Comments Add Comment

सीएनआईको कार्यक्रममा भवानी राणा ! मिल्लान् त महासंघ र परिसंघ ?


६ साउन, काठमाडौं । स्थापनाको १४ वर्ष पार गरेसँगै शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षलाई आफ्नो सार्वजनिक कार्यक्रममा स्वागत गर्दै अतिथि बनायो । सम्भवतः परिसंघका लागि महासंघका अध्यक्षलाई आफ्नो कार्यक्रममा स्वागत गर्ने यस्तो संयोग पहिलोपटक जुरेको हो ।

सीएनआईको स्थापना दिवशका अवसरमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा अतिथिका रुपमा पुगेकी हुन् । राणालाई सीएनआईका पदाधिकारीले हार्दिकतापूर्वक स्वागत गरे ।

झण्डै १४ वर्षको तिक्तता मेटाउने क्रममा रहेका यी दुई निजी क्षेत्रका अगुवा संगठनले पछिल्लो समयमा एक-अर्काको कार्यक्रममा उपस्थिति जनाउन सुरु गरेका छन् ।

महासंघबाट असन्तुष्ट बनेर बाहिरिँदै सीएनआई स्थापना गराएका विनोद चौधरीले महासंघको गत चैतमा भएको साधारणसभामा २० वर्षपछि सहभागिता जनाएका थिए । उनलाई पूर्वअध्यक्ष र फोब्र्सको अर्वपतिको सूचीमा परेका एकमात्रै नेपालीका रुपमा महासंघले सम्मान गरेको थियो ।

महासंघ र सीएनआईबीचको जुँगाको लडाइँ साम्य पार्ने क्रममा शुक्रबार सीएनआईको कार्यक्रममा महासंघ अध्यक्ष राणाले पनि सहभागिता जनाएकी छिन् । कार्यक्रममा राणाले अाफ्नो मन्तब्य पनि राखिन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समयमा निजी क्षेत्रले एउटै स्वरमा आवाज उठाउन थालेको भन्दै खुसी ब्यक्त गरे । उनले दुई संस्थाबीच मतभेद चिरिँदै गएको संकेत गर्दै निजी क्षेत्रको एकताले राम्रो सन्देश दिने उल्लेख  गरे ।

यसलाई उद्योगी ब्यवसायी पनि ‘ऐतिहासिक’ मान्छन् । विभाजित निजी क्षेत्रबीच मतान्तर घट्दै जानु र एकताको सन्देश पनि प्रवाह हुनुले भविष्यमा सकारात्मक प्रभावहरु देखिने विश्लेषण उनीहरुको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’को सहभागिता रहेको कार्यक्रममा निजी क्षेत्रको एकता झल्किने गरी महासंघ अध्यक्ष राणा पनि सहभागी भएकी छिन् ।

पशुपति मुरारकाले नेतृत्व नगर्दासम्म महासंघ र सीएनआई आफूलाई एक-अर्काका प्रतिस्पर्धी र प्रतिद्वन्द्वी संगठनका रुपमा चित्रित गरिरहेका थिए ।

मुरारकाले पहलकदमीमा संवाद र सहकार्यको यात्रा सुरु भएको अवस्थामा नयाँ अध्यक्षका रुपमा आएकी राणाले पनि त्यसलाई निरन्तरता दिने संकेत देखाएकी छिन् । कार्यक्रममा आमनत्रण गरेर प्रमुख बक्ताका रुपमा राणालाईस्थान दिएर दुई संस्थाबीच एकताको सन्देश दिन खोजेको छ ।

कसरी भयो सीएनआई गठन ?

०५२ सालसम्म नेपाल उद्योग वाणिज्य महासंघ एकतावद्ध थियो । त्यो वर्ष आफ्नो दोस्रो कार्यकाल दावी गर्दै विनोद चौधरी महासंघको अध्यक्षका रुपमा उठे ।

त्यसैकारण महासंघभित्र चरम गुटबन्दी र राजनीतीकरण मौलायो । अध्यक्षमा पद्म ज्योतिले पनि दावी गरे र उनले चौधरीलाई हराउँदै चुनाव पनि जितेर अध्यक्ष भए ।

त्यसपछि महासंघभित्रका विभिन्न कमजोरीलाई औल्याउँदै चौधरी अलग रहन खोजे । ०५४ सालमा आनन्दराज मुल्मीलाई अध्यक्ष जिताउन चौधरी महासंघका केही सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

त्यसपछि उनी महासंघबाट लगभग अलग नै भए । ०५९ सालमा चौधरीकै पहलमा समानान्तर संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) जन्मियो ।

संस्थागत रुपमा त्यसपछि लगातार यि दुई संस्थाबीच ध्रु्वीकरण रहिरह्यो । यसलाई धेरैले नेवारी र मारवाडी समुदायको धु्रवीकरणका रुपमा टिप्पणी गरे ।

औद्योगिक तथा ब्यापारिक सर्कलमा सबैभन्दा बढी हावी यी दुई समुदायबीचको टक्रावलाई ‘महासंघ’ र ‘सीएनआई’का रुपमा चित्रण गर्ने स्थिति आयो ।

बीचमा सरकारले उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघ सहित सीएनआईलाई पनि दिएपछि दुई संस्थाबीचको विवाद उत्कर्षमा पुगेको थियो ।

तर, पछि महासंघ र परिसंघसँगै सरकारले नेपाल चेम्बर आफ कमर्स र निकासी प्रवर्द्धन केन्द्रलाई पनि त्यो अधिकार दिएपछि विवाद साम्य भयो । तर, दुई संस्थाबीचको मतभेद चिरिन भने यसअघिका महासंघका अध्यक्ष पशुपति मुरारकाले विशेष भूमिका नै खेले ।

उनले विनोद चौधरीलाई महासंघका कार्यक्रममा २० वर्षपछि फर्काए र निजी क्षेत्रलाई एकतावद्ध गर्न भावी नेतृत्वले पहल लिनुपर्ने सन्देश प्रवाह गरे ।

त्यसकै प्रभाव स्वरुप दुई संस्थाबीचको चरम मतभेदको अवस्था फेरिएर एकताको यात्रा सुरु हुने संकेत देखिएको छ । तर, यी दुई संस्था भविष्यमा निजी क्षेत्रका सवालहरुमा एक ठाउँ उभिन सक्लान् त भन्ने प्रश्न पनि सँगसँगै छ ।

दुई संस्थाबीच मेल या तालमेल भने हुनै पर्ने निजी क्षेत्रसम्बघ उद्योगी ब्यवसायीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment