Comments Add Comment
मर्चबार घटनाको नयाँ पहेली :

मीनाले भनिन्- मेरै गल्तीले पिटाइ खाएँ, अरुलाई के मतलब ?

'प्रेमी'ले दिए बिहे नगर्ने वचन, भिडियोले बनायो विक्षिप्त

६ साउन, भैरहवा । रुपन्देहीको एक गाउँमा प्रेम गरेको निहुँमा परिवारका सदस्यले युवतीलाई निर्घात कुटपिट गरेको भिडियोले धेरैलाई तरंगीत बनायो । चौतर्फी आलोचनापछि स्थानीय प्रशासन पनि तात्यो र कुटपिटमा संलग्न ५ जनालाई हिरासतमा लिइयो ।

तर, घटनाको केन्द्रमा रहेकी पिटाइ खाने युवती मीना यादवलाई भने आफ्नो शरीरमा बर्सिएका चिर्पट र लात्तीमुड्कीले भन्दा बढी आफ्ना पितालाई प्रहरीले पक्राउ गरेकोमा चिन्तित बनाएको छ । मीनाले आफ्नै गल्तीका कारण पिटाइ खाएको भन्दै आफूलाई पिट्नेहरुको बचाउ गरेकी छिन् ।

पुरानो घटना साम्य भइसकेका बेला भिडियो एकाएक भाइरल बनेको र यसले आफूलाई दुःखी बनाएको मीनाको प्रतिक्रिया छ । साथै आफूलाई पिट्ने परिवारका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर अनावश्यक रुपमा ज्यान मुद्दा चलाएको भन्दै मीनाले थप दुःखमनाउ गरेकी छिन् ।

‘मेरै गल्तीले पिटाइ खाएँ, अरुलाई के मतलव ?’

घटनाबारे बुझ्न अनलाइनखबरकर्मी शुक्रबार रुपन्देहीको पश्चिम-दक्षिणी मर्चवार क्षेत्रमा पुग्दा पीडित युवती मीना उनकै घरमा भेटिइन् ।

वास्तवमा त्यो दिन के भएको थियो त ? मीनाले यसरी सुनाइन्-

‘त्यो दिन (असार १९ गते) घरमा कोही थिएनन् । बुबाआमा खेतमा जानुभएको थियो । त्यहीबेला केटा (दिनेश लोध) आयो । मैले उसलाई घरबाट जान पटक-पटक भनें, तर, उ मानेन । खेतमा जानुभएका बुबाआमा फर्किएर आउँदा उसलाई हाम्रो घरमा भेटेपछि कुट्न सुरु गर्नुभयो ।’

मीनाका अनुसार कुटपिट गरिरहेकै अवस्थामा प्रहरीले उनीहरुको उद्दार गरेको थियो । र, मीनाका बुबा इन्नर यादवलाई पक्राउ गरेको थियो । तर, थाना (इप्रका मर्चवार) मा मिलापत्र भयो ।

‘कागज गरी सहमतिमा हामी घर आएका थियौं, राम्रैसँग बसिरहेका थियौं’ मीनाले प्रश्न गरिन्- ‘तर, अहिले यतिका दिनपछि मेरा बुबालाई प्रहरीले किन पक्राउ गरेको ?’

१९ दिन पुरानो घटनाको भिडियो अहिले आएर भाइरल भएका कारण आफू तनावमा रहेको उनले सुनाइन् ।

आफूलाई पिट्ने बुबाको बचाउ गर्दै मीनाले भनिन्, ‘आफ्नी छोरीलाई कुट्नुभएको थियो, गल्ती गरेको हुनाले मैले बुबाको कुटाई खाएँ । यससँग अरुलाई के मतलब ? यसमा मेरा कुनै आफन्तको दोष छैन ।’

‘पैसा मागेको हैन, केटापक्षले आफैं दिएको’

मिलापत्रका क्रममा आफ्नो परिवारले केटा पक्षबाट एक लाख रुपैयाँ बुझेको हामीसँगको कुराकानीमा मीनाले स्वीकार गरिन् ।

मीना भन्छिन्- हामीले रकम देउ भनेर केटापक्षलाई भनेका थिएनौं, तर प्रहरी कार्यालयमा दिनेशले आफ्ना बुबासँग केटीका बुबालाई पैसा दिनुस् भन्दैथ्यो । अनि उनीहरु आफैंले मेरा बुबालाई पैसा दिएका हुन्, हामीले मागेका होइनौं ।’

दिनेश लोध भन्छन्- दुई लाखमा कुरा मिलेको हो

मीनाका कुरा सुनिसकेपछि हामीले उनका प्रेमी भनिएका दिनेश लोधलाई भेट्यौं ।

इप्रका मर्चवारमा भेटिएका उनले सुरुमा त कुराकानी गर्न चाहेका थिएनन् तर, पछि बोल्न तयार भए ।

दिनेशले मीना र आफ्नो प्रेम सम्वन्ध रहेको स्वीकार गर्दै असार १९ को घटना यसरी सुनाए-

‘म बाटामा हिँडिरहेका अवस्थामा उनले (मीना यादव) मलाई घरमा बोलाइन् । हामी घर बाहिर नै बसेर कुराकानी गरिरहेका थियौं । उनका बुबाआमा आएर गालीगलौच गर्न थाले । र, सबै मिलेर हामीलाई निर्घात कुटपिट गरे ।’

घटनास्थलमा पुगेका प्रहरीले आफूसहित मीना र उनका बुबालाई इप्रका मर्चवारमा ल्याएको र (मीना र दिनेश) दुबैजना छुटिट्ने शर्तमा सहमति भएर थुनामुक्त भएको उनले सुनाए ।

दिनेशले भने, ‘धेरै कुरा त थाहा छैन तर, मेरा बुबाले मीनाका बुबालाई २ लाख रुपैयाँ दिनुभएको छ ।’

दिनेशको बुबाले एक लाख दिइसकेका रहेछन् । तर, २ लाख दिने सहमति भएको रहेछ । दिनेशका बुबा श्याम लोधले पनि अहिलेसम्म एक लाख दिएको स्वीकार गरेका छन् ।

घटनाबारे सोध्नासाथ श्यामले भने, ‘मेरो छोराले कुटाइ पनि खायो र पैसा पनि तिर्नुपर्‍यो । यो कस्तो जमाना आयो ?

खेती किसानी गरेर जीवनयापन गर्दै आएका लोधले गाउँघरमा ऋण गरेर १ लाख रुपैयाँ केटीका बुबालाई दिएको सुनाए ।

उनका अनुसार युवती पक्षले सुरुमा ५ लाखको माग गरेको थियो । तर, एक लाख मात्रै भुक्तानी गरेर मिलापत्र भयो ।

जनप्रतिनिधिहरुले गाउँ समाजको समस्या आफैं मिलाउने भन्दै रिहा गराएर लगेको इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रमुख प्रहरी नायब निरीक्षक नरिश्वर अर्यालले बताए ।

दिनेशले बिहे गर्न नमानेपछि फेरियो युवतीको मन !

मीनाका प्रेमी भनिएका दिनेश फ्युचर स्टार इंग्लिस बोर्डिङ स्कुलका शिक्षक हुन् । मीना त्यही पढि्थन् । तर, झण्डै एक वर्षअघि उनले कक्षा ८ मै पढाइ छोडिन् ।

त्यही स्कुलमा रहँदादेखि दिनेश र मीना नजिकिए । उनीहरुवीच झण्डै एक वर्षदेखि प्रेम सम्वन्ध रहेको स्थानीय बताउँछन् ।

असार १९ गते मीनाको परिवारबाट दिनेश कुटिए । दिनेश दुई दिन र मीना ३ दिन प्रहरी हिरासतमा थुनिइन् । स्रोतका अनुसार प्रहरी हिरासतमा रहेका बेलामा मीनाले दिनेश सामू आफूलाई बिहे गर्न भनेकी थिइन् । तर, दिनेश विवाहका लागि तयार देखिएनन् ।

मीनाको अवस्था विक्षिप्त

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार केटा र केटीको परिवारबीच आर्थिक लेनदेनको सहमतिसँगै दिनेशले विवाह गर्दिनँ भनेपछि मीनालाई निकै चोट परेको छ ।

शायद आफ्ना पिताको चुटाइ भन्दा पनि दिनेशले दिएको ‘धोका’बाट उनी बढ्ता विक्षिप्त बनेकी हुन् ।

शायद यसैले हुनुपर्छ, मीना अहिले दिनेश र आफ्नो प्रेम सम्वन्ध रहेको स्वीकारसमेत गर्न गर्दिनन् ।

झन् आफूलाई कुटेको आरोपमा बुबासहित परिवारका ५ सदस्यमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको र भिडियो भाइरल भएको घटनाले उनी निकै विक्षिप्त अवस्थामा देखिन्छिन् ।

पारिवारिक घटनामा प्रहरीले आफ्ना पितालाई ज्यानमुद्दा चलाउन खोजेकोप्रति मीनालाई चित्त बुझेको छैन । उनी आफैंले गल्ती गरेका कारण पिटाइ खाएको भन्दै आफूलाई पिट्नेहरुमाथि कुनै कारवाही नहोस् भन्ने चाहन्छिन् ।

यो पनि पढ्नुहोस्

प्रेम गरेको भन्दै युवतीमाथि कुटपिट, जनप्रतिनिधिले युवकलाई तिराए एक लाख (भिडियोसहित)

युवती कुट्ने ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, इन्सपेक्टर पनि कारवाहीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment