Comments Add Comment

युवती कुट्ने ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, इन्सपेक्टर पनि कारवाहीमा

६ साउन, भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी इन्सपेक्टरलाई विभागीय कारबाही पनि भएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार अनलाइनखबरले प्रकाशित गरेपछि रुपन्देही प्रहरीले फास्ट ट्रयाकमा घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।

घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले अनलाइनखबरलाई जानकारी दिए । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको धानुकले जानकारी दिए ।

उनका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती निर्घात कुटिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए ।

यस काममा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतको सहभागीता थियो । उनीहरूले घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवलाई प्रहरीबाट छुटाएका थिए । गएराति साढे ११ बजे इन्नर यादवलाई प्रहरीले पुनः घरबाटै नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment