Comments Add Comment

खिम्तीका पहिरो पीडितलाई लिखु गाउँपालिकाको साढे ११ लाख सहयोग

वेपत्ता ३ जनाको अझै पत्तो लागेन

५ साउन, रामेछाप । लिखु गाउँपालिका ६ खिम्तीका बाढी पहिरो पीडितलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले पीडित परिवालाई ११ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

लिखुगाउँपालिका वडा नम्बर ६ खिम्तीमा असार ३१ गते मध्यरातमा आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनेका परिवार, घर क्षति भएका परिवार र वस्तीनै सार्नुपर्ने परिवारलाई बुधबार गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ११ लाख ६५ हजार नगद हस्तान्तरण गरेका हुन् ।

बाढी पहिरोमा परि ज्यान गुमाउने २ जनाको परिवारलाई प्रतिपरिवार २५ हजाु , घर बाढिले क्षति गरेका ११ घर परिवारलाई प्रतिपरिवार लत्ता कपडा र भाँडाकुडा सहित ६५ हजार र वस्ती जोखिम भएर सार्नुपर्ने ८ घर परिवारलाई प्रति परिवार ५० हजारका दरले नगद सहयोग गरिएको वडा नम्बमर ६ खिम्तीका वडा अध्यक्ष सुवास बोहोराले जानकारी दिए ।

घरमा क्षति पुगेर ६५ हजार पाउनेमा शम्भु विक, मिना तामाङ, वीर बहादुर तामाङ, राधा खत्री, कुमारी खत्री, नारायण बरुवाल , लोचन खत्री, उमा नारायण नेवार, कान्छा सार्की, सोभा बरुवाल र उमेश तामाङ रहेका छन् ।

त्यसैगरी बास स्थान तत्काल सार्नुुपर्ने गोबिन्द बहादुर थापा, रोहिनी बहादुर थापा, कमला बरुवाल, मोहन बहादुर सुनुवार, प्रेम बहादुर तामाङ, धावा तामाङ र उमेश तामाङलगाएतले ५० हजारका दरले रकम पाएका छन् । त्यस्तै बाढीमा परि ज्यान गुमाउने २ जनाका परिवारले प्रति परिवार २५ हजारका दरले नगद पाएको वडा अध्यक्ष बोहोराले बताए ।

खिम्तीमा असार ३१ मध्यरातमा अविरल बर्षसंगै आएको बाढी पहिरोमा परि २ जनाको ज्यान गएको छ भने ३ जना अझै वेपत्ता छन् । लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा साउन १ गते फेला परेको थियो ।

घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र सुमनकुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजीकार्य जारी छ । घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको काठमाडौँको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment