Comments Add Comment

सर्पदंशको उपचारका लागि भारतदेखि आउँछन् बिरामी

चारआली सर्पदंश उपचार केन्द्रमा भ्यान्डिलेटरसहित ७ कोठे भवन बन्दै

५ साउन, झापा । बुधबार दिउँसो २ः४५ बजे नक्सलबारी, भारतका टुलुटुल शर्मालाई सर्पले डस्यो । लगत्तै डसेको ठाउँमा ब्यान्डेज गरियो । र, उपचारका लागि अस्पताल लाने प्रबन्ध गरियो ।

सबैले नेपालको झापा जिल्लास्थित चारआलीमा रहेको सर्पदंश उपचार केन्द्रमा लाने सल्लाह दिए । त्यसपछि भारतका अस्पतालहरु छाडेर उनलाई चारआली ल्याइयो । अहिले उनको उपचार उपचार भइरहेको छ ।

मंगलबार भारतकै डिलगबैंकबाट दुई जना विरामी नेपाली सेना कालिबहादुर गणको प्राविधिक सहयोगमा सञ्चालित चारआलीको सर्पदंश उपचार केन्द्रमा भर्ना भए । ती दुर्इ विरामीमा एक जना बालक र अर्की बालिका थिइन् ।

सेनाको प्राविधिक टोलीका अनुसार यसरी उपचारका लागि ल्याइएका १३ वर्षीय वीरेन्द्रकुमार शाह र ७ वर्षीया सुमनकुमारी शाहलाई ‘नन-पोइजनस’ सर्पले डसेको थियो । उनीहरुको समयमै उपचार सुरु भयो ।

यी त केही उदाहरण मात्र हुन् । पछिल्लो तीन महिनाको विवरण मात्रै हेर्ने हो भने बैशाख, जेठ र असारमा मात्रै सर्पदंशका २३ जना बिरामी भारतका विभिन्न ठाउँमा उपचारका लागि चारआली आएका थिए ।

भारतीयलाई चारआलीको उपचार केन्द्रमाथि विश्वास

नेपाली सेना कालिबहादुर गण चारआलीका कर्णेल सरोज अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार भारतको दिगलबैंक, नक्सलवारी, सिलिगुढी, दार्जीलिङ र मिरिङका सर्पदंशका विरामी यहाँ उपचारका लागि आउने गरेका छन् ।

‘भारतबाट आउने अधिकांश बिरामी यहाँ सस्तोमा उपचार हुन्छ भन्छन्’, उनी भन्छन्, ‘भारतमा भन्दा यहाँ राम्रो सेवा पाइने विश्वास उनीहरुको छ ।’

सर्पदंश उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराई भारतमा भन्दा धेरै कम मूल्यमा चारआलीमा उपचार हुने भएकाले भारतीय बिरामीको चाप बढेको बताउँछन् । उनका अनुसार चारआलीमा उपचारीले भर्ना हुँदा ५० रुपैयाँ शुल्क तिर्नु पर्छ । त्यसपछि ५ सीसीसम्म एन्टी इस्नेक भेनम प्रयोग हुँदा १ हजार रुपैयाँ तिर्नु पर्छ ।

तर, त्योभन्दा बढी जति औषधि लागे पनि दुई हजार रुपैयाँ मात्रै सेवा शुल्क लाग्ने भट्टराईले अनलाइनखबरलाई बताए । उनका अनुसार नेपाल सरकारले संस्थालाई एन्टी स्नेकभेनम निःशुल्क उपलब्ध गराएकाले यहाँको उपचार शुल्क न्यून भएको हो ।

यहाँ सर्पदंश केन्द्र स्थापना हुनुअघि ०४९/०५० सालतिर सर्पदंशका विरामीले ९७ हजार रुपैयाँसम्म तिर्नु पर्ने गरेको रेकर्ड रहेको उनी बताउँछन् । ‘पछि ०५९ मा सर्पदंश उपचार केन्द्रको शिलान्यास भयो’, उनले भने, ‘त्यसपछि २०६० साल चैत ६ गतेदेखि उपचार केन्द्र सञ्चालनमा छ ।’

भारतीय बिरामीलाई दोब्बर शुल्क

चारआलीको सर्पदंश उपचार केन्द्रमा १३ वटा बेड छ । १२ वटा सामान्य बिरामीका लागि हुन् भने एउटा एमर्जेन्सी केसमा प्रयोग हुन्छ ।

यहाँबाट उपचार गराइसकेपछि नेपालीले जति मूल्य तिर्छन्, त्यसको दोब्बर मूल्य भारतीय बिरामीले तिर्नु पर्ने नियम छ ।

‘भारतीय बिरामीका लागि दोब्बर शुल्क तिर्नु पर्ने नियम छ’, केन्द्रका प्राविधिक भन्छन्, ‘तर, त्यो भारतमा उपचार गर्दा लाग्नेभन्दा धेरै गुणा कम शुल्क हो ।’ केन्द्रका प्राविधिकहरुका अनुसार त्यसरी भारतबाट आउने बिरामी मूल्यदेखि सन्तुष्ट छन् ।

बिरामीले तिरेको शुल्कबाट नयाँ भवन बन्दै

यसरी बिरामीको शुल्क वापत १२ लाख सङ्कलन भएको थियो । शान्ति तथा पुनः र्निमाण मन्त्रालयले पनि अढाई लाख रुपैयाँ दियो । त्यसपछि अहिले त्यहाँ अर्को भवन पनि बन्ने क्रममा छ ।

७ कोठे भवन बन्ने तयारी रहेको अध्यक्ष भट्टराई बताउँछन् । उनका अनुसार नयाँ भवन बनिसकेपछि २५ देखि ३० वटासम्म बेड थपिनेछन् ।

७ कोठे भवन हुनेछ भने एउटा सञ्चालक समितिको सचिवालय र अर्को बिरामी प्रतिक्षालयको कोठा हुनेछ । अन्य कोठामा उपचारका लागि बेड राखिनेछ ।

भवनको कुल निर्माण सक्नका लागि करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चाँडै भ्यान्डिलेटरको व्यवस्था

व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले केन्द्रमा भ्यान्डिलेटर नहुँदा कहिलेकाहीँ समस्या हुने गरेको बताए । प्राविधिकलाई उदृत गर्दै उनले दिएको जानकारी अनुसार भ्यान्डिलेटर खरिद गर्दा करिब २५ लाख खर्च हुन्छ ।

त्यसको सञ्चालनका लागि पनि छुट्टै जनशक्तिको आवश्यकता पर्छ । भ्यान्डिलेटर र त्यसको सञ्चालनका लागि चाहिने दक्ष जनशक्तिको व्यवस्थापनका लागि सरकारसँग माग गर्ने पहल भइरहेको भट्टराईले बताए ।

ठूला अस्पतालले नसकेको बिरामीको सफल उपचार

खाँदबारी-१०, संखुवासभाका १० वर्षीय बालक समीर ठटाललाई असार ३० गते सर्पले डस्यो । त्यसपछि सबैभन्दा पहिले खाँदबारीस्थित जिल्ला अस्पतालमा लगियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि नोबेल अस्पतालमा लगियो ।

त्यहाँबाट पनि नसक्ने बताइएपछि दमकमा रहेको रेडक्रसको सर्पदंश उपचार केन्द्र, दमकमा ल्याइयो । त्यहाँबाट चारआली रेफर गरियो । र, सर्पले डसेको ४ दिनपछि चारआली ल्याएर अहिले बच्चाको उपचार भइरहेको छ ।

आमा पवित्रा दर्जीले आफू घाँस काट्दा खेतमा जाँदा सर्पले छोरालाई डेसेको थियो ।

अन्य ठाउँमा ५० हजार रुपैयाँ बढी खर्च गरिसके पनि अहिले चारआलीमा उनको उपचार भइरहेको छ

यस्ता छन्, सर्वसाधारणलाई सुझाव

सर्पदंश उपचार केन्द्र चारआलीका प्राविधिकहरुले सर्वसाधारणलाई सर्पदंशबाट बच्न केही सुझाव दिएका छन् । प्राविधिकहरुका अनुसार धेरै जसो बिरामी घाउलाई डोरीलाई बेस्सरी कसेर ल्याउँछन् । तर, हल्का रुपमा ब्यान्डिस गरेर बिरामीलाई ल्याउनु पर्छ ।

घर वरिपरि सरसफाई गर्नु पर्ने, राति सुत्दा झुल लगाएर सुत्नु पर्ने, राति हिड्दा टर्च लाइट र जुत्ताको प्रयोग गर्नु पर्ने प्राविधिक बताउँछन् । जथाभावी परालहरु चलाउन नहुने पनि सुझाव पनि प्राविधिकले दिएका छन् ।

साथै, इँटा, ढुंगा लगायतका सामग्रीहरु राखेको ठाउँमा पनि सर्प बसेको हुन सक्ने भएकाले सचेत हुन सेनाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment