Comments Add Comment

‘हामी त सकियौं, अध्यक्ष मण्डलका नेताजीहरुको दाह्रीमा आगो लागेको छ’

हृदयेश त्रिपाठी भन्छन्- राजेन्द्र महतो मेरा सहायक हुन् !

५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए ।

राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् ।

पछिल्लो पटक ५ नम्बर प्रदेशका राजपा नेताहरुले भैरहवामा गरेको बेग्लै भेलापछि हृदयेश त्रिपाठीहरुले राजपाबाट विद्रोह गर्न लागेको चर्चा चलेको छ । तर, पार्टीका नाममा पसल खोलेर मधेसको मसिहा बन्ने पक्षमा आफू नरहेको त्रिपाठीले प्रष्ट पारे ।

प्रस्तुत छ त्रिपाठीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

हामीले अहिले यो अन्तर्वार्ता गरिरहँदा पनि तपाईको पार्टीको अध्यक्ष मण्डल बालुवाटारमा छ । मन्त्रिपरिषद विस्तार अघि राजपासँग वार्ता गर्नुपर्ने अवस्थामा सत्तापक्ष पुग्नुको अर्थ तपाईहरुसँग साँचो त रहेछ नि होइन ?

हामीसँग कुनै साँचो छैन । यथार्थमा के भने राजपा एकीकरणपछि यसलाई देखाएर धेरैको राजनीति चलेको छ । दोस्रो चरणको स्थानीय चुनावमा राजपा नआओस् भनेर कांग्रेसले राम्रैसँग खेल खेल्यो । राजपालाई चुनावमा भाग लिनबाट रोकेर उसले केही फाइदा पनि लियो होला तर समग्रमा कांग्रेसले सोचेजस्तो भएन । मधेसको जनमत राजपा भाग नलिँदा कांग्रेसले पाउने अनुमान थियो । तर, उल्टो एमालेतिर गइदियो । त्यसैले अब दोस्रो चरणमा राजपालाई चुनावमा लैजान कांग्रेसले फेरि खेल गरिरहेको हो । अरु कुरा त म अध्यक्ष मण्डलमा नभएकाले केही पनि थाहा भएन ।

अध्यक्ष मण्डलमा नभए पनि तपाई पार्टीको शीर्ष नेता त हो नि, यस्ता कुरामा पार्टीभित्र छलफल हुँदैन र ?

दुर्भाग्य के भने राजपामा कुनै छलफल नै हुँदैन । ६ वटा दल एकीकरण भएपछि ६ वटा दलका अध्यक्षहरु रहेको अध्यक्ष मण्डल बनाइयो । अध्यक्ष मण्डल नै सर्वमान्य हो भन्ने सन्देश दिइयो । जसका कारण पार्टीमा कसैलाई केही थाहा हुनै छाड्यो ।

यसैसाता तपाईको नेतृत्वमा आयोजना गरिएको भैरहवाको भेलाले राजपाभित्र हल्लीखल्ली मच्चियो, खासमा त्यो भेला केका लागि थियो ?

भैरहवा भेलामा विशेष गरी ५ नम्बर प्रदेशका मधेसका जिल्लामा गत निर्वाचनमा के कस्तो भयो त्यसबारे आ-आफ्नो भूमिकाका बारेमा समीक्षा गरियो ।

अध्यक्ष मण्डलका सबै नेताजीहरु २ नम्बर प्रदेशकै भएकाले उहाँहरुको दाह्रीमा आगो लागेको छ । त्यसैले २ नम्बर प्रदेशका लागि चिन्तित भएर लाग्नुभएको छ

पार्टीको घोषणापत्र विधान निर्माणबारे हामी अनविज्ञ छौं, अविलम्व साउन १५ अघि बैठक बोलाएर छलफल गरौं, निर्णय गरौं । आगामी दिनहरुमा कसरी अघि बढ्ने भनेर पार्टीले तय गरोस भनेर त्यहाँ छलफल भएको हो । जुन ढंगले अलग पार्टी बनाउने, बिद्रोह गर्ने भन्नेर प्रचारबाजी गरियो, त्यो गलत कुरा हो ।

उसोभए भैरहवा भेला मधेसमा नयाँ पार्टी खोल्ने तयारीका लागि आयोजना गरिएको होइन ?

हेर्नुस, मैले आजसम्म मधेसमा पसल खोलेको छैन । मेरो माताहतमा रहेका सबैले पसल खोले । हाम्रो सद्भावना पार्टीमा हनुमानी मण्डल भन्ने पिउन थिए । ती हनुमानी मण्डल बाहेक अरु सबैले पसल खोलेको अवस्थामा पनि मैले त्यतातिर जान चाहिनँ ।

राजेन्द्र महतो मेरा सहायक हुन्, उनले पसल खोले । अनिल झा त विद्यार्थी नेता थिए । श्यामसुन्दर गुप्ता, सरिता गिरी, खुसीलाल मण्डलदेखि कार्यालय सचिव विकास तिवारीसम्मले पसल खोले ।

मैले मधेसमा पार्टीका नाममा पसल खोल्न चाहिनँ । मैले एउटा मिसन अघि बढाउन खोजेको हुँ । त्यसैले राजपाको एकीकरणमा निस्वार्थ रुपमा सघाएँ । मैले अन्तिममा पनि पहल नगरेको भए अनिल झा एकतामा आउने अवस्था थिएन । साँच्चै भन्ने हो भने मलाई मधेसमा समोसा पसल जस्तो पार्टी थप्ने इच्छा छैन ।

तर, पसल खोलेपछि नेता बन्न पाइने रहेछ भन्ने त अहिलेको अध्यक्ष मण्डलका अनुहारले देखायो नि ?

यो कुरामा सत्यता छ । जसले पार्टी फुटायो र पसल थाप्यो, उही नेतृत्वमा जान्छ भने एउटा कुरा आयो । तर, भूमिका भनेको त समाज र जनताले निर्धारण गर्छन्, पसल खोलेर नेता बन्नु र मिसनमा हिँड्नु फरक कुरा हो ।

राजपामा महन्थ ठाकुर तपाईहरुले विश्वास गरेका नेता हुन्, पछिल्लो समय पार्टीभित्र उनी निरीहजस्तै बनेका हुन् कि तपाईहरुमाथि विश्वासघात भएको हो ?

महन्थ ठाकुरजीप्रति हामीलाई शंका छैन । उहाँ भद्र मान्छे, सहज ढंगले अघि बढ्न खोज्नुभयो । उहाँ छलकपटको राजनीति गर्नुहुन्न । तर, जुन असन्तुलित र अप्राकृतिक ढंगले पार्टी एकीकरण भयो, त्यसमा हाम्रो असन्तुष्टि छ ।

कसरी असन्तुलित ढंगले पार्टी एकता भयो ?

जस्तो कि ११ सीट जितेको तराई मधेस लोकतान्त्रिक पार्टी र एक सीट भएको पार्टीको नेताको दर्जा उही देखियो । यसमा कार्यकर्ता पंक्ति असन्तुष्ट र आक्रोशित छन् ।

राजपाले गरेको चुनाव बहिस्कारलाई चाहिँ तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?

दोस्रो चरणको चुनाव अघि यिनै अध्यक्ष मण्डलका नेताहरुको अकर्मन्यताले गर्दा पार्टी दर्ता हुन सकेन । हामीले पूर्वी र पश्चिम तराईका जिल्लामा न प्रभावकारी बहिस्कार गर्न सक्यौं, न त प्रभावकारी ढंगले चुनावलाई प्रयोग गर्न नै सक्यौं । अहिले आएर २ नम्बर प्रदेशका बारेमा अध्यक्षमण्डल तातेको छ । अध्यक्ष मण्डलका सबै नेताजीहरु २ नम्बर प्रदेशकै भएकाले उहाँहरुको दाह्रीमा आगो लागेको छ । त्यसैले २ नम्बर प्रदेशका लागि चिन्तित भएर लाग्नुभएको छ ।

तर, तपाईहरुको दाह्री त डढिसक्यो, उहाँहरुको दाह्रीमा आगोमात्रै लाग्दैछ भनेपछि अब के हुन्छ त ?

हामीलाई त उहाँहरु (१, ५ र ७ प्रदेशका नेता कार्यकर्ता) ले समाप्त गरिसक्नु्भयो । चुनाव बहिस्कार भनियो । इमान्दारितापूर्वक हामीले भाग नलिने भनेर लागियो । कतिपय बुथमा प्रभावकारी बहिस्कार भएको हो । मेरै क्षेत्रको कुरा गर्नुहुन्छ भने कहीँ २ भोटमात्र खस्यो, कहीँ १५४ भोट खस्यो । कहीँ १८ प्रतिशत मात्र खस्यो । तर नेतृत्वको अकर्मन्यताले गर्दा हामी सकियौं ।

मोरङ, सुनसरी, कैलाली कञ्चनपुरका साथीहरुले अब ५ वर्ष हामीले के गर्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।

अब केही दिशानिर्देशन त आउला नि ?

त्यस्तो संकेत देखिँदैन । अहिले पनि पार्टी दर्ता गर्ने क्रममा जुन ढंगको विधान र घोषणापत्र दर्ता गराइएको छ, पार्टीभित्र कुनै सल्लाह भएको छैन । हामीले अविलम्व केन्द्रीय कार्य समिति बैठक गरेर अनुमोदन गरियोस् भनेका हौं । एउटै पार्टी कुनै प्रदेश विशेषमा बहिस्कार गर्ने, कुनैमा भाग लिने भन्ने कुराले आम जनता र कार्यकर्तामा कस्तो सन्देश जाला ? कसरी चित्त बुझाउँला भन्ने गोलचक्करमा अध्यक्ष मण्डल फसेको देखिन्छ ।

स्वतन्त्र हैसियतले चुनावमा भाग लिएका र जितेका कार्यकर्तालाई कारवाही गर्ने कुरा पनि राजपाभित्र चल्न थालेको हो ?

पहिलो कुरा के बुझौं भने पार्टीका मान्छे चुनाव लडेका छैनन् । जो चुनाव लडे र जिते उनीहरु स्वतन्त्र हुन् । पार्टीबाट अलग भएरै चुनाव लडेका हुन् । अब कारवाहीको नाटक कसका लागि ? यसमा कुनै अर्थ छैन ।

अब तराई मधेसका ११ जिल्लामा त तपाईहरुको हालत भनिहाल्नुभयो, कोर मधेस भनिएको २ नम्बर प्रदेशको तयारी के छ ?

यसमा के देखिन्छ भने अध्यक्ष मण्डल विभाजित छ । २ नम्बर प्रदेशमा चुनाव लड्ने हिसाबले उहाँहरुले तयारी गरिरहनुभएको छ ।
तर, संविधान संशोधन नभई चुनावमा जान सम्भव छ ? मैले बुझे अनुसार राजपा नेतृत्व चुनावमा जाने पक्षमा पुग्दैछ । त्यहाँ अन्तरद्वन्द्व त छ । तर, कांग्रेसले चुनावमा लैजान खोजेको छ ।

यस वीचमा संविधान पनि त संशोधन होला नि ?

संविधान संशोधन त सम्भव देखिन्न । २ नम्बरको चुनाव सकेपछि पनि चुनावतिरै मुलुक जाने हो । त्यति सहजै संविधान संशोधन हुन्छ जस्तो मलाई लाग्दैन । एमाले नभई संविधान संशोधन हुदैन, एमालेले कुनै हालतमा मान्दैन ।

अब राजपा चुनावमा नगएर कांग्रेसले फाइदा लिन सक्दैन, किनकि कांग्रेस अब मधेसमा एक्सपोज भइसक्यो त्यसैले कांग्रेस जसरी पनि राजपालाई चुनावमा लैजानुपर्ने बाध्यात्मक अवस्थामा छ

एमालेसँग पनि राजपाको छलफल चलेको सुनियो, एमाले आफैंले पनि २ नम्बर प्रदेशको चुनावपछि संशोधनबारे छलफल गरौंला भन्यो नि ? यसलाई कसरी लिनुभएको छ ?

अब २ नम्बर प्रदेशको चुनावपछि पनि प्रदेश र संसदको चुनावमा जान्छ मुलुक । संविधान संशोधन हुने सम्भावना छैन । अब धेरै कुरा हुनेवाला छन् । अहिले धेरै कुरा म भन्न चाहान्न, तर यथास्थितिमा मुलुक रहँदैन । संविधान संशोधन पनि हुँदैन ।

तपाईहरुको एमालेलाई मधेस बिरोधी करार गर्नुभयो, मधेसमा पस्न दिन्नौं भन्दा राजविराजमा दुःखद घटना समेत भयो । तर, एमाले नै ठूलो पार्टी बन्दा तपाईलाई कस्तो लागेको छ ?

एमालेलाई आफ्नो बोलीले मधेस बिरोधी प्रमाणित गरेको हो । धन्दा र सोच त कांग्रेस, एमाले र माओवादी तीनै दलको एउटै हो । को बढी, को घटी भन्ने नै छैन । तर एमालेले बढी भोकल भएर बोल्यो ।

जहाँसम्म एमाले ठूलो पार्टी बनेको कुरा छ, मैले त्यसलाई अनौठो मानेको छैन ।

म चुनावका बेला भैरहवा, नवलपरासी र कपिलवस्तुमै घुमिरहेको थिएँ । त्यहाँको सेन्टिमेन्ट नै यस्तो भयो कि, कांग्रेसले धोका दियो अब एमाले जिताउनुपर्छ भन्नेतिर जनमत गयो ।

टीकापुरदेखि सुस्ता महेशपुरसम्म अनि कोर मधेसका केही ठाउँमा समेत एमाले जित्नुको कारण नेगेटिभ भोटिङ नै हो त ?

सुस्ता मेरै निर्वाचन क्षेत्रमा पर्छ । त्यहाँ एमालेको त्यति ठूलो संगठन पनि होइन । तर, कांग्रेसको बिरोधमा रहेको जनमत एमालेमा गयो । राजपाले भाग नलिएपछि त्यो भोट र राप्रपाको भोट समेत एमालेतिर गएर चुनाव जितेको देखियो ।

एउटा कुरा के भने मधेसमा बस्ने गोर्खाली (पहाडी) समुदायको भोट एमालेमा एकत्रित भएको देखियो । मधेसी समुदायको भोट पनि आक्रोशित भएर एमालेतिर गयो र एमाले मधेसमा पनि पहिलो दल बन्यो ।

तर, कांग्रेससँग आक्रोशित मधेसी जनमत त मधेसवादी दल फोरम र फोरम लोकतान्त्रिकतिर जानुपर्ने होइन र ? कसरी एमालेमा गयो भनेर पत्याउने ?

तिनीहरुको संगठनको अवस्था र उम्मेदवार विश्वसनीय नभएर हुन सक्छ, मधेसको आक्रोशित जनमत उनीहरुले लिन सकेनन् । मधेसीले समेत एमालेलाई नै भोट दिएको देखियो ।

अब दुई नम्बर प्रदेशमा पनि राजपा चुनावमा गएन भने कांग्रेसले फाइदा लिन सक्छ त ? राजपा चुनावमा जाँदा वा नजाँदा त्यस्तो असर कस्तो पर्ला ?

अब राजपा चुनावमा नगएर कांग्रेसले फाइदा लिन सक्दैन । किनकि कांग्रेस अब मधेसमा एक्सपोज भइसक्यो । उसले मधेसीलाई झुक्याएको कुरा अब सबै मधेसीले बुझिसके । त्यसैले राजपा चुनावमा नजाँदा कांग्रेसलाई लाभभन्दा पनि हानी हुने देख्छु । त्यसैले कांग्रेस जसरी पनि राजपालाई चुनावमा लैजानुपर्ने बाध्यात्मक अवस्थामा छ । त्यसैले ऊ फकाउनमा व्यस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment