Comments Add Comment

सिटिजन्स इन्टरनेशनलको नाफा १ अर्ब २१ करोड, राइट ब्याक उच्च


६ साउन, काठमाडौं । गत आव २०७३/७४ मा सिटिजन्स इन्टरनेशनल बैंकको नाफा १२.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ८ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी भने ८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १२ करोड ५९ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ३५ करोड २८ लाख र बिदेशी मुद्राको कारोबारबाट बैंकले १८ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ९० करोड १३ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ३१ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशत रहेको छ भने प्रावधान १ सय ६१ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.४० प्रतिशत छ । तर प्रतिसेयर आम्दानी भने घटेको छ । प्रतिसेयर आम्दानी १७.४८ प्रतिशतमा सिमित छ । बैंकको सञ्चिती २ अर्ब ५२ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १३.८१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ११ प्रतिशतले बढेर ५२ अर्ब र कर्जा लगानी १८.५१ प्रतिशतले बढेर ४७ अर्ब पुगेको छ । बैंकको सीडी रेसीयो ७७.४२ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १६.९१ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा ३ अर्ब ११ करोड, ओभर ड्राफ्ट शीर्षकमा ११ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment