Comments Add Comment

यू-१९ विश्वकप छनोटः अफगानसँग नेपालको लज्जास्पद हार

५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ ।

सुरुवाति दुई खेल जितेको नेपाली किशोर टोलीको वास्तविक परीक्षा अफगानी टिमसँग हुने मानिएको थियो । जसमा बलिङतर्फ ठीकै प्रदर्शन गरेपनि ब्याटिङ निकै खराब रहृयो । नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए ।

छैटौं ओभरको अन्तिम बलबाट नेपालको विकेट पतन सुरु भएको थियो । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले अर्को ओभरमा सन्दिप सुनारलाई पनि २ रनमा गुमाउन पुग्यो । सन्दिप लगातार तेस्रो खेलमा चल्न सकेनन् ।

नवौं ओभरमा नेपालका लागि घातक सावित बन्यो । अफगानी बलर नभिन उल हकले यस ओभरको चौथो, पाचौं र छैटौं बलमा क्रमसः दीपेन्द्र सिंह ऐरी, प्रनित थापामगर र अनिल शाहलाई आउट गराउँदै प्रतियोगिताकै पहिलो हृयाटि्रक लिए ।

त्यसपछि नेपाल निक्कै दबावमा आयो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सम्हालिएर खेल्ने प्रयास गरे । तर, उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

अन्तिम विकेटका रुपमा आउट भएका पवनले २६ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आशिफ शेखले ६ रन बनाउँदा आदिल खान र दिपेन्द्र सिंह ऐरीको नाममा ४-४ रन रहृयो । सन्दिप सुनार, र किशोर महतो (नटआउट)ले २-२ रन बनाउँदा शाहेब आलमले १ रन आफ्नो नाममा लेखे । चार ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका नभिन उलहक र मुजीबले समान ४-४ विकेट हात पारे ।

यसअघि सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनाएको थियो ।

अफगानिस्तानको युवा टोलीसामू नेपालको बलिङ आक्रमण प्रभावकारी बन्न सकेन । राम्रो सुरुवात गरेको अफगानिस्तानको पहिलो विकेट १५.३ ओभरमा शाहव आलमले लिएका थिए । उनले ओपनर इव्राहिम जर्दानलाई ४३ रनको स्कोरमा आउट गराए ।

त्यसको दुई ओभरपछि अर्का ओपनर नविद ओवाइदलाई पनि पवन सर्राफले ३३ रनको स्कोरमा पेविलियन पठाए ।

तेस्रो नम्बरका तारिक स्टाक्निजाईले २७ रन बनाए । २७ ओभरमा १११ रन हुँदा तेस्रो विकेट गुमाएर अफगानिस्तानबिरुछ त्यसपछि नेपाली बलरहरु क्रमसः हावी भए ।

नेपालका शाहव आलामले ३ विकेट लिए भने पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले दुई दुई विकेट लिए । किशोर महतो र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

यसअघिका दुवै खेलमा पहिलो फिल्डिङ गरेको नेपालले विपक्षीलाई सस्तैमा अलआउट गर्न सफल भएको थियो ।

नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो ।

अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ । समूहको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment