Comments Add Comment

गोरखामा झोलुङ्गे पुलद्वारा तुइन बिस्थापित हुँदै

६ साउन, गोरखा । ९ वर्षसम्म जोखिम मोलेर तुइनबाट मस्र्याङदी नदि वारपार गर्दै आएका गोरखाको शहिद लखन गाउँपालिका-३ भुवानीटारका स्थानीयहरुले तुइनबाट मुक्ति पाएका छन् ।

गोरखाको शहिद लखन र तनहूको आवुखैरेनी गाउँपालिकाको सिमाना रहेको मस्र्याङदी नदि माथि झोलुङ्गे पुल बनेपछि उनीहरु खुशी छन् ।

‘तुइन बाट मस्र्याङदी नदि तर्दा डर लाग्थ्यो, फेरि लठ्ठा तान्नुपर्ने, कहिलेकाही त हातै काट्थ्यो,’ शहिद लखन गाउँपालिका-३ भुवानीटारकी स्थानीय हिरा गुरुङले भनिन् ‘पुल भएपछि निकै सजिलो भएको छ ।’

बालबच्चा लिएर तुइन चढ्दा निकै जोखिम हुने गरेको स्थानीय चन्ऽ कुमारी गुरुङले बताइन् । ‘साना नानीहरुलाइ सिटमा राख्दा दुलोबाट छिर्छ की भन्ने डर हुन्थ्यो खुट्टाले चेपेर राख्थें,’ उनले भनिन् ।

तुइन वारपार गर्नका लागी मान्छे कुर्ने गरेको उनी बताउँछिन् । ‘तुइन तरेर जान कोही मान्छे आउछ की भनेर कुरेर बस्थ्यौ, तर अहिले पुल बनेपछि जतिखेर आएपनि भयो कसैलाइ कुर्नु पनि पर्देन,’ उनले भनिन् ।

यस क्षेत्रका स्थानीयहरु सामान्य किनमेलदेखि शिक्षा स्वास्थ्यलगायतका सेवा लिन चितवनको मुग्लिन बजार जाने गर्छन् । तुइन निर्माण हुनुअघि एक घण्टाको पैदल यात्रा गरेर मुग्लिन बजार पुग्ने स्थानीयहरुलाइ २०६५ सालमा तुइन बनेसँगै केही सहज भएको थियो । तुइनको जोखिमपूर्ण यात्रा हटाउन अहिले सो क्षेत्रमा पुल निर्माण भएको हो ।

बृद्धबृद्धा र बालबालिकालाइ तुइनबाट आवतजावत गर्न समस्या हुने गरेको भुवानीटार झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका सचिव बहादुर गुरुङले बताए । ‘बृद्धबद्धालाइ त हामी गाउँका केटाहरु मिलेर तुइन तारिदिन्थ्यौं,’ उनले भने ‘तर बिरामीलाइ लान निकै समस्या हुन्थ्यो ।’

अधिकांश स्थानीय कृषि पेशामा संलग्न भएकाले कृषि उपजलाइ बजार सम्म ढुवानी गर्न समेत सहज पुग्ने भन्दै स्थानीयहरु खुशी भएका छन् । पुल बनेसँगै गाउँको आर्थिक उन्नतीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तुइन बिस्थापन कार्यक्रम अन्तरगत उक्त पुल निर्माण भएको हो । जिल्ला समन्वय समिति अन्तरगतको जिल्ला प्राविधिक कार्यालय मार्फत ३५ लाख ३४ हजारको लागतमा निर्माण भएको पुलले स्थानीयहरुलाइ आवतजावतमा निकै सहज बनाएको छ ।

तुइन बिस्थापित अन्तिम चरणमा

त्यस्तै तुइन बिस्थापन गर्नका लागि प्राविधिक कार्यालयले गोरखाको गण्डकी र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने हुइलिङटार झोलुङ्गे पुल निर्माण गरेको छ । कुल ४७ लाख ५९ हजारको लागतमा उक्त पुल निर्माण भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले बताए ।

भुवानीटारको पुल निर्माण सम्पन्न भएपनि हुइलिङटारको भने निर्माण कार्य अन्तिम चरणमा पुगेको पौडेलको भनाइ छ । ‘काम गर्दै जादा चट्टान भेटिएकाले हुइलिङटारको पुल ५ मिटर लम्वाइ बढाउनुपर्ने भयो र डिजाइन नै परिवर्तन गर्नुपर्‍यो,’ उनले भने ‘लम्वाइ बढाउदा डेक पुगेन त्यसैले काम सक्न केही ढिलाइ भएको हो ।’

जिल्लामा रहेका अन्य तुइनहरु पनि झोलुङ्गे पुलद्धारा बिस्थापन हुने क्रम जारी रहेको कार्यालयले जनाएको छ । तुइन रहेको अधिकांश ठाउँमा पुल निर्माण भइसकेको र बाँकी रहेको ठाउँमा पनि निर्माण कार्य भइरहेको प्राविधिक कार्यालयका असिस्टेन्ट सव इन्जिनियर लालु गुरुङले बताए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको दारेचोक जोड्ने हिक्लुङ र थुम्कामा झोलुङ्गे पुल निर्माण भइरहेको उनले बताए ।

सुलिकोटको ताकुमाझ लाकुरीबोट र सिरानचोकको केराघारी जोड्ने पुल निर्माण भइसकेको छ । अजिरकोट गाउँपालिका र लम्जु-को बिचौर गाउँपालिका जोड्ने तथा सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिका जोड्ने पुल निर्माण पनि सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यस्तै सुलिकोट र सिरानचोक गाउँपालिका जोड्ने गरी मोटरेवल पुल निर्माण भएको गुरुङको भनाइ छ । पुल निर्माण भएसँगै यी ठाउँमा रहेका तुइनहरु बिस्थापित भएको उनले बताए । अव छिट्टै गोरखा तुइन मुक्त हुने उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment