Comments Add Comment

खानेपानी मन्त्रालयका सचिव भन्छन्- केयूकेएलभित्रको विकृति बयान गरिसाध्य छैन

'सञ्चालकले हावा बेचेर कुस्त सुविधा लिए'


७ साउन, काठमाडौं । सरकारले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को सञ्चालक समितिमा अब खानेपानी मन्त्रालयका सचिवलाई नै पठाएको छ ।

शुक्रबार खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयका सचिव र बरिष्ठतम् सह-सचिवलाई केयूकेएलको बोर्डमा पठाउने निर्णय गरेका हुन् ।

यसअघि बोर्डमा मन्त्रालयका सह-सचिव र उपसचिवले प्रतिनिधित्व गर्ने गरेका थिए ।  यो निर्णय भएको भोलिपल्ट शनिबार नै केयूकेएललाई सुधार्न नसकिएको भन्दै खानेपानी सचिव भीम उपाध्यायले फरि असन्तुष्टी पोख्दै केयूकेएलको सञ्चालक समितिमा भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् ।

आर्थिक रुपमा शिथिल बनेको केयूकेएलबाट यसका सञ्चालकहरुले कुस्त सुविधा लिएको भन्दै सचिव उपाध्यायले फेसबुकबाटै रोष प्रकट गरेका हुन् ।

निरन्तर घाटामा चलिरहेको केयूकेएलबाट सञ्चालकहरुले मनमौजी आर्थिक सुविधा लिइरहेको भन्दै सचिव उपाध्यायले सञ्चालक समितिको नैतिकतामाथि नै प्रश्न उठाएका छन् ।

‘गरिब केयूकेएल निरन्तर घाटामा चलेको संस्थालाई सबैले कमाउने भाँडो बनाएको त हुँदै हो, यसमाथि सञ्चालकहरुले पनि लाजशरम पचाएर मरितुल्य संस्थाबाट थप आर्थिक सुविधा लिइरहेका रहेछन्’ सचिव उपाध्यायले फेसबुक स्ट्याटसमा लेखेका छन् ।

सचिव उपाध्यायका अनुसार, केयूकेएलका सञ्चालकहरुले मासिक रुपमा पारवहनबापत ५ हजार, सञ्चार भत्ता १ हजार ५ सय र सञ्चालक समितिको प्रति बैठक भत्ता २५ सय लिँदै आइरहेका छन् ।

हावा बेचेर कुस्त सुविधा लिने ?

काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनको दायित्व बोके पनि प्रभावकारी सेवा दिन नसकेर आलोचित हुँदै आइरहेको केयूकेएल सञ्चालक समितिमाथि सचिव उपाध्यायले हावा बेचेर कुस्त सुविधा लिएको आरोप लगाएका छन् ।

‘जनतालाई हावा बेचेवापत जरिवाना गाभ्दै लाखौं बक्यौताको बोझ बोकाउँदै सरकारलाई तिर्नुपर्ने लीज फी नतिर्ने, महसुल आयोगलाई पैसा नतिर्ने बक्यौता उठाउन र लिक नियन्त्रण गर्न कुनै प्रयास नगर्ने र सरकारले समन्वय बैठक बोलाउँदा बहिष्कार गर्ने विकृति र अराजक अनियमितताको बयान गरिसाध्य छैन’, सचिव उपाध्यायले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment