Comments Add Comment

प्रधानमन्त्रीले नबुझेको ‘कालो कानून’ विनोद चौधरीले यसरी बुझाए


६ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारसँग ‘कालो कानुन’ खारेज गर्न आग्रह गरे । तर कार्यक्रममा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले भने कालो कानुन भनेको बुझेनन् ।

मञ्चमै रहेका अर्बपति व्यवसायी विनोद चौधरीलाई देउवाले खुुसुक्क सोधे, ‘चौधरीजी यो कालो कानून भनेकोे के हो ?’

मन्तव्यको क्रममा चौधरी स्टेजमा आए र उनले केही समय कालो कानून अथ्र्याउनका लागि खर्चे । चौधरीले भने, ‘प्रधानमन्त्रीज्यु कालो कानून भनेको त्यो कानून हो जसले ब्यापारी सबै चोर हुन् भन्ने ठान्छ र कानून बनाउने सबै असल ।’

चौधरीले कैयन कानूनी जटिलताका कारण नै उद्योगधन्दामा लगानी गर्न कठिन भइरहेको उल्लेख गरे । साथै उनले केही कानूनले व्यवसायीहरुलाई गलत नजरले हेरेको दावी गरे । व्यवसायी र निजीमैत्री कानुनको अभाव रहेका कारण देशमा आवश्यक मात्रामा लगानी नभित्रिएको उनको तर्क छ ।

कार्यक्रममा उपस्थित रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कालो कानूनको विषयमा बोले ।

ओलीले आफ्नै शैलीमा भने, ‘लगानीमैत्रि वाताबरण बनाउनको लागि कानुनी अड्चन फुकाइने छ, कालो मात्रै होइन ढुक्क हुनुन् खैरो कानुन पनि अब रहनेछैन ।’

प्रचण्डले पनि व्यवसायीलाई लगानी गर्नबाट रोक्ने खालका काला कानुन हटाउन आफुले प्रयास गर्ने बताए । ‘देशभित्रको पुँजी भित्रै लगानी गर्न सके बाहिर हात फैलाउन पर्दैन, ढुक्क हुनुस् त्यसका लागि बाधक कालो कानुन हटनेछन् ।’

तीन शिर्ष नेताहरुलाई व्यवसायीहरुले लगानीमा रहेको जटिलताको बारेमा प्रष्ट्याउने प्रयास गरेका थिए । कानुनी जटिलताका कारण नै ब्यापार व्यवसाय गर्न कठिन भएको व्यवसायीहरुको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले जवाफमा भने, ‘कानूनी जटिलता छ भनेर मात्रै भएन, कहाँ-कहाँ जटिलता छ लिस्ट दिनुस् । त्यसलाई संसोधन र सच्याउन हामी तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment