Comments Add Comment

अनुदानको बीउमा ठगिए गोरखाका किसान

हामीले होइन, समूहले बढी मूल्यमा बेचेको हुनसक्छः कार्यालय प्रमुख

६ साउन, गोरखा । जिल्ला कृषि बिकास कार्यालय गोरखाले अनुदानको मकैको बीउ महँगो मूल्यमा बेचेर किसानहरुलाई ठगेको खुलासा भएको छ ।

कार्यालयले लागत मूल्यको ७५ प्रतिशत छुटमा रामपुर कम्पोजिट र अरुण-२ जातको बीउ वितरण गरेको थियो ।

अनुदानको दुवै जातका बी किसानले बजारमा आफूखुशी खरिद गरे प्रतिकेजी ५५ रुपैयाँ पर्छ । तर, कार्यालयले भने प्रतिकेजी ८५ रुपैयाँमा खरिद गरेको भन्दै किसानहरुलाई ढाटेर बीउ बिक्री गरेको छ ।

बजारमा खुद्रा मूल्य प्रतिकेजी ५५ रुपैयाँ पर्ने उक्त मकैको बिउ ७५ प्रतिशत अनुदानमा लिँदा प्रति केजी करिव १५ रुपैयाँ पर्छ । तर, कार्यालयले भने २५ देखि ३५ रुपैयाँसम्म किसानहरुलाई बिक्री गरेको छ । ‘कार्यालयबाट १५ केजी अनुदानको बीउ किनेको थिएँ, ३२ रुपैयाँको दरले चार सय ८० रुपैयाँ लियो,’ मसेलका स्थानीय ढकनाथ बस्ताकोटीले भने ।

यता मसेलकै सिता भट्टले प्रतिकेजी ३० रुपैयाँमा १५ किलो अनुदानको बीउ किनेको बताइन् । ‘पोहोर साल त झन् प्रतिकेजी एक सय रुपैयाँ लिएका थिए, अहिले चै ३० रुपैयाँ लिए,’ उनले भनिन् ।

महँगोमा बीउ किनेपनि उत्पादन भने राम्रो नभएको स्थानीयको गुनासो छ ।

‘एक केजीको २५ रुपैयाँ तिरेर बीउ किन्यौं, तर उत्पादन भने सोचे जस्तो भएन,’ सिरानचोक गाउँपालिका-५ छोप्राककी सोफिया ज्ञवालीले भनिन् ।

कृषि कार्यालयले भने प्रतिकेजी ८५ रुपैयाँमा खरिद गरेकाले किसानहरुलाई २१ रुपैयाँ २५ पैसामा बीउ बिक्री गरेको जनाएको छ ।

एक केजी मकैको बीउमा करिव १० देखि १५ रुपैयाँसम्म नाफा खाएर कार्यालयले लाखौं रकम अनियमितता गरेको किसानहरु बताउँछन् ।

कार्यालयका कृषि प्रसार अधिकृत भवनाथ देवकोटाका अनुसार बाली बिकास र कृषि प्रसार कार्यक्रम तर्फ गरी कुल २४ मेटि्रक टन मकैको बीउ किन्न मन्त्रालयबाट १६ लाख ५० हजार रुपैयाँ आएको थियो । त्यस्तै बीउ ढुवानीका लागि दुई लाख रुपैयाँ आएको थियो ।

ढुवानी खर्चका लागि कार्यालयमा छुट्टै रकम आउने भएकाले किसानहरुले ढुवानी खर्च तिर्न नपर्ने बताउँदै आएपनि कार्यालयले भने किसानसँग ढुवानी खर्च समेत जोडेर बीउ बिक्री गरेको छ । कार्यालयले ठाउँ अनुसार फरक-फरक मूल्यमा किसानहरुलाइ अनुदानको मकैको बिउ बिक्री गरेको पाइएको छ ।

कार्यालयले गत वर्ष फागुन १५ देखि चैतको पहिलो हप्तासम्म गोरखाको मकै खेति हुने बिभिन्न ठाउँमा बीउ बिक्री गरेको थियो ।

जिल्लामा रहेका ६ वटा कृषि सेवा केन्द्र र ८ वटा कृषि सम्पर्क केन्द्र मार्फत मकैको बीउ बिक्री गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले कोटेसन आह्वान गरेर न्यूनतम दररेटमा टेण्डर पारेको दावी गरेपनि बजार भाउभन्दा करिव दोब्वर पर्ने गरी टेण्डर पारिएको हो ।

एक जना कृषकले चारदेखि १५ किलोसम्म बीउ किनेका छन् । एक केजीमा करिव दशदेखि १५ रुपैयाँ नाफा खाएको कार्यालयले २४ मेटि्रक टन बीउ बिक्रीबाट लाखौं अनियमितता गरेको छ ।

यता कार्यालयका प्रमुख याम कुमार श्रेष्ठले भने समूहलाई बिक्री भएको बीउ समूहले केही मूल्य बढी लिएर बिक्री गरेको हुनसक्ने बताए ।

‘हामीले ल्याएको मूल्य भन्दा बजार मूल्य कम हुन सक्छ तर हामीले रजिष्टर र्फमबाट ल्याउनुपर्छ उसले नै सबै मूल्य तोक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment