Comments Add Comment

भारतीय थिंक ट्यांकको निष्कर्षः नेपालको आन्तरिक राजनीतिमा चीनको प्रभाव


६ साउन, काठमाडौं । भारतको थिंक ट्यांक समूहले नेपालको आन्तरिक राजनीतिमा समेत चीनको प्रभाव देखिएको निष्कर्ष निकालेको छ । साथै उसले सीमा क्षेत्रका जनतासँग सम्वन्ध थप सुधार गर्न र नेपालमा भारतीय सहयोगमा निर्माणाधिन परियोजनाहरु समयमै सम्पन्न गर्न भारत सरकारलाई सुझाव समेत दिएको छ ।

भारत सरकारको थिंक ट्यांक मानिने ‘द अब्जर्भर रिसर्ज फाउण्डेसन’ले हालै मात्र ‘हिमालयन देशहरुसँग भारतको कनेक्टिभिटीः सम्भावना र चुनौतीहरु’ विषयक रिपोर्ट बनाएको छ ।

रिपोर्टमा नेपालको व्यापार, सुरक्षाका साथै आन्तरिक राजनीतिमा चीन हावी हुँदै गएको निष्कर्ष निकालिएको छ । ‘विगतका केही वर्षहरुमा नेपाल र चीनको सम्वन्ध अझै बढी रणनीतिक बन्दै गएको छ,’ रिपोर्टमा भनिएको छ, ‘पहिलो, दुई देशले धेरै द्विपक्षीय सम्झौताहरु गरेका छन् । नेपाल वान बेल्ट वान रोडमा हस्ताक्षर गर्न तयार भएको छ ।’

दोस्रो, चीनले नेपालमा समय, शक्ति, स्रोत र साधनको प्रयोग गरेर नेपालको नीति निर्माता मात्र नभएर उद्योगी, कर्मचारी र आम जनतामा पनि राम्रो छवी बनाउने प्रयास गरेको छ,’ उसले भनेको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ ।

सीमामा संयुक्त गस्ती बढाउन सुझाव

भुटानले भने चीनलाई भन्दा भारतलाई आफ्नो मुख्य सझेदार मानेको थिंक ट्यांकको रिपोर्टमा उल्लेख छ । तर, भुटानले बीबीआईएनबाट हात झिक्नु भारतकालागि चिन्ताको विषय भएको उसले बताएको छ ।

द अब्जर्भर रिसर्ज फाउण्डेसनले आफ्नो रिपोर्टमा दुई देशको सम्वन्धमा सीमा व्यवस्थापनले पनि ठूलो महत्व राख्ने भन्दै नेपाल-भारत सीमामा संयुक्त गस्ती बढाउन, सीमा क्षेत्रमा रहेका स्रोत साधनको स्तरोन्नती गर्न सुझाव दिएको छ ।

उदाहरणका लागि सीमा क्षेत्रमा बैंकिङ सेवा सुविधा उपलब्ध भए अनौपचारिक रुपमा हुने ब्यापारको आकार घटाउन सकिने उसले बताएको छ । साथै सीमा क्षेत्रमा बस्ने मानिसहरुलाई दुबै देशको कानुनी व्यवस्थाबारे जानकारी दिनु पर्ने उसको सुझाव छ ।

थिंक ट्यांकको रिपोर्टमा नेपालमा भारतीय सहयोगमा निर्मार्णधिन परियोजनाहरु समयमै सम्पन्न गर्न भारत सरकारलाई सुझाव समेत दिएको छ । साथै रेल र रोड कनेक्टिभिटीका साथै आकस्मिक सूचना आदान प्रदानमा पनि जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment