Comments Add Comment

‘तीन हप्तामा ४९५ निर्वाचन क्षेत्र बनाउनु चुनौतीपूर्ण छ’

'जनकपुरबाट फोन आयो, आयोगका सदस्यलाई चिन्दिनँ'

५ साउन, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष पूर्वन्यायाधीश कमलनारायण दासले तीन सातामा ४९५ वटा निर्वाचन क्षेत्रहरु निर्धारण गर्नु चुनौतीपूर्ण काम भएको बताएका छन् ।

सरकारले पूर्वन्यायाधीश दासको अध्यक्षतामा विहीबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो । आफू अध्यक्ष बनेको कुरा जनकपुरबाट साथीले फोन गरेपछि थाहा पाएको दासले अनलाइनखबरलाई बताए ।

दासको अध्यक्षतामा गठित ५ सदस्यीय आयोगका सदस्यहरुमा माधव अधिकारी, गणेशराज कार्की र विश्वकल्याण पराजुली छन् । सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल छन् । आयोगलाई २१ दिनको समय दिइएको छ ।

सर्वोच्चको न्यायाधीश रहेका बेला कुनै पनि विवादमा नमुछिएका दास स्वच्छ छविका न्यायमूर्ति मानिन्छन् ।

यसै सन्दर्भमा अनलाइनखबरले आयोगका अध्यक्ष दाससँग संक्षिप्त कुराकानी गरेको छः

निर्वाचन क्षेत्र निर्धारण आयोगको अध्यक्ष बन्नुभएकोमा बधाइ छ । तपाईलाई अध्यक्षको जिम्मेवारी दिइँदैछ भन्ने पूर्वजानकारी थियो कि थिएन ?

थाहा थिएन । जनकपुरबाट मलाई फोन गरेर एकजना साथीले भन्नुभयो, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेछन्, तपाई अध्यक्ष हुनुभएको छ । जनकपुरबाट मैले थाहा पाएँ, यहाँबाट त मैले केही पनि थाहा पाएको छैन । म अहिले काठमाडौंमै छु ।

हामी यसरी तपाईको नेतृत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउँदैछौं है भनेर अगाडि केही जानकारी गराएको थियो होला नि ?
अनौपचारिक रुपमा मात्रै कुरा भएको थियो ।

तपाई कुन जिल्लाको बासिन्दा हो ?

मेरो सिराहा पनि हो । जनकपुर पनि हो । अब काठमाडौं पनि ।

निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा तपाईको केही पूर्वानुभव छ कि छैन ?

कसरी हुने, सर्वोच्च अदालतको जिम्मेवारीमा रहेको मान्छेलाई ।

तपाईको अध्ययन कुन विषयमा हो ?

म त्रिभुवन विश्वविद्यालयको प्रोडक्ट हुँ । कानूनका साथै राजनीतिशास्त्र र इकोमिक्स मेरो विषय हो । वकालत चाहिँ म सामान्यतः कर्पोरेट ल, ट्याक्सेसन इत्यादिमा गर्थें ।

सर्वोच्च अदालतको न्यायाधीश बन्नुपूर्व कति वर्ष वकालत गर्नुभयो ?

३७ वर्ष वकालत गरेर सर्वोच्च अदालतमा गएको हुँ । सर्वोच्चमा न्यायाधीशका रुपमा दुई वर्ष काम गरें । त्यहाँ जाँदै ६५ वर्ष पुग्न लागेको थिएँ ।

सरकारले तपाईलाई निकै चुनौतीपूर्ण जिम्मेवारी दिएको छ, तोकिएकै समयमा काम सम्पन्न गर्न सक्नुहुन्छ त ?

के के गर्नुपर्ने हो, त्यसको टम्र्स अफ रिफरेन्स नपाइकन कसरी भन्ने ? भन्न गाह्रो छ । हेरौं, अब गरिएला । आयोगको टीम कस्तो छ, मलाई थाहा छैन ।

तपाईसँगै आयोगमा सदस्य बनेका कसैसँग चिनजान छैन र ?

म कसैलाई चिन्दिनँ । अब भेटेर कुरा गरौंला । चिनजान गरौंला । उहाँहरु पनि सबै जवाफदेही मान्छेहरु नै हो ।

आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि ३ हप्ताको छोटो समय दिइएको छ । २४० वटा चुनाव क्षेत्रलाई १६५ वटामा झार्न अनि प्रदेशका लागि ३३० वटा क्षेत्रहरु निर्धारण गर्न कत्तिको गाह्रो काम हो ?

अब १६५ प्रतिनिधिसभाको भयो, त्यसको ठ्याक्कै दोब्बर प्रदेशको हुन्छ । भनेपछि ४९५ वटा क्षेत्र निर्धारण गर्नुपर्छ । यसका लागि जम्मै भूगोल अध्ययन गर्नुपर्छ । जनसंख्याको अध्ययन गर्नुपर्छ । आयोगमा के-के विषयका विज्ञहरु हुनुहुन्छ, मलाई थाहा छैन ।

उसोभए तीन साताभित्रै काम गर्न गाह्रो होला जस्तो छ….

अब सबैले हेल्प गर्नुहोला नि । नभए बाहिरबाट पनि लिउँला नि सहयोग । तपाई पत्रकार बन्धुहरुले पनि सहयोग गर्नुपर्छ । तपाईहरुसँग पनि हेल्प माग्छु ।

यो एउटा चुनौतीपूर्ण काम नै हो । अब के-के गर्न सकिन्छ, हेरौंला । मैले कुनै आर्थिक लोभका कारणले यो जिम्मेवारी स्वीकार गरेको होइन । टीमका साथीहरुसँग कुरा गरेपछि मात्रै थप भन्न सकिन्छ, उहाँहरुको इम्प्रेसन के छ, त्यसपछि थप कुरा गरौंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment