर्नुपर्ने विरामी अहिले स्वस्थ्य छिन् । नेपालमा जटिल प्रकारका समस्यामा पूर्ण सक्षम नभइसके पनि यस्ता उपचारहरुले आत्मविश्वास बढाउने उनले बताए ।

विदेशको अफरले लोभ्याएन

डा. राउतलाई पनि अन्य राम्रा चिकित्सकलाई झै विदेशमै बसेर काम गर्ने अवसर नआएका हैनन् । उनलाई बाहिर बसेर काम गर्न अस्पतालबाट रोकटोक पनि छैन । उनीसित लाइसेन्स पनि छ । ‘तर पनि मलाई विदेशमा बसेर काम गर्ने इच्छा नै भएन,’ उनले भने ।

उनका अनुसार गंगालालबाट मुटुको चाल गडबडी सम्वन्धी जटिल उपचार सुरु गर्नकै लागि तालिम लिन क्यानाडा पुगे । उनले आफू विदेशमै पलायन हुने हो भने यस उपचार नेपालमा कसरी विस्तार हुन्छ भन्ने सोचे । ‘अझ मैले नै त्यो सेवा दिइनँ भने फेरि कसले देला भन्ने सोचेर पनि म नेपाल नै फर्किएँ,’ उनले भने ।

दक्ष जनशक्ति निकै कम

त्यसो त डा. राउत सानैदेखि चुनौती मन पराउँथे । जुन काम गाह्रो र चुनौतीपूर्ण छ, त्यसैलाई स्वीकार्नु पर्छ भन्ने उनको सोच थियो । त्यही अनुरुप नै उनले मुटु विषय छाने ।

अब डा. राउतको एउटै चाहना छ, नेपालमा यस रोगसम्बन्धी विरामीको चाप जसरी बढेको छ, त्यही अनुसार जनशक्ति तथा प्रविधिको विकास गर्दै लैजाने । भन्छन्, ‘यही अवस्थामा विरामीको चाप बढिरहे हामी दुई-तीन जना चिकित्सकले मात्र उपचार गरेर सक्दैनौं । त्यसैले अब हामीले यसलाई अझै विस्तार गर्दै लैजानु पर्छ । दक्ष जनशक्ति हामी आफैले तयार गर्नुपर्छ ।’

त्यति मात्र होइन उनी नेपालीहरुलाई देशभित्र नै यस्ता सेवा दिनुपर्छ भन्नेसमेत मान्यता राख्छन् । त्यसैको उपज, आमा, श्रीमती तथा दुई सन्तानसहित काठमाडौंमा बस्दै आएका डा. राउत आजको दिनसम्म आफ्नो पेशाप्रति निकै सन्तुष्ट छन् । ‘एउटा विरामीको शल्यक्रियामा एक-दुई घण्टादेखि १२ घण्टा पनि लाग्न सक्ने भएकाले यसमा दुःख र संघर्ष त छ नै, धैर्यता पनि आवश्यक छ । यद्यपि, म पेशाप्रति सन्तुष्ट छु’, उनले भने ।

मुटुको चालमा किन गडबडी हुन्छ ? हेर्नुहोस् यो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment