Comments Add Comment

कांग्रेसका तीन कोइरालाको एउटै स्वरः हामी मिल्यौं

रामचन्द्रको साटो कोइराला समूहले आफैं सभापति दाबी गर्ने

४ साउन, काठमाडौं । बुधबार बिहान टोखास्थित कांग्रेस महामन्त्री डा. सशांक कोइरालाको घरमा गिरिजापुत्री सुजाता कोइराला र नोनापुत्र डा. शेखर कोइराला देखा परे । उनीहरुले करिब दुईघण्टा राजनीतिक कुराकानी मात्रै गरेनन्, घर बाहिरको कम्पाउण्डमा निस्केर संयुक्त तस्वीरसमेत खिचे ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि सुशील कोइरालाको नेतृत्वमा सरेको नेपाली कांग्रेसको नेतृत्व यतिबेला शेरबहादुर देउवाको हातमा छ ।

हाल प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले नेपाली कांग्रेसलाई धरासायी बनाउने चिन्ता रामचन्द्र पौडेल पक्षधर नेताहरुले बारम्बार व्यक्त गर्दै आइरहेका छन् । तर, कांग्रेसभित्रको पुरानो लिगेसी बोकेको कोइराला समूह भने यतिबेला देउवा पक्ष र रामचन्द्र पक्षको मझधारमा उभिएको छ ।

कोइरालानिकट स्रोतले अनलाइनखबरसँग भन्यो- कांग्रेसको आगामी महाधिवेशनमा तीन नेतामध्ये एकजनाले सभापतिमा प्रतिस्पर्धा गर्ने छन् र अब कोइरालाहरु एक ढिक्का भएर अगाडि बढ्नेछन्

गत महाधिवेशनमा शेरबहादुर देउवाको पक्षबाट अर्जुननरसिंह केसी महामन्त्रीमा उठेका थिए । तर, रामचन्द्र पौडेल पक्षका डा. शशांक कोइरालाले महामन्त्री पदमा जित हात पारे । अहिले शशांक र शेरबहादुरवीचको सम्बन्ध सन्तुलित रहेको कांग्रेस नेताहरु बताउँछन् ।

देउवाले कोइराला समूहलाई सकेसम्म आफूभन्दा टाढा जान नदिने प्रयास गरिरहेका छन् ।

त्यसो त गत महाधिवेशनमा डा. शेखर कोइरालाले महामन्त्रीको दाबी गरेका थिए । अन्ततः शशांक अघि सरेपछि शेखर पछि हटे । सुजाता कोइरालाले पार्टी सभापतिमै भिड्ने घोषणा गरेकी थिइन्, डा. शेखरले अहिले नै कोइरालाहरु ‘म्याचुअर्ड’ भएका छैनन् भन्दै सभापतिमा दाबी गर्नुभन्दा रामचन्द्रलाई नै अघि सार्नुपर्ने बताएर सुजातालाई ‘ब्याक’ गराएका थिए ।

तर, यतिबेला नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आन्तरिक असन्तोष तीब्र बनेको र रामचन्द्र पौडेलले पनि प्रतिक्रियाको राजनीतिबाहेक केही गर्न नसकेकाले अब पार्टीलाई बचाउन कोइरालाहरु आफैं अघि सर्नुपर्ने शशांक, सुजाता र शेखर निश्कर्षमा पुगेको स्रोतको दाबी छ ।

बुधबार शशांक निवासमा भेला भएका तीनैजना नेता/नेतृहरुले पार्टीको आन्तरिक राजनीतिबारे लामो कुराकानी गरेका थिए । आगामी दिनमा पार्टीमा एक भएर अघि बढ्ने र कार्यकर्ताको भावनाअनुसार नेतृत्व लिनसमेत तयार हुनुपर्ने उनीहरुले निश्कर्ष निकालेको स्रोतले बतायो ।

कोइरालानिकट स्रोतले अनलाइनखबरसँग भन्यो-‘नेपाली कांग्रेसको आगामी महाधिवेशनमा तीन नेतामध्ये एक जनाले सभापतिमा प्रतिस्पर्धा गर्ने छन् । र, अब कोइरालाहरु एक ढिक्का भएर अगाडि बढ्नेछन्, आजको भेटवार्ता यसैको सन्देश दिनका लागि भएको हो ।’

कांग्रेसको वैकल्पिक नेतृत्वमा कोइराला समूहले अब रामचन्द्र पौडेलको भर नपरी आफैं अघि बढ्ने तयारी गरिरहेको स्रोतको भनाइ छ ।कोइराला समूहको यस्तो तयारीले कांग्रेभित्र रामचन्द्र पौडेल गुट अझ कमजोर बन्ने संकेत देखिएको छ ।

त्यसो त हालै बिराटनगर महानगरपालिकाको चुनावमा पनि डा. शेखर र सुजाताले बिराटनगर पुगेर ऐक्यवद्धता जनाएका थिए । र, त्यसैको परिणामस्वरुप महानगरमा कांग्रेसले जितेपछि कोइराला परिवार थप उत्साहित बनेको छ ।

एमालेसँग धेरै ठाउँमा हार व्यहोरेको कांग्रेसले बिराटनगरमा कोइरालाको लिगेसी बचाएको छ र यसले पार्टीमा कोइराला समूहको पुनर्जागरणका लागि उर्जा थपेको कांग्रेसजनको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment