Comments Add Comment

चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ ।

सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो ।

शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको सबै भन्दा विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसीले शुक्रबार रातभर नाचगानसहित जाग्राम नै बसेका थिए ।

टिपतालादेखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा रु तीन करोड बढी खर्च भएको छ । राज्यको भन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिए । उनका अनुसार दुई करोड ५० लाख बालुङ समाजले संकलन गरेको थियो ।

यस्तै सांसद विकास कोष र साविकको गाविस समेतको गरी ५३ लाख रहेको छ । ओलाङचुङ्गोलामा जन्मिएर देश तथा विदेशमा बसोवास गर्दै आउनुभएका बालुङहरुले सडक निर्माणका लागि सहयोग गरेका हुन् । उपभोक्ता समितिले सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ ।
यता २०६६ साल देखि सुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण कार्य भने फक्ताङ्लुङ गाँउपालिकाकको तापेथोकमा पुगेको छ । हाल सम्म ४१ किलोमिटर ट्रयाक खोलिएको छ भने बाँकी ३५ किलोमिटर ट्रयाक खुले ओलाङ्चुङगोला संग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिने छ ।
उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले यो सडक निर्माणका लागि सरकारले यो वर्ष ६० करोड रुपैँया विनियोजन गरेको र वहु वर्षिय ठेक्कामा लगाउने निर्णय भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment