Comments Add Comment

राप्रपाले सरकारबारे निर्णय गर्न सकेन, संविधान संशोधनमा पनि अनिर्णित

६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले सरकारमा भाग लिने/नलिनेबारे निर्णय गर्न सकेन । साथै राप्रपाले संविधान संशोधनबारे पनि ठोस निर्णय गर्न सकेन ।

बैठकको अन्त्यमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा जाने नजानेबारे निर्णय गर्ने जिम्मा केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको बताए । राप्रपाले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर अघि बढ्ने कार्यदिशा लिएको थापाले बताए ।

उनले भने, ‘सरकारमा जानेबारे कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीबाट प्रस्ताव आएपछि पार्टीको नीतिलाई आधार मानेर कार्यसम्पादन समितिले उपयुक्त निर्णय गर्नेछ ।’

त्यसैगरी संविधान संशोधनका विषयमा राप्रपा सकारात्मक रहेको भन्दै राप्रपाले यस विषयमा पनि कार्यसम्पादन समितिले नै टुंगो लगाउने बताएको छ । संशोधनलाई लिएर पार्टीका केही सांसदको असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले भने, ‘यसलाई निराकरण गरेर पार्टीलाई एकतावद्ध बनाउने सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिलाई नै दिइएको छ ।’

असन्तुष्ट सांसदहरुसँग कुराकानी गर्ने भन्दै थापाले कार्यसम्पादन समितिले संशोधनको पक्षमा उभिने निर्णय गरे पार्टीको भोट एकठाउँमा आउने दाबी गरे ।

सरकारमा सहभागिताको विषय नटुंगिएका कारण संशोधनबारे पनि निर्णय नलिएको हो भन्ने प्रश्नमा थापाले सरकार र संविधान संशोधन अलग विषय भएको बताए ।

राप्रपाले धर्मनिरपेक्षता खारेज गर्दै हिन्दु राष्ट्र बनाउन माग गर्दै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई सहमतिमै अघि बढाउन पहल गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment