Comments Add Comment

कति सहज छ प्रदेश नम्बर २ मा १०० सिट जित्ने कांग्रेसको लक्ष्य ?

'प्रदेश नम्बर २ मा कांग्रेसकै कारण कांग्रेसले हार्न सक्छ'

६ साउन, काठमाडौं । ‘पहिलो मधेस आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्दा तराई मधेसका केही भागमा भइरहेको आन्दोलन भन्ने शब्द प्रयोग गरे । हामीले नै सीडीओमार्फत तत्काल सन्देश पठायौं कि केही भाग होइन, मधेस जलिरहेको छ । पार्टी सभापति समेत रहेका कोइरालाले तत्काल सच्याएर अर्को सम्बोधन गरे । तर, अहिले त सभापति शेरबहादुर देउवा मात्र होइन, रामचन्द्र पौडेलले पनि केही भनेको सुनिएको छैन ।’

प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउन आयोजित भेलामा कांग्रेसका शीर्षनेताहरुले मधेसमा १०० सिट जित्ने भनिरहँदा राजनन्दन यादव यसो भन्दै थिए ।

महोत्तरीका राजनन्दन ०३६ सालदेखि कांग्रेसमा सक्रिय छन् । मधेसका हरेक आन्दोलनमा सक्रिय भए तर, मधेस केन्द्रीय दलतिर लाग्ने सोच कहिल्यै बनाएनन् । आफ्नो पार्टीसँग उनको गुनासो छ, मधेसको भावना बुझेर सम्बोधन गर्न पार्टी बेलाबेला चुक्दै आएको छ, यो पटक पनि चुक्यो भने मधेस कांग्रेसको नरहन सक्छ ।’

यादवलाई लाग्छ, अहिले पनि मधेसका विषयमा कांग्रेसले प्रष्टरुपमा आफ्नो धारणा राख्न सकेको छैन ।’

उनका अनुसार मधेसमा अहिले पनि धेरैलाई आशंका छ र प्रतिपर्धी दलहरुले आरोप लगाएका छन् कि कांग्रेस मधेसको माग सम्बोधन गर्न अझै पनि गम्भीर छैन । त्यसैले अब संशोधन विधेयकलाई हरहालतमा निर्णयार्थ पेश गर्नुपर्ने उनले बताए ।

प्रादेशिक भेलामा सहभागी हुन आएका राजनन्दन मात्र होइन, क्षेत्रीय सभापति, जिल्ला सभापतिदेखि प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि यही मत राखेका छन् ।

पार्टीले इमान्दारितापूर्वक संशोधन पास गर्न प्रयास गर्ने र भोटिङमा लैजाँदा कुनै कारण फेल भए कसका कारण संशोधन हुन सकेन भनेर जनतालाई भन्नुपर्ने उनीहरु बताउँछन् । यसमा कांग्रेसका शीर्षनेतृत्व पनि सहमत हुँदै आएको छ ।

तर, संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाना साथ कांग्रेसले चाहेको जस्तो मधेसमा अत्यधिक स्थानीय तह जित्न सम्भव छैन । पहिलो र दोस्रो चरणमा एमालेभन्दा झण्डै ५० सिटले पछि परेको कांग्रेसले प्रदेश नम्बर २ बाट क्षतिपूर्ति गर्दै पहिलो पार्टी बन्ने लक्ष्य लिएको छ ।

मधेसमा १०० सीट सम्भव छ ?

कांग्रेसका नेता कार्यकर्ता यसलाई असम्भव त मान्दैनन् तर, निकै कठिन लक्ष्य ठानेका छन् ।

प्रादेशिक भेलामा बिहीबार ५६ जनाले बोलेका छन् । उनीहरु मध्ये अधिकांशले पार्टीमै समस्या औंल्याएका छन् । ढिला गरी उम्मेदवार छान्ने, जित्नेलाई भन्दा तेरो र मेरो भनेर भागवण्डा गर्ने र टिकट नपाएपछि हराउन लाग्ने प्रवृत्ति पार्टीमा रहेको भन्दै नेताहरुले अन्यत्र जस्तै मधेसमा पनि कांग्रेसले कांग्रेसकै कारण हार्ने खतरा आैंल्याएका छन् ।

सर्लाही क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति रामआश्रय साह भन्छन्, ‘पार्टीले टिकट राम्रो ढंगले मिलाएर दियो भने मेरो क्षेत्रका ३ वटै (दुई गाउँपालिका र एक नगरपालिका) जित्छौं ।’

उनी संविधान संशोधन माथि (नेतृत्व) को कुरा हो भन्ने मान्छन् । तर, संशोधनबारे संसदबाट निर्णय गरेर नै चुनावमा जानुपर्ने आफ्नो व्यक्तिगत धारणा सुनाउँछन् ।

पुण्यप्रसाद घिमिरे पनि सर्लाहीकै कांग्रेस नेता हुन् । उनी हाइवे क्षेत्र समेत पर्ने क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन् । उनी पनि अन्य सहभागीहरु जस्तै मुख्य कुरा टिकट वितरणलाई नै मुख्य समस्या मान्छन् । ‘लवीका कारण राम्रो मान्छेले टिकट पाउन सकेनन् र जनताले रुचाएका भन्दा तेरो-मेरो भयो भने कांग्रेसलाई गाह्रो छ’ उनले भने ।

तर, कांग्रेस नेतृत्वलाई यो मिलाउन सजिलो पनि छैन । झण्डै २० वर्षपछि स्थानीय चुनाव हुन लागेकाले आकांक्षी धेरै छन् । त्यसपछि हरेक गुटले आफ्नो पक्षका नेताले नै टिकट पाओस् भन्न चाहेने नै भए । वडामा गुट हावी नभए पनि गाउँपालिका र नगरपालिकाको प्रमुख तथा उप्रमुखमा गुटको स्वार्थ हावी हुने गरेको छ ।

हरेक स्थानीय तहको प्रमुखमा ४/५ जनाको दाबेदारी भएकाले उपयुक्त उम्मेदवार छनोट गर्नु र असन्तुष्टि व्यवस्थापन मुख्य चुनौती भएको कांग्रेसका नेताहरुले बताएका छन् । कतिसम्म भने सिमरा जितपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न पूर्वसांसद शोभाकर पराजुलीसहित १० नेताको दाबी छ ।अब हेर्न बाँकी छ कि कांग्रेस नेतृत्वलाई टिकट वितरण कसरी गर्छ र असन्तुष्टि कति मिलाउँछन् ।

कठिन लक्ष्य

भेलामा रिपोर्टिङ गर्ने क्रममा ८ वटै जिल्लाका सभापतिले टिकट वितरण सही ढंगले हुने र संशोधन भोटिङमा लैजाने हो भने अधिकांश स्थानमा जित्न सकिने बताएका छन् ।

एक सहभागीका अनुसार सप्तरीका सभापति दिनेश यादवले त सतप्रतिशत जित्ने दाबी गरेका छन् । जिल्लामा ६ नगरपालिका र ६ गाउँपालिका छन्, पछिल्लो समय सप्तरीमा माओवादी केन्द्रको अवस्था निकै विग्रिएको छ, जसको लाभ कांग्रेसलाई हुनेछ ।

तर, यादवले दाबी गरेको जस्तो जिल्लामा सत प्रतिशत जित्ने अवस्था नरहेको अन्य नेताहरु बताउँछन् । उनीहरु प्रदेश नम्बर २ का १२७ मध्ये १०० सिट जित्ने लक्ष्य कठिन भएको स्वीकार गर्छन् ।

एक नेताले भने, ‘कांग्रेस प्रदेशमा पहिलो पार्टी हुनेमा कुनै शंका छैन । तर, १०० सिट नै गाह्रो छ ।’

कम्तिमा आधा अर्थात ६० भन्दा बढी स्थानीय तह जित्नेमा भने कांग्रेसका धेरै नेता कार्यकर्ताको मत मिलेको देखियो । साथै उनीहरु राजपा चुनावमा गएको अवस्थामा ऊ दोस्रो हुने र माओवादी केन्द्र तेस्रो हुने बताउँछन् । उपेन्द्र यादवको संघीय समाजवादी फोरमप्रति भने एमालेप्रति जस्तै आक्रोश रहेको कांग्रेस नेताहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment