Comments Add Comment

चिनियाँ टिप्पणीः भारतमा ‘हिन्दू राष्ट्रवाद’ले युद्धको खतरा बढायो

'चीनले जति प्रगति गर्छ, भारत त्यति छटपटिन्छ'

५ साउन, काठमाडौं । चीन र भारतबीच सीमाक्षेत्रमा तनाव बढिरहेको छ । भुटान र सिक्किमको वीचमा पर्ने डोक्लाममा दुबै देशका सेनाहरु आमने-सामने भएका छन् । तनाव बढेसँगै दुई देशबीच ‘मिडिया वार’ पनि चलिरहेको छ । दुवै पक्षका मिडियाहरु आ-आफ्नो देशको बचाउमा तर्कवितर्क गरिरहेका छन् ।

यसैबीच, चीनको सरकारी अखबार ग्लोबल टाइम्सले एउटा सम्पादकीय प्रकाशित गरेको छ, जसमा भारतको हिन्दू राष्ट्रवादले दुई देशबीच युद्धको खतरा बढाएको उल्लेख छ ।

ग्लोबल टाइम्स लेख्छ, ‘भारत लगातार सीमामा उत्तेजना फैलाउने काम गरिरहेको छ र अर्कोतर्फ भारतमा हिन्दू राष्ट्रवादको आडमा चीनविरोधी भावना फैलिइरहेको छ ।’

भारतले चीनलाई एउटा प्रतिद्वन्द्वी र शक्तिशाली दुश्मनको रुपमा हेर्ने गरेको सम्पादकीयमा औंल्याइएको छ ।

‘लामो समयदेखि चीन भारतलाई चारैतर्फबाट घेरिरहेको छ भन्ने हल्ला फैलाइएको छ । अर्कोतर्फ चीनले मित्रभाव देखाउँदै भारतलाई वान बेल्ट, वान रोडमा सहभागी हुन आमन्त्रित गरिरहेको छ । भारत ठान्छ कि वान बेल्ट, वान रोड चीनको सामरिक रणनीतिको अंग हो र उसले भारतलाई घेरिरहेको छ,’ सम्पादकीयमा उल्लेख छ ।

१९६२ को युद्धमा चीनसँग हार खाएपछि भारतीयहरु त्यसैमा रुमल्लिएको र अगाडि बढ्न नचाएको ग्लोबल टाइम्सको निस्कर्ष छ ।

सम्पादकीयमा अगाडि भनिएको छ, ‘चीनको हरेक कदमबाट भारत सशंकित हुन्छ । चीनको विकास भारतको लागि दुर्भाग्यका रुपमा हेरिन्छ । चीन जति चाँडो प्रगति गरिरहेको छ, भारत त्यति नै डराइरहेको छ ।’

‘भारतका राष्ट्रवादीहरु आफ्नो देशले पुरानो हारको बदला लिएको हेर्न चाहन्छन् र यही भावनाले तनाव भड्काउने काम गरिरहेको छ ।

नरेन्द्र मोदीले २०१४ को चुनाव राष्ट्रवादी भावनाको सहारामा लडेका थिए । हिन्दू राष्ट्रवादमा उभारले गर्दा मोदीलाई फाइदा भएको थियो ।

यसबाट एकातर्फ मोदीलाई शक्ति त प्राप्त भयो, तर अर्कोतर्फ भारतमा रुढिवादीहरुको प्रभाव बढिरहेको छ र यसले आर्थि सुधारको गतिलाई प्रभावित तुल्याएको छ । यसपटक सीमामा खिचातानी भारतको तर्फबाट पूर्णरुपमा लक्षित छ जसले भारतका धार्मिक राष्ट्रवादीहरुको माग पूरा गरिरहेको छ ।’

‘यदि भारतमा धार्मिक राष्ट्रवाद अतिवादमा परिणत भयो भने सरकारले सम्हाल्न सक्ने छैन,’ सम्पादकीयमा भनिएको छ, ‘किनकि २०१४ मा मोदी आएपछि मुस्लिमहरुमाथि बढेको हिंसा रोक्न सरकार असफल रहँदै आएको छ ।’

चिनियाँ टिप्पणीमा भनिएको छ, ‘चीन र भारतमा प्रतिस्पर्धा सामथ्र्य र विवेकमा निर्भर गर्छ । भारत राष्ट्रिय सामथ्यमा चीनभन्दा कमजोर छ । तर, उसका रणनीतिज्ञ र राजनेता भारत र चीनबीचको सम्वन्धलाई राष्ट्रवादको भेटी नचढाउने विवेक देखाइरहेका छैनन् ।

भारतको यो सोचले यसको हितलाई खतरामा पार्नेछ । भारतले सतर्क हुनुपर्छ किनकि धार्मिक राष्ट्रवादले दुवै देशलाई युद्धमा धकेल्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment