Comments Add Comment

यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित

६ साउन, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ ।

समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेटेको नेपालले ४ विकेटको जित हात पारेको थियो । तर, शुक्रबार दोस्रो भेटमा १६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो ।

घरेलु टोलीले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएका नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हार्दै गरेको नेपालााई जितर्फ डोहोर्‍याए ।

४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।

सिंगापुरका हंसुल दीपले सर्वाधिक ३२ रन बनाउँदा सिद्धान्तले २५, आर रोहनले २३ र सेन अग्रवालले २१ रन जोडे । युवराजको नाममा १९ रन रहृयो ।

सन्दिपले ४ विकेट लिँदा पवन सरार्फ र किशोर महतोले २-२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले १० ओभरमा २९ रन लिएर एक विकेट लिएका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ऐरीको अर्धशतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भए । आशिफ शेख पनि ७ रनमै आउट भए ।

चौथो नम्बर ब्याटिङमा आएका दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले ३५ रनको साझेदारी गरे सन्दिप २६ रनमा आउट भए । लगातार ३ खेलमा चल्न नसकेका उनले शुक्रबार सिंगापुरविरुद्ध भने ५५ बलमा २ चौका र १ छक्का हानेका थिए ।

पाँचौं विकेटका लागि दिपेन्द्र र रोहितकुमारले ४१ रनको साझेदारी गरे । रोहित १५ रनमा आउट भए । पवन सरार्फ मात्र २ रनमा आउट भए । सातौं विकेटका लागि प्रकाश केसीसँग १६ रनको साझेदारी गरेका ऐरी अर्धशतक बनाएर बाहिरिए । ८३ बलको सामना गरेका उनले २ चौका र २ छक्काको मदतमा ५४ रन बनाए ।

थप २४ रन जोड्दा नेपाल अलआउट भयो । प्रकाशले २३ रन बनाए भने सन्दिप लामिछोनेल ५ र ललित राजवंशीले १ रन बनाए । किशोर महतो १ रनमा नटआउट रहे ।

सिंगापुरका बीबी विक्रमले ३ विकेट लिँदा आहान गोपीनाथ आचार र आर्यमन सुनिलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment