Comments Add Comment

मुग्लिन-नारायणगढ सडक बिग्रँदा विमान कम्पनीलाई फाइदा

भरतपुर-काठमाडौं हवाइमार्गमा यात्रुको चाप बढ्यो

नारायणगढ-मुग्लिन सडक, फाइल तस्वीर

५ साउन, काठमाडौं । मुग्लिन-नारायण गढ सडक खण्ड बिग्रिएपछि त्यसको असर आन्तरिक उडानमा देखिएको छ । थुप्रै यात्रुहरुले स्थलमार्गको विकल्पमा हवाईमार्ग प्रयोग गर्न थालेका छन् ।

घन्टौंको जामले कतिबेला पुुगिन्छ भन्ने पनि ठेगान नहुने अवस्थामा कतिपय यात्रुहरु महंगो रकम खर्चेर भए पनि बिमानतिर मोडिएका हुन् । एक वर्ष अघिदेखि सडक बिग्रेसँगै आफ्ना यात्रु् बढेको बिमान कम्पनीहरुको भनाइ छ ।

पछिल्लो समय काठमाडौंदेखि चितवन, भैरहवा र सिमरा जाने यात्रुको संख्या हृवात्तै बढेको बुद्ध एयरले जानकारी दियो । गत वर्षसम्म बुद्ध एयरले काठमाडौंँदेखि चितवनसम्म दैनिक ३ वटा मात्रै उडान भथ्र्यो । तर अहिले यो हृवात्तै बृद्धि भएर दैनिक ९ पटकसम्म पुगेको कम्पनीकी मार्केटिङ म्यानेजर बिनिता थापा बताउँछिन् ।

उनले भनिन् ‘नारायणगढ-मुग्लिन सडकखण्ड बिग्रेपछि चितवन, भैरहवा र सिमरा जाने यात्रुको संख्या बढेको हो ।’

यो सडकखण्डमा अहिले निर्माणको काम चलिरहेको छ । जसका कारण रातको समयमा सवारी साधन चलाउन पूर्णरुपमा बन्द गरिएको छ ।

अहिले यती एयरलाइन्सले पनि काठमाडौं भरतपुरमा दैनिक ६ वटा उडान गरिरहेको छ । गत १ वर्षदेखि भरतपुर जाने यात्रुको संख्यामा बृद्धि भएको एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सका सञ्चार प्रबन्धक भीमराज राईका अनुसार अहिले पनि यो रुटमा यात्रुको चाप बढी छ । यतीले अझै यो रुटमा उडान थप्ने योजना बनाइरहेको छ ।

राईले भने, ‘दैनिक २ वटा उडान गर्ने सेड्युल भए पनि यात्रुको चापका कारण अहिले दैनिक ५ देखि ६ वटासम्म उडान भर्ने गरेका छौ ।’

बिमान कम्पनीहरुको यात्रुको संख्यामा बृद्धि भए पनि चितवनमा होटल व्यवसाय भने ओरालो लागेको छ । चितवनमा होटल अकुपेन्सी घट्दै गएको होटल व्यवसायी संघ (हान)ले जानकारी दिएको छ ।

होटलको अकुपेन्सी घट्दै गएपछि अहिले होटल व्यवसायीहरुले बिमान कम्पनीहरुसँग मिलेर विभिन्न आकर्षक प्याकेजहरु ल्याउन खोजेका छन् । जसले झनै बिमानमा यात्रुको संख्या बढाउने देखिएको छ ।

उडान बढेका कारण बरु आकाशमा होल्ड हुने समस्या पनि बढेको छ । पछिल्लो समय नेपालमा बिमान कम्पनीहरुको संख्यामा वृद्धि भए तापनि बिमानस्थलको क्षमतामा भने बृद्धि गरिएको छैन । यसरी आकाशमा होल्डीङ बस्दा भने बिमान कम्पनीलाई केही नोक्सानी हुन्छ ।

बुद्धले थाल्दैछ पोखरा-चितवन उडान

पोखरादेखि चितवन जाँदा अहिले नारायणगढ-मुग्लिन सडकखण्डको घन्टौ जाम भोग्नुपर्ने बाध्यता छ ।

अहिले पोखरादेखि चितवनसम्म बुद्ध एयरको उडान छैन । यही रुटका यात्रुलाई ख्याल गर्दै बुद्ध एयरले सेप्टेम्बर १५ देखि पोखरा-भरतपुर उडान भर्दैछ ।

बुद्ध एयरकी मार्केटिङ म्यानेजर थापाले भनिन्, ‘पोखरादेखि चितवनसम्म जाने स्वदेशी तथा बिदेशी यात्रुलाई मध्यनजर गर्दै हामीले यो उडान भर्ने निर्णय गरेका हाैं ।’

सिम्रिक एयरले पनि उडान बढाउने

त्यस्तै चितवन जाने यात्रुहरुलाई मध्यनजर गर्दै सिम्रिक एयरलाइन्सले पनि थप उडान भर्ने योजना बनाइरहेको छ ।

अहिले दैनिक एकपटक उडान भरिरहेको यो एयरलाइन्सले अब दैनिक दुईपटक उडान गर्न लागेको सिम्रीक एयरलाइन्सका मार्केटिङ प्रमुख प्रज्वल थापाले जानकारी दिएका छन् ।

साथै यसले पनि पोखरा देखि भरतपुर उडान गर्ने तयारी गरेको छ । थापाले भने ‘ पोखराबाट भरतपुर आउने पर्यटकलाई लक्षित गर्दै भरतपुर चितवन पनि उडान भर्ने तयारी गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment