Comments Add Comment

कंगारुको देशबाट किवीको देश न्यूजिल्याण्ड जाँदै नेपथ्य

१९  जुलार्इ, सिड्नी । अष्ट्रेलिया भ्रमण चलिरहेकै बेला नेपथ्यको यात्रामा तत्काल औपचारिक विस्तार भएको छ ।

ब्याण्ड अब प्रशान्त महासागरकै अर्काे टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्ड पनि पुग्ने भएको छ ।

यस वर्षको अष्ट्रेलिया भ्रमणमा पहिलो शो मेलबर्नमा ८ जुलाईका दिन सम्पन्न भएको थियो । लगत्तै दोश्रो कन्सर्ट १५ तारिखका दिन एडिलेडमा आयोजना गरियो ।

पूर्वनिर्धारित योजना अनुसारै अब मुलुककै सबैभन्दा भब्य कन्सर्ट २२ तारिखका दिन सिड्नीमा सम्पन्न गरेपछि अब भने नेपथ्य स्वदेश फिर्नुअघि न्यूजिल्याण्ड पनि पुग्ने भएको छ । अकल्याण्ड सहरमा जुलाईको २८ तारिखका दिन नेपथ्यले कन्सर्ट गर्ने हालै तय भएको छ ।

प्रशान्त महासागरिय यस टापुको अनौठो वन्यजन्तु किवीको यस भूमिमा नेपाली लोकभाकामा आधारित नेपथ्यका गीतहरु पहिलोपटक घन्किन लागेको हो ।

‘न्यूजिल्याण्ड यात्राको कुराकानी केही समय अघि नै भएता पनि यात्रा थालनी गरिहाल्नु परेकाले हामीले तत्काल भिषाका निम्ति पासपोर्ट बुझाउन सकेका थिएनौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्मा भन्छन्, ‘त्यसैले कंगारुको देशमा आइसकेपछि हामीले न्यूजिल्याण्डको निम्ति भिषा आवेदन दिएका थियौं ।’

अष्ट्रेलिया रहँदै टोलीको आवेदन न्यूजिल्याण्डको हाइकमिशनले स्वीकार गरेपछि त्यसतर्फको यात्रा औपचारिक घोषणा गर्न पाइएकोमा शर्माले खुशी ब्यक्त गरे ।

अष्ट्रेलियाको छेउमै रहेता पनि विशिष्ट पहिचान बनाएको न्यूजिल्याण्डमा पहिलो पटक नेपथ्यको उपस्थितीसँगै नेपाली गीतसंगीतको व्यवस्थित आयोजना पनि थालनी हुने भएको छ ।

‘नेपथ्यलाई न्यूजिल्याण्डमा निम्त्याउन पाउँदा गौरव महशुस भइरहेको छ’, आयोजक आरोह इभेन्ट्स्का राज महर्जन भन्छन्, ‘सही ढंगको मञ्चमा सही तरिकाले गीत संगीत प्रस्तुत हुन लागेकाले यहाँ बसोबास गर्दै आएका नेपालीहरुका निम्ति यो ऐतिहासिक क्षण बन्नेछ ।’

यो अवसरलाई न्यूजिल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुले ब्यापक सहभागिताका साथ उत्सवका रुपमा मनाउने विश्वास महर्जन प्रकट गर्छन् ।

आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै गरेको नेपथ्यले अहिलेसम्म आफू पुग्न नभ्याएका थोरै थोरै नेपाली छरिएर बसेका सहरहरुलाई विशेष ध्यानमा राखेर यो वर्षको कार्यक्रम तय गर्ने घोषणा गरेको थियो ।

रजत वर्ष उत्सवका क्रममा नेपथ्यले सुरु गरेको कन्सर्टहरुमध्ये न्यूजिल्याण्डको पाँचौ आयोजना हुनेछ ।

उत्सवको पहिलो कार्यक्रम ब्याण्डले आफ्नो पहिचानभूमि पोखराबाट थालनी गरेको थियो ।

यसरी पोखराको रंगशालाबाट सुरु भएको रजत उत्सव यात्रा अहिले अष्ट्रेलिया टुरको क्रममा छ । यो उत्सवलाई ब्याण्डले आजसम्म आफूलाई उभिन सहयोग गर्दैआएका तमाम संगीतकर्मी र शुभचिन्तकहरुप्रति समर्पित गरेको छ ।

उत्सवका क्रममा जेजति कन्सर्टहरु आयोजना भइरहेका छन् ती सबैमा ब्याण्डले उसको पहिलो आधिकारिक गीत ‘आँगनैभरी’ नछुटाइकन प्रस्तुत गर्दैआएको छ ।

यो गीत प्रस्तुत हुँदै गर्दाको क्षण पृष्ठभूमिमा ब्याण्डमा आजसम्म आफ्ना प्रतिभाको लगानी गरेका सम्पूर्ण सहकर्मीहरुको यादगार क्षणहरु देखाएर नेपथ्यका सबै सदस्यहरुको योगदान सम्झने गरिएको छ । ‘हो, आज हामी २५ वर्ष पुगेका छौं र हामीलाई आजको अवस्थामा पुर्‍याउन सुन्दै आएका ती सम्पूर्ण श्रोता र नेपथ्यमा श्रम र सीप लगाउने साथीहरु सबैका प्रति म ऋणि बनेको छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अष्ट्रेलियाको साथसाथै अब न्यूजिल्याण्डका शुभचिन्तकहरुको घेरामा पनि पुग्ने अवसर पाएकोमा मलाई गौरव अनुभूति भइरहेको छ ।’

मेलबर्न र एडिलेडमा श्रोता दर्शकहरुको माझ ब्यापक सफलता पाएपछि ब्याण्डले अब सिड्नी सहरकै अग्रणी लुना पार्कको विशाल मञ्च बिग टप अडिटोरियममा २२ तारिखका दिन प्रस्तुत हुन आफूलाई तयार पारेको छ ।

त्यसपछि भने टोली न्यूजिल्याण्डको अकल्याण्डतर्फ प्रस्थान गर्नेछ । अकल्याण्डमा ब्याण्डले स्काई सिटी थिएटरमा आफूलाई २८ तारिखका दिन उभ्याएसँगै यस वर्षको अष्ट्रेलिया र न्यूजिल्याण्ड यात्राको औपचारिक समापन हुनेछ । न्यूजिल्याण्डको कन्सर्टपछि भने टोली स्वदेश फिर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment