Comments Add Comment

नगर बस सञ्चालन गर्ने दिपायल सिलगढी नगरपालिकाको निर्णय

५ साउन, डोटी । डोटी दिपायल सिलगढी नगरपालिकाको पहिलो बैठकले नगर क्षेत्रभित्र नगर बस सञ्चालन गर्ने निर्णय गरेको छ । कतिवटा बस सञ्चालन गर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगिएको छैन ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मञ्जु मलासीले भनिन्, ‘नगर क्षेत्रभित्र यातायतको भरपर्दो व्यवस्था नभएका कारण नगरबासीहरुले सास्ती खेप्नु परेको छ । त्यसैले नगरक्षेत्रभित्र नगर बस सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

नगरपालिकाभित्र यातायातको अभावका कारण स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको पटकपटक गुनासो आउने गरेको छ ।

बैठकले प्रदेश नं. ७ को राजधानी दिपायल बनाउनका लागि आबश्यक पहल गर्ने निर्णय गरेको छ । ‘ऐतिहासिकताका हिसावले, भौगोलिक दुरीका हिसावले, बातावरणको हिसावले र सुरक्षाको हिसावले पनि डोटीनै उपयुक्त ठाउँ हो’ मलासीले भनिन् ‘नगरपालिकाको तर्फबाट गर्नु पर्ने पहलका लागि हामीले तयार रहने निर्णय गरेका छौं ।’

यस्तै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउने निर्णय भएको नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । खड्काका अनुसार असार १४ गते भएको स्थानीय तहको निर्वाचन निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद दिएको छ ।

‘सुरक्षा व्यवस्था मिलाउने सुरक्षा निकाय र अमुल्य मतदान गर्नु हुने मतदाताहरुलाई पनि हामीले धन्यवाद दिएका छौं’ खड्काले भने ‘निर्वाचनमा सक्रिय सहभागिता जनाउनु हुने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई पनि धन्यवाद दिएका छौं ।’

बैठकले नगरका नौ वटै वडाहरुमा खानेपानीको बिस्तृत सम्भाब्यता अध्ययन गर्ने, नगरभित्रका कच्ची सडकहरुको स्तरोन्नती गर्ने, सडक नपुगेका बस्तीहरुमा सडक पुर्‍याउने लगायतका २० वटा निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment