Comments Add Comment

साझा बसको सेवा काभ्रेको साँगासम्म विस्तार, स्थानीय उत्साहित


८ साउन, काठमाडौं । साझा यातायातले मिनी बसहरुको एकाधिकारलाई तोड्दै साझा यातायातले काभ्रेको साँगासम्म ठूला बसमार्फत सेवा थालेको छ । अब साँगासम्म साँघुरा बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

लामो समयदेखि साझाको सेवा कुरिरहेका भक्तपुरका स्थानीयले जेठ १० बाट साझाको सेवा पाउन सुरु गरेका थिए । अब भक्तपुरसम्म जाने साझाका ६ वटा बसले साँगासम्म नै सेवा दिनेछन् ।

साझाका २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्छन् । त्यसमैभये ६ वटा बसलाई साँगासम्म सञ्चालन गर्न रुट मागिएको थियो । रुट पाएपछि बिहीबारबाट औपचारिक रुपमा सेवा थालिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले अनलाइनखबरलाई बताए ।

दुई हप्ताअघि नै काभ्रेका स्थानीय जनप्रतिनिधिले साँगसम्म बस सञ्चालन गर्ने गरी उद्घाटन गरेका थिए । तर, यातायात ब्यवस्था विभागबाट बिहीबार मात्रै साझाले रुट अनुमति पाएको हो ।

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वर, नयाँबाटो, भक्तपुरको सूर्यवनायक चोक हुँदै साँगासम्म पुग्नेछ ।
साँगाबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएको छैन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले साँगासम्म साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment