Comments Add Comment

डीनको वैकल्पिक कार्यालयमा पनि आईओएम विद्यार्थीको ताला

५ साउन, काठमाडौं । डीनको वैकल्पिक कार्यालय रहेको महेगो भवनमा पनि विद्यार्थीहरुले आज ताला लगाइदिएका छन् । आफ्नो माग पूरा हुने संकेत नदेखिएपछि डीनको वैकल्पिक कार्यालय तथा परीक्षा शाखामा त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा अध्ययनरत विद्यार्थीहरुको संगठन स्ववियुले ताला लगाएको हो ।

भर्ना अवधि सकिएको छ महिना पछि पनि क्याम्पसका डीन प्रा. डा. जगदीश अग्रवालले गैरकानुनी रुपमा एमबीबीएस तहमा विद्यार्थी भर्ना गरेकाले ताला लगाउनु परेको स्ववियू सभापति डा. मिलन गैरेले बताए ।

विद्यार्थीहरुले अवैध रुपमा गरिएको विद्यार्थी भर्ना खारेज हुनुपर्ने, भर्नामा सामेल व्यक्तिलाई कारवाही गरिनुपर्ने, विपन्न वर्गको पहिचान गर्न बनाइएको कार्यविधि पारित गरिनुपर्ने, आवासीय चिकित्सकसित सरकारले गरेको सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध गराइनुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

यसअघि नै विद्यार्थीहरुले डीन कार्यालयमा ताला लगाएका थिए । डीन कार्यालयमा ताला लगाइएपछि क्याम्पसका डीन डा. अग्रवालले गत असार २० गतदेखि महेगो भवनमा रहेको वैकल्पिक कार्यालयमार्फत आफ्नो दैनिक कार्य सञ्चालन गर्दै आएका थिए । त्यसमा पनि बिहीबार विद्यार्थीहरुले ताला लगाएका हुन् ।

‘हामीले राखेको जायज मागका सम्बन्धमा हिजो बसेको कमिटीबाट केही निष्कर्ष आउँछ कि भन्ने हाम्रो अपेक्षा थियो,’ स्ववियू सभापति डा. गैरेले भने, ‘आजसम्म पनि मागबारे सम्बोधन हुन्छ कि भनेर बस्दा पनि डीन कार्यालयबाट कुनै सुनुवाई नभएपछि बाध्य भएर वैकल्पिक भवनमा ताला लगाएका हौं ।’

आन्दोलनको १७ दिन आजसम्म पनि आफ्ना माग पूरा नभएपछि बाध्य भएर डीन कार्यालयको वैकल्पिक कार्यालयमा ताला लगाउनु परेको उनले बताए ।

आन्दोलनरत विद्यार्थीहरुसँग वार्ता गर्न डीनको कार्यालयले बुधवार प्रा. डा. राजेन्द्रप्रसाद गुरागाईको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा प्रा. डा. वाईपी सिंह र प्रा. डा. द्वारिकाप्रसाद श्रेष्ठ रहेका छन् । विद्यार्थीका तर्फबाट वार्ताको नेतृत्व स्ववियु सभापति डा. गैरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment