Comments Add Comment

कांग्रेसको रणनीतिः प्रदेश नम्बर २ बाट क्षतिपूर्ति गर्दै पहिलो पार्टी

शीर्षनेताको प्रस्तावमा जिल्ला सभापतिले भने- सम्भव छ

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रदेश नम्बर २ मा पहिलो पार्टी हुने मात्र होइन, दुई चरणमा व्यहोरेको हारको क्षतिपूर्तिसमेत गर्ने योजना अघि सारेका छन् ।

प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले पनि टिकट वितरणमा नेतृत्वले सही निर्णय लिएमा यो लक्ष्य असम्भव नभएको बताएका छन् । साथै उनीहरुले ‘पास- फेल’ जे भए पनि संविधान संशोधन विधेयकलाई तत्काल संसदमा भोटिङ गराउनसमेत माग गरेका छन् ।

असोज २ को चुनावलाई लक्षित गरेर कांग्रेसले प्रदेश नम्बर २ को भेला राजधानीमा बोलाएको छ । विहीबार उदघाटन गरिएको भेलामा जिल्ला सभापतिहरुका साथै क्षेत्रीय सभापति, उम्मेदवारका आकांक्षीहरु, सांसद, केन्द्रीय सदस्य र पूर्व सांसदहरुलाई बोलाइएको छ ।

निधीको आँकलनः १९ सीटमा मात्रै एमालेको प्रभाव

प्रादेशिक भेलाको सुभारुम्भ गर्दै कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा १०० सीट जित्ने लक्ष्य सुनाए । पहिलो र दोस्रो चरणको चुनावबाट एमाले पहिलो पार्टी भएको र कांग्रेसभन्दा ५० सीट बढी जितेको भन्दै उनले अब प्रदेश नम्बर २ ले सबैको क्षतिपूर्ति गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

समयमै उम्मेदवार टुंगो लगाउने र असन्तुष्टि व्यवस्थापन गर्दै चुनाव प्रचारमा जानुपर्ने भन्दै निधिले भने, एकतावद्ध भएर लाग्यौं भने कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्छौं ।’

अनौपचारिक रुपमा आफूले गरेको अध्ययनले सप्तरी र सिराहा बाहेकका ६ जिल्लाका ९६ स्थानीय तहमध्ये १९ मा मात्रै एमालेको प्र्रभाव रहेको पाइएको निधिले सुनाए । यो कांग्रेसका लागि सुखद लक्षण भएको भन्दै उनले एमालेको प्रभाव क्षेत्र मानिएको हाइवेमा माओवादी र राजपासँग तालमेल गरेर लक्ष्यसम्म पुग्न सकिने बताए ।पूर्वगृहमन्त्री निधिले भने, ‘असोज २ को चुनाव हरहालतमा सफल पारौं र, त्यहाँ बहुमत प्राप्त गर्ने मात्र होइन, राष्ट्रिय रिजल्टमा नै क्षतिपूर्ति गरेर कांग्रेसलाई लिड लिन सकौं ।’

जिल्ला सभापतिको प्रस्तावः संविधान संशोधनमा भोटिङ गरौं

निधीले बोलेपछि ८ जिल्लाका सभापतिहरुले रिपोर्टिङ सुरु गरेका थिए, जसमा पत्रकारलाई प्रवेश दिइएको थिएन ।

एक सहभागीले अनलाइनखबरलाई बताए अनुसार रिपोर्टिङका क्रममा मनोमानी र आफ्नालाई टिकट वितरण गरे कांग्रेस ठूलो पार्टी बन्न नसक्ने बताएका छन् । टिकट बाँड्नुअघि नै केन्द्रीय स्तरबाट अध्ययन गर्नुपर्ने र हाम्रा होइन, जित्न सक्नेहरुलाई उम्मेदवार बनाउनुपर्ने भन्दै जिल्ला सभापतिहरुले चुनावमा अन्तरघात नहोस् भन्नका लागि हरेक ठाउँमा २-२ केन्द्रीय सदस्य खटाउन पनि माग गरेका छन् ।

संविधान संशोधन विधेयक पास फेल जे भए पनि भोटिङमा लैजान कांग्रेस नेताहरुले माग गरेका छन् । ‘अझै पनि मानिसहरुलाई आशंका छ कि कांग्रेसले नै भोट हाल्ने हो कि होइन’ जिल्ला सभापतिहरुले भने, ‘संविधान संशोधनलाई भोटिङमा लैजाऔं र पास गर्न प्रयास गरौं । यदि फेल भइहाल्यो भने कसका कारण संशोधन हुन सकेन भनेर जनतामा जाऔं ।’

शीर्ष नेताहरुको एउटै स्वर

प्रदेश नं २ का जिल्ला सभापतिहरुले बोलेपछि शीर्ष नेताहरुले बोल्ने समयमा फेरि पत्रकारलाई प्रवेश दिइएको थियो । कार्यक्रममा बोल्ने रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्म सबैले एकमुख भएर चुनावमा पार्टीलाई पहिलो बनाउनै पर्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलेले दुई चरणमा व्यहोरेको हारको प्रदेश नम्बर २ ले क्षतिपूर्ति गर्नुपर्ने बताए । पहिलो र दोस्रो चरणमा उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘जिते पनि, हारे पनि मेरो मान्छे उठाउनुपर्छ भन्ने मूर्ख विचार हो ।’

पौडेलले अघि भने, ‘तनहुँको भानु र शुक्लाफाँटामा मैले मेरै मान्छे राख्छु भन्दा खुँइकियो (हार्‍यो) ।’

भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्तावलाई भोटिङमा लैजाऔं भन्दा राजपाले पहिले मन्त्रिपरिषदले गर्ने कामहरु गर्नुस् भनेको भन्दै उनले राजपाले माने पनि नमाने पनि संशोधन विधेयकलाई भोटिङमा लैजानुपर्ने बताए ।

सिटौलासँगै कोषाध्यक्ष सीता यादव र महामन्त्री शंशाक कोइरालाले पनि प्रदेश नम्बर २ ले कांग्रेसलाई पहिलो बनाउनुपर्ने बताए ।

दुईवटा कारणले कांग्रेस हार्‍योः देउवा

शीर्ष नेताहरुले बोलिसकेपछि पालो आयो उद्घाटन सत्रका अन्तिम वक्ता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको । झण्डै ३ घन्टा नेता कार्यकर्ताको गुनासो र आक्रोश सुनेका देउवा पनि कम आक्रोशित रहेनछन् ।

उनले पहिलो र दोस्रो चरणमा व्यहोरेको हारका दुई कारण बताएः एउटा- उम्मेदवार छनोटमा भएको ढिलाइ र दोस्रो अन्तरघात ।

प्रधानमन्त्री देउवाले अगाडि भने, ‘अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्छु । अन्तरघातीलाई कारबाही नगर्ने हो भने भोलि पनि अन्तरघात हुन्छ र पार्टी कहिल्यै ठूलो हुन सक्दैन ।’

उम्मेदवारको दाबी गर्ने सबैले जित्छु भन्ने गरेको तर, टिकट एउटाले मात्रै पाउने भन्दै उनले उम्मेदवार नहुनेहरुलाई पार्टीबाट अरु काम दिन सकिने धारणा राखे । उनले अघि भने, समयमै उम्मेदवार तय गरौं । तर, नपाउने पनि सहयोग गर्नुपर्छ ।’

दोस्रो चरणको चुनाव कांग्रेसका लागि जीवण मरणको सवाल रहेको भन्दै देउवाले गणतन्त्र र संघीयता जोगाउन पनि कांग्रेस समग्रमा पहिलो पार्टी बन्नुपर्ने दाबी गर ।
कदमजमको नारा लिएर हिँडेको आफू मधेस विरोधी हुन नसक्ने भन्दै प्रधानमन्त्री समेत रहेका देउवाले अन्तरघातीहरुलाई नछोड्ने पटक पटक दोहोर्‍याए ।

भेलामा सहभागीहरुले विहीबार आ-आफ्नो धारणा राख्नेछन् । शुक्रबार जिल्लागत रुपमा समूह बनाएर छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने कार्यक्रम बनाइएको छ । सुरुमा एक दिनका लागि मात्र भनेर भेला बोलाइएको थियो । तर, क्षेत्रीय सभापति र सांसदहरुले पनि बोल्न चाहेपछि एक दिन थप्नु परेको नेता निधीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment