Comments Add Comment

पश्चिमाञ्चलका विद्यार्थीलाई छात्रवृत्ति वितरण

६ साउन, पोखरा । नेपाल सरकार मातहतको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले पश्चिमाञ्चलका विभिन्न जिल्लामा छात्रवृत्ति वितरण गरेको छ ।

प्रतिष्ठानका सदस्य ज्ञानेन्द्र पुन मगरका अनुसार कास्कीका ६ जनाले, नवलपरासीबाट ५ तथा गोर्खा र रुपन्देहीका ३-३ जनाले छात्रवृत्ति पाएका छन् । स्याङ्जा, पाल्पा र गुल्मीबाट २-२ तथा पर्वत, अर्घाखाँची, लमजुङबाट र तनहुँबाट १-१ ले छात्रवृत्ति प्राप्त गरेका छन् ।

गोरखा, लमजुङबाट र तनहुँका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न बाँकी छ । मनाङ र मुस्ताङबाट भने निवेदन नै नपरेका कारण उनीहरुलाई छात्रवृत्ति प्रदान नगरिएको प्रतिष्ठानका सदस्य पुनले बताए ।

यसैबीच, कास्की र पर्वतका शुक्रबार पोखरामा एक कार्यक्रम गरी छात्रवृत्ति प्रदान गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको कार्यकक्षमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बिएचएम अध्ययनरत ओम विकास पुन, वन क्याम्पसमा बिएससी अध्ययनरत जोन लोहमी नुप्पा र पश्चिमाञ्चल ईञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखरामा वि.ई.अध्ययनरत रञ्जितकुमार चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यस्तै, पृथ्वीनारायण क्याम्पस पोखरामा शिक्षा शास्त्र विभाग अन्तर्गत स्नातक अध्ययनरत दृष्टिविहीन छात्रा एकता गुरुङ, पृथ्वीनारायण क्याम्पसकै शिक्षा विभाग अन्तर्गत स्नातक तहमै अध्ययनरत सरस्वती राना र सोहि क्याम्पसको स्नातकोत्तर तहमा अध्ययरत दृष्टिविहिन छात्र विराजमान कुमाललाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थीलाई मेयर जिसीले रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा पर्वतकी लालमाया पुनलाई पनि मेयर जिसीले छात्रवृत्ति प्रदान गरेको प्रतिष्ठानका सदस्य मगर बताए ।

यसैगरी शुक्रबारै पाल्पामा छात्रवृत्ति प्राप्त गर्ने श्रद्धा श्रेष्ठ र दृष्टिविहीन चालबहादुर रासमगर, स्याङ्जामा आशिका लालचन र अनिशा आलेलाई पनि छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए ।

उनका अनुसार दश जोड दुई कक्षाकाले ६ हजार, स्नातक तहकाले ७ हजार, स्नातकोत्तर तहकाले ८ हजार, प्राविधिक शिक्षातर्फ दश जोड दुई कक्षाकाले १० हजार, स्नातक तहकाले ११ हजार, स्नातकोत्तर तहकाले १२ हजार, एमफिल तहकाले १५ हजार र विद्यावारिधी तहकाले २५ हजार छात्रवृत्ति पाउँछन् । यो पूरा छात्रवृत्ति नभई प्रोत्साहनका लागि दिइएको आंशिक छात्रवृत्ति मात्र भएको मगरले बताए ।

केन्द्रबाट छात्रवृत्ति प्रदान गर्ने यो नै अन्तिम पटक हो । अबदेखि स्थानीय तहबाटै छात्रवृत्ति वितरण हुने छ । चालु आर्थिक वर्षमा छात्रवृत्ति प्रदान गर्न कास्कीका ३ स्थानीय तहलाई ८ लाख ५० हजार बिनियोजन गरिसकिएको छ । पोखरा लेखनाथ महानगरपालिकालाई ३ लाख ५० हजार तथा माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकालाई ५०-५० हजार बिनियोजन गरेर रकम नै निकासा गरिसकिएको प्रतिष्ठानका सदस्य मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment