Comments Add Comment

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता मागिएको रिट निवेदन दरपीठ


६ साउन, काठमाडौं । मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गर्न माग गर्दै दिइएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । मुख्य रजिष्ट्रार नहकुल सुवेदीले राजनीतिक इस्यू भन्दै निवेदन दरपीठ गरेका हुन् ।

अधिवक्ता विनिता कार्कीले दिएको रिट निवेदनमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगलाई विपक्षी बनाइएको छ ।

संविधानमा स्थानीय तहमा महिलाको लागि ४० प्रतिशत र व्यवस्थापिका संसदमा ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । तर मन्त्रिपरिषदमा ‘समावेशी’ भन्ने शब्दमात्र प्रयोग गरिएको छ भने न्याय क्षेत्रमा यसबारे उल्लेख नै गरिएको छैन । राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्त लागू हुनुपर्छ भनेर रिट निवेदन दिइएको अधिवक्ता कार्कीले बताइन् ।

‘मन्त्रिपरिषदमा समावेशी मात्र भनिएको छ । यसको अर्थ ३३ प्रतिशत सहभागीता गराए पनि भयो, नगराए पनि भयो । यो त एकदमै हास्यास्पद कुरा भयो,’ कार्कीले भनिन्, ‘सबै निकायमा समावेशी समानुपातिक सिद्धान्त लागू हुनुपर्छ भनेर स्टेअर्डर मागेका छौं ।’

तर, रिट निवेदन सर्वोच्चले दरपीठ गरे पनि त्यसको आधार भने दिएको छैन । ‘दरपीठ गरे पनि त्यसको आधार दिनुभएको छैन । यो पोलिटिकल हो कि कानुनी या संवैधानिक प्रश्न हो भनेर फेरि बहस पैरवी हुन्छ,’ कार्कीले प्रश्न गरिन्, ‘संविधानको मौलिक हकमै व्यवस्था भएको कुरा कसरी पोलिटिकल इस्यू हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment