Comments Add Comment

‘प्रकृतिको कुचिकार’ का १७ पोज (फोटो फिचर)

८ साउन, काठमाडौं । गिद्धलाई धेरैले ‘अशुभ’ मान्दछन् । तर, यो मानिसको सहयोगी पंक्षी हो । सिनो खाइदिएर यसले वातावरण सफा राख्न मद्दत गर्दछ । त्यसैले गिद्धलाई प्रकृतिको कुचिकार समेत भनिन्छ ।

नेपालमा हिमाली गिद्ध, डंगर गिद्ध, हाडफोर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, राज गिद्ध, सुना गिद्ध, लोमो डुडे गिद्ध र खैरो गिद्ध गरी ९ प्रजातिका गिद्ध पाइन्छन् ।

६ प्रजातिका गिद्ध नेपालमै गुँड बनाएर बस्छन् भने अन्य तीन प्रकारका गिद्ध हिउँदको समयमा बसाईं सराईं गरेर नेपाल आउँछन् ।

नेपालमा सबैभन्दा धेरै हिमाली गिद्ध पाइन्छन् । नेपाल पंक्षी संरक्षण संघ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कोषले गरेको अध्ययन अनुसार नेपालमा हिमाली गिद्धको संख्या १० हजार छ । तराईतिर प्रायजसो देखिने डंगर गिद्ध हो ।

गिद्धको मुख्य आहारा भनेकै सिनो हो । गाई बस्तुको उपचारका लागि प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिका कारण गिद्ध संकटमा परेका थिए । डाइक्लोफेनेक प्रयोग भएका गाई बस्तुको सिनो खाँदा गिद्ध पनि मर्न थालेपछि नेपाल सरकारले २०६३ जेठ २३ गतेदेखि डाइक्लोफेनेकको आयातमै रोक लगाएको छ ।

डाइक्लोफेनेक बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई ५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । नेपाल सरकारले समुदायमा आधारित बिभिन्न कार्यक्रम सञ्चालन गरेर गिद्ध संरक्षणको काम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले यसलाई अति संकटापन्नको सूचीमा राखेर संरक्षण गर्दै आएको छ । सन् २००२ देखि २००९ सम्म गिद्धको संख्यामा ९१ प्रतिशतले गिरावट आएको थियो । तर, संरक्षणको क्षेत्रमा काम हुन थालेपछि संख्या घट्ने क्रम रोकिएको पंक्षी संरक्षणको एक अभियन्ता कृष्ण प्रसाद भुसालले बताए ।

नेपालमा गिद्ध संरक्षणका लागि नवलपरासी र सुनसरीमा ‘जटायु रेष्टुरेन्ट’ स्थापना गरिएको छ । त्यहाँ गिद्धको आहाराको रुपमा सिनो लगेर राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment