Comments Add Comment

तीन शीर्ष नेताको एउटै बोलीः अब देश आर्थिक समृद्धिको दिशामा

६ साउन, काठमाडौं । लामो समयपछि शुक्रबार एउटै मञ्चमा देखिएका ठुला तीन राजनैतिक दलका शीर्ष नेताहरुले अब देश आर्थिक समृद्धिको दिशामा केन्दि्रत भएको बताएका छन् । संविधानलाई कार्यान्वयन गर्ने क्रममा भएको स्थानीय तहको चुनावले आर्थिक क्षेत्रमा समेत सुखद सन्देश प्रवाह गरेको उनीहरुको विचार छ ।

नेपाल उद्योग परिसंघको १४ औ वाषिर्क साधारणसभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह, प्रदेश र केन्द्रको चुनावपछि देशमा राजनीतिक रुपमा भएका सबै परिवर्तन स्थापित हुने बताए । त्यसपछि देश आर्थिक समृद्धिको दिशामा अघि बढ्ने उनको भनाइ छ ।

‘अब देशमा राजनैतिक मुद्धाको अन्त्य भएको छ र देश पुर्णरुपमा आर्थिक परिवर्तनमा केन्दि्रत हुनेछ,’ देउवाले भने । उनले देशमा उत्पादनमुलक उद्योगहरुको स्थापना गर्नुपर्नेमा जोड दिए ।

देउवाले भने, ‘देश आर्थिक बिकासमा केन्दि्रत भएको छ, ढुक्क भएर लगानी गर्नुस् ।’

सोही कार्यक्रममा उपस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अब सम्पूर्ण राजनीतिक दलहरु आर्थिक मुद्दामा केन्दि्रत हुनुपर्ने बताए ।

नेपालका दुई छिमेकी देशमा नेपालमा उत्पादित बस्तुको ठुलो बजार रहेको उनको भनाई छ । उनले भने ‘हाम्रा छिमेकी राष्ट्रमा ठूलो बजार छ, हामीले उत्पादन गरेर त्यहाँ बेच्न सक्छौ । भारत र बंगलादेशमा सिमेन्ट निर्यात गर्न सक्छौँ किनकी सिमेन्टका लागि आवश्यक पर्ने ढुंगा भारतमा होइन धेरै नेपालमै छ ।’

देश रेमिट्यान्सको भरमा चल्न नहुने उनलेउ बताए । लगानीका लागि बिदेशीको मुख ताक्न नहुने र देशका युवा विदेशमा पठाउन नहुने उनको भनाई छ । ओलीले थपे, ‘अब हामी सबै आर्थिक समृद्धिमा केन्दि्रत भएका छौ । अब हामीले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नु पर्दछ ।’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि देश आर्थिक रुपमा परिवर्तनको संघारमा रहेको बताए । उनले भने, ‘राजनीतिक परिवर्तनका लागि धेरै लड्यौ अब हामी सबै आर्थिक समृद्धिमा ध्यान केन्दि्रत गरौं ।’

उद्योगीले मागे तीन हजार विघा जग्गा

सिएनआईका अध्यक्ष हरिभक्त शर्माले उद्योगीहरु सातै प्रदेशमा ठुला उद्योग खोल्न तयार रहेको बताएका छन् । साथै उनले यसका लागि सरकारसँग आवश्यक सहयोग पनि मागेका छन् ।

एक प्रदेशमा तीन हजार बिघाभन्दा भन्दा धेरै जग्गामा खुल्ने यस्ता उद्योगका लागि सरकारले जग्गा उपलब्ध गराउन पर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भने व्यवसायीहरु लगानी गर्न तयार भए सरकारले आवश्यक वाताबरण तयार गर्दै ३ हजार बिघा जग्गा पनि उपलब्ध गराउन तयार रहेको आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment