Comments Add Comment

संशोधन विधेयक भोटिङमा लैजाने सरकारको प्रस्ताव, राजपाले भन्यो-पहिला मुद्दा फिर्ता

४ साउन, काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा)सामू संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने प्रस्ताव राखेको छ । भोटिङको परीणाम जे भएपनि चुनावमा आउने पर्ने सरकारको प्रस्ताव छ ।

तर, राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु पहिला गर्न माग गरेको छ । त्यसपछि मात्र संशोधन भोटिङमा लैजाने कि नलैजाने र लैजाँदा फेल भए के गर्ने भन्न सकिने राजपाका शीर्ष नेताहरुले बताएका छन् ।

संविधान संशोधनको मुद्दाले मन्त्रिपरिषद् विस्तार नै अवरुद्ध गरेपछि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले राजपासामू विधेयक अघि बढाउने प्रस्ताव राखेका हुन् ।

बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै संशोधन विधेयकलाई मतदानमा लैजाने प्रस्ताव राखे । माओवादी अध्यक्ष प्रचण्डले पनि देउवाको प्रस्तावमा समर्थन गर्दै राजपा नेताहरुको राय मागेका थिए ।

तर, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगै राजेन्द्र महतो र अनिल झाले सत्तारुढ दलको प्रस्तावमा सहमति जनाएनन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘महन्थ ठाकुरले पहिला सरकारले गर्नु पर्ने कामहरु गर्नुस्, अनि मात्र संशोधनको कुरा गरौंला भनेका छन् ।’

लगतै माओवादी नेता नारायणकाजी श्रेष्ठले मुद्दा फिर्ता, कार्यकर्ता रिहाई, घाइतेलाई क्षतिपूर्ति र सहिद घोषणामा भइरहेको गृहकार्यबारे जानकारी गराए । उनले यसलाई तत्काल अघि बढाउने बचन दिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

गृहमन्त्री जनार्दन शर्मा श्रीलंका गएको बेला श्रेष्ठसहितको टिमले मुद्दा फिर्ता लगायतका विषयमा गृहकार्य गरेको थियो ।

तर, यो प्रक्रिया टुंगिएपछि संशोधन अघि बढाउने भन्दै सत्तारुढ दलका नेताहरुले राजपा चुनावमा आउनु पर्ने बताएका छन् । संशोधन पास होस् भन्ने आफूहरुको चाहना भएको र सरकारले इमान्दार प्रयास पनि गर्ने भन्दै नेताहरुले कुनै कारण संशोधन फेल भएपनि राजपा असोज २ को स्थानीय चुनावमा आउनु पर्ने बताएका छन् ।

‘उहाँहरुले संशोधन भोटिङमा लैजाने कि नलैजाने ? लैजाँदा फेल भए चुनावमा आउने कि नआउने अहिले नै भन्न सक्दैनौं । पहिला मन्त्रिपरिषदबाट गर्नु पर्नेर् कामहरु गर्नुस् भन्नु भएको छ,’ सत्तारुढ दलका एक नेताले अनलाइनखबरलाई भने ।

कांग्रेस नेता डा. रामशरण महतले संविधान संशोधन अघि बढाइने तर, पास फेलको ग्यारेन्टी गर्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले इमान्दारिपूर्वक प्रयास गर्ने हो । तर, अहिले नै ग्यारेन्टी गर्न सकिँदैन ।’

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने मन्त्रिपरिषदले गर्नु पर्ने कामहरु तत्काल गर्ने बचन नेताहरुले दिएको बताए ।

यो पनि पढ्नुहोस्
राजपालाई सरकारको बचनः मुद्दा फिर्ता लगायतका माग तीन दिनमा पूरा गर्छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment