Comments Add Comment

भरतपुरको झोक ढल्केबरमा ! चिनिया कम्पनीले सबस्टेशनको काम रोक्यो

सुख्खायाममा लोडसेडिङ रोक्न चुनौति

६ साउन काठमाडौं । महोत्तरीको ढल्केबरमा २ सय २० केभिको सबस्टेशन निर्माण गर्ने जिम्मा लिएको चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले केही दिनदेखि काम रोकेको छ ।

आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजनालाई यसले प्रभावित तुल्याउने छ ।

प्राधिकरणले यसअघि यो सबस्टेशन अगष्टसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । धेरै काम सकिएको छ । तर केही दिनयदेखि भने कम्पनीले अघोषितरुपमा काम पुरै ठप्प पारेको प्राधिकरण स्रोत बताउँछ । यसको कारण भने कम्पनीले खुलाएको छैन ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यो कम्पनीले काम रोकेको भनेर अहिलेसम्म प्राधिकरणलाई जानकारी पनि गराएको छैन । अधिकारीले भने, ‘आधिकारिक रुपमा काम रोकेको भनेर हामीलाई कम्पनीले कुनै जानकारी गराएको छैन, तर हामीलाई अनौपचारिकरुपमा खबर आएको छ ।’

भरतपुरको रिस ढल्केबरमा

केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर-बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस भने सिसिपिजीले ढल्केबर सबस्टेशनमा पोखेको देखिन्छ ।

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ७५ किलोमिटरको यो प्रसारणलाइनमा करिब २ सय ४० वटा टावर निर्माण गर्नुपर्नेमा ठेक्का तोडिदासम्ममा यसले ७० वटा मात्रै टावरको निर्माण गरेको थियो । ठेक्का तोडेपछि ठेकेदार कम्पनी अदालत गएको छ । प्राधिकरण भने कम्पनीले राखेको धरौटी नै जफत गर्ने तयारीमा छ ।

समयमै सम्पन्न नभए के हुन्छ ?

समयमै सबस्टेसन बनाउन नसकेपछि प्राधिकरणले २२०/१३२ केभीको ट्रान्सर्फमर भाडामा लिएर भारतको मुजफ्फपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । बिद्युत आयात गर्नका लागि प्राधिकरणले मुजफ्फरपुरमा १ सय एमभिएका दुईवटा ट्रान्समिटर राखेको छ ।

ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फपुरमा ट्रान्सर्फमर राख्नुपर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ । ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन अहिले १ सय ३२ केभिमा चार्ज भइरहेको छ । यो प्रसारणलाइनमा २ सय २० केभीमा जार्च गर्नका लािग अहिले तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार अहिले यो प्रसारणलाइनबाट १ सय मेगावाट बिद्युत आयात भइरहेको छ । केहि समय अघिसम्म यही प्रसारणलाइनबाट १ सय ६० मेगावाटसम्म आयात भएको थियो । देशमा खोलानाला बढेपछि बिद्युत उत्पादन बढेको छ । जसका कारण प्राधिकरणले भारतबाट आयात हुने बिद्युतमा कमि ल्याएको हो ।

आउँदो हिउँदमा यो प्रसारणलाइनबाट करिब २ सय मेगावाटसम्म आयात गर्ने प्राधिकरणको लक्ष्य थियो । तर सबस्टेशनको निर्माण सम्पन्न नभएसम्म यो प्रसारणलाइनबाट थप बिद्युत आयात गर्न मिल्दैन ।

स्वदेशमा बिद्युतको माग बढि तर उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट आयात गरेर आफ्ना ग्राहकलाई बिद्युत उपलब्ध गराइरहेको छ । भारतबाट बिद्युत आयात नगर्ने हो भने देशमा लोडसेडिङ हटाउन सम्भव छैन ।

प्रत्येक वर्ष १० प्रतिशतका हिसाबले बिद्युतको माग बढ्दै जान्छ । यो वर्ष पनि बिद्युतको माग १० प्रतिशत बढ्यो भने करिब १५ सय मेगावाटको हाराहारीमा पुग्छ । आगामी वर्षमा यो माग पुरा गर्नको लागि यो वर्ष सम्पन्न हुने जलविद्युत आयोजनाले धान्न सक्ने स्थिति छैन । आगामी सुख्खा समयमा प्राधिकरणका आयोजनाले ३० मेगावाट भन्दा बढि विजुली थप्ने देखिदैन ।

निजी क्षेत्रले भने यो सुख्खा समयसम्ममा २ सय ५० मेगावाट बिद्युत थप्ने लक्ष्य लिएको छ निजी क्षेत्रबाट १ सय ५१ वटा जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

निर्माणाधिन अवस्थामा रहेका आयोजनाको कार्यप्रगति हेर्दा सुख्खा यामसम्ममा देशमा १ सय २५ मेगावाट थप हुने देखिन्छ । तर, यी आयोजनाहरु रन अफ दि रिभरहरु हुन् ।

सुख्खा समयमा यस्ता आयोजनाले एक तिहाई मात्रै बिद्युत उत्पादन गर्छन् । जसले गर्दा निजी र प्राधिकरणका आयोजनाबाट उत्पादित बिद्युतले अबको थप माग सम्बोधन गर्न सक्दैन । जसका लागि भारतबाटै ठुलो मात्रामा बिद्युत आयात गर्नुपर्नेछ ।

पूर्व उर्जामन्त्रीको चेतावनीपछि तातेको थियो कम्पनी

२०७२ सालमा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

गत भदौमा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सिसिपिजीले तत्कालै काम सुरु गरेको थियो । तर, अहिले पुन यसले काममा ढिलाई गर्ने छाँटकाँट देेखाएको छ । जसले गर्दा आगामी सिजनमा प्राधिकरणलाई ग्राहकलाई नियमित बिद्युत उपलब्ध गराउन चुनौतिपुर्ण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment