Comments Add Comment

दृष्टिबिहीन परिवारलाई घर हस्तान्तरण

४ साउन, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ स्थित गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहीन परिवारका लागि बनाइएको घर बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

जिग्री-पाँडे प्रतिष्ठान सप्तरी युथ नेपालले गम्हरिया प्रवाहाका दृष्टिबिहीन परिवारका लागि तीन कोठे घर निर्माण गरेको थियो । ३० लाख रुपैयाँको लागतमा शम्भु मण्डलसहितका दृष्टिबिहीनका लागि घर निर्माण गरिएको सप्तरी युथ नेपालका बिष्णु यादवले जानकारी दिए ।

घरको रिबन काटेर सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल र कलाकार सिताराम कट्टेल धुर्मुसले घर उद्घाटन गरे । उक्त घरको ताला र चाबी दृष्टिबिहीन परिवारका प्रमुख व्यक्ति शम्भु मण्डललाई उनीहरुले हस्तान्तरण गरे ।

गत बैशाख महिनादेखि निर्माण शुरु गरिएको दृष्टिबिहीन परिवारको घर तयार दुई साताअघि नै भएपनि हस्तान्तरण भने बुधबार गरिएको सप्तरी युथका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

एकै परिवारमा पाँच जना दृष्टिबिहीन फेला परेपछि सप्तरी युथ नेपालले तत्कालै ती परिवारलाई थोरै राहत सामग्री उपलब्ध गराएको थियो । यसपछि सप्तरी युथ नेपालले जिग्री-पाँडे प्रतिष्ठान र सामाजिक अभियन्ता रमेश साहसँग समन्वय गरी उनीहरुको समेत सहयोगमा यी परिवारका लागि घर निर्माण गरिदिएको हो ।

सप्तरी युथकै समन्वयमा दृष्टिबिहीन परिवारका चार जना बालबालिकालाई अध्ययनका लागि काठमाडौं पठाइएको छ ।

शम्भुसहित उनकी पत्नी, उनका भाई र बुहारी तथा बहिनी दृष्टिबिहीन छन् ।

दृष्टिबिहीन परिवारको घर हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै बक्ताहरुले सप्तरी युथ नेपाल, जिग्री-पाँडे प्रतिष्ठान र सामाजिक अभियन्ता साहले गरेको कामको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment