Comments Add Comment

स्रोतसाधन अभावको गुनासो गर्ने प्रहरीको ५१ करोड फ्रिज

७ साउन, काठमाडौं । सधैँ स्रोतसाधन अभावको गुनासो गर्ने नेपाल प्रहरीको गत आर्थिक वर्ष ०७३/७४ मा ५१ करोड बजेट फ्रिज भएको छ ।

संगठनका लागि आवश्यक स्रोतसाधन खरिदको निर्णय गर्न नसक्दा बजेट फिर्ता भएको छ । गत आर्थिक वर्षमा प्रहरीले भिड नियन्त्रणका सामान मात्र होइन, पोसाकसमेत खरिद गर्न सकेन ।

निर्वाचनका लागि दिएको ४० करोड फिर्ता प्रहरीलाई दिइएको ५१ मध्ये ४० करोड रुपैयाँ स्थानीय तहको निर्वाचन सुरक्षाका लागि थियो । २ नम्बर प्रदेशमा चुनाव सरेपछि ४० करोड फ्रिज भएको छ ।

त्यसबाहेक ११ करोड प्रहरीमा कम्प्युटरको ओराकल सिस्टम लागू गर्न आएको थियो । तर, टेन्डर रद्द भएपछि सो बजेट पनि फिर्ता भएको छ । यसबाहेक पनि खर्च हुन नसकेको थप बजेटसमेत फ्रिज भएको स्रोत बताउँछ ।

त्यस्तै, प्रहरीको पोसाक खरिदका लागि विनियोजित ४० करोड रुपैयाँ पनि प्रहरीले गत आर्थिक वर्षमा खर्च गर्न सकेन । सो रकम प्रहरी मुख्यालयले रकमान्तर गरेर रासनभत्तामा खर्च गरेको थियो । रासनभत्ताका लागि सरकारले छुट्टै बजेट छुट्याए पनि पोसाक खरिदको टेन्डर रोकिएपछि रकमान्तर गरेर खर्च गरिएको हो । समय अभाव र प्रक्रिया नमिल्दा बजेट खर्च गर्न नसकिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।

यो वर्ष ३१ अर्ब बजेट आर्थिक वर्ष ०७४/७५ का लागि सरकारले नेपाल प्रहरीलाई ३१ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अघिल्लो आवमा २५ अर्ब उपलब्ध गराएको थियो । प्रहरीमा पाँच हजार दरबन्दी थप भएकाले पनि बजेट थपिएको हो ।

त्यस्तै, पनौतीमा निर्माण गर्न लागिएको प्रहरी एकेडेमीका लागि तीन अर्ब बजेट छ । भारत सरकारले निर्माण गर्ने सम्झौता भए पनि एकेडेमीको काम रोकिँदै आएको छ । पछि शोधभर्नाबाट मिलाउने गरी सरकारले बजेट दिएको हो । त्यस्तै, पोसाक खरिदका लागि मात्र एक अर्ब बजेट छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment