Comments Add Comment

सिड्नीमा फेरि नेपथ्य ‘उत्सव’

२३ जुलाई, सिड्नी । ‘शो’ हुनु अगावै लुना पार्कको ‘बिग टप अडिटोरियम’का सम्पूर्ण टिकट बिकेर हल खचाखच थियो ।

तीन हजार दर्शकले भरिभराउ सभागृहमा प्रत्येक ब्यक्ति नेपथ्यसँग झुम्न तयार थियो भने हरेकका अनुहारमा लोकभाका टिपेर हिँड्ने ब्याण्डले यसपाला के-के कोशेली बोकी ल्याएको छ भन्ने उत्सुकता देखिन्थ्यो ।

‘नेपथ्यको लागि सिड्नी असाध्यै आत्मीय सहर रहँदैआएको छ,’ कन्सर्ट सकिएपछि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘यो चौथो पटक थियो र हरेक चोटी यहाँ बसोबास गर्ने नेपालीहरुले देखाएको मायाले त्यो अपनत्व अझ बढेको महशुस गराउँछ ।’

प्रत्येक वर्ष नेपथ्यको उपस्थितीलाई सिड्नीवासीले आफैँमा उत्सव जस्तो मनाएको देख्दा आफू यस स्थानका प्रति ऋणी बन्नपुगेको समेत गुरुङले उल्लेख गरे ।

अष्ट्रेलियाको तीनवटा सहरहरुमा श्रृंखलाबद्ध प्रस्तुती बोकेर हिँडेको नेपथ्यले सिड्नी कन्सर्टसँगै यस वर्षको यो मुलुकको यात्रा सम्पन्न गरेको छ । अब भने ब्याण्ड आफ्नो सांगीतिक जीवनकै पहिलो यात्रा अन्तर्गत प्रशान्त महासागरकै अको महत्वपूर्ण मुलुक न्यूजिल्याण्डतर्फ जानेछ ।

जुलाई ५ तारिखका दिन अष्ट्रेलिया अवतरण गरेको नेपथ्यले पहिलो प्रस्तुती मेलबर्नमा दिएको थियो । त्यसपछि अझ दक्षिणवती सहर एडिलेडको यात्रा सकेर ब्याण्ड उसको सदैवझैँ अपार दर्शक माया स्वीकार्न सिड्नी आइपुगेको थियो ।

सहरको विश्वप्रसिद्ध हार्वर बि्रजको छेवैमा पर्ने विशाल दर्शक क्षमताको लुनापार्कमा शनिबार नेपथ्यले फेरि आफ्ना गीतहरु मार्फत श्रोताको मनमा कब्जा जमाउन सफल भएको छ ।

‘यो समेत गरेर नेपथ्यलाई स्वागत र उसको कार्यक्रम आयोजना गर्न पाएको हाम्रो तेश्रो अनुभव हो,’ आयोजक म्याग्दी ओभरसिजका हरि राम्जाली भन्छन्, ‘नेपथ्यका साथमा भब्यताका साथ कार्यक्रम सफल पार्न पाउँदाको आनन्द जहिले पनि उत्साहजनक हुने गर्छ ।’

‘जब-जब नेपथ्य सिड्नी आउँछ, हरेकपटक उसको आफ्नै पछिल्लो रेकर्डलाई तोड्ने गरेको छ,’ आयोजक समूहकै मुक्ति रोका भन्छन्,’सन् २००८ मा युनिभर्सिटी अडिटोरियमको प्रस्तुतीमा १२ सय दर्शकबाट सुरु भएको ब्याण्डले दोश्रो पटक २०१२ को बेला सिड्नी टाउनहलमा २२ सय दर्शक पाएको थियो । लुना पार्कमै २०१५ मा २६ सय दर्शक जुटाएको ब्याण्डले यसपाला भने तीन हजार दर्शकलाई समेट्न सफल भएको छ ।’

सदाझैँ यसपाला पनि नेपथ्य स्वादको आनन्द लिँदै हरेक उमेर र हरेक समूहका मानिस एउटै हलभित्र जम्मा भएका थिए-नाचेका थिए ।

‘यो समेत गरेर नेपथ्यको कन्सर्ट लगालग तेश्रोपटक सिड्नीमा हेर्न पाएँ,’ दर्शकमध्येकै सुशिला शेरचन भनिरहेकी थिइन्, ‘अमृत दाइले हामीलाई कहिल्यै पनि निराश पार्नेगर्नुभएको छैन ।’

अष्ट्रेलियामा बसेर अध्ययन गरिरहेका विद्यार्थीबाहेक यहाँ सपरिवार बसोबास गर्दैआएका थुप्रै पारिवारिक समूह पनि कन्सर्टमा देखिन्थ्यो । सबैका रोजाइमा विविध स्वाद भएता पनि अमृतले दिनेगरेको एकता र राष्ट्रियताका सन्देशहरुले सबैलाई छोएर एकाकार बनाएको थियो ।

‘यो त भब्य मात्र नभएर गजबले मोहनीसमेत लगाउने कार्यक्रम पो भयो,’ विजय मल्ल भनिरहेका थिए, ‘यहाँ आयोजना हुने कुनै पनि नेपाली कार्यक्रममा सहभागीता नजनाउने मेरो यो पहिलो नेपथ्य कन्सर्ट अनुभव थियो ।’

परिवारसहित आएको बेलामा यसलाई छोराहरुले पनि उत्तिकै मनपराएको देख्दा असाध्यै खुशी लागेको पनि मल्लले सुनाए ।

कन्सर्टमा नेपथ्यका सदाबहार लोकपि्रय गीतहरु बाहेक ब्याण्डले भर्खरै रेकर्ड गरेका गीतहरु पनि प्रस्तुत गरिएका थिए । नयाँ गीत भएतापनि स्टेजबाट आइरहेको आवाजसँगसँगै दर्शकहरुले पनि गाउँदै र नाच्दै निरन्तरता दिएको देखिन्थ्यो ।


‘नेपथ्य अब सांगीतिक कन्सर्टमा मात्र सीमित नरहेर समयसँगै जमघटको उत्सवमय अवसर बन्दैगएको छ,’ ब्याण्डको प्रवर्द्धक तथा प्रस्तुतकर्ता नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीसँग जेजस्ता साधन र श्रोत छ त्यसको अधिकतम प्रयोग गरेर प्रत्येक शोलाई अविस्मरणीय बनाउने प्रयत्न गर्छाै । त्यसैको प्रतिफलमा हिजो राती बिग टप अडिटोरियम भित्रका सम्पूर्ण दर्शकहरु अपार उत्तेजनामा एकसाथ डुबेका देखिन्थे । ’

स्टेजमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

‘नेपथ्य स्थापनाको रजत महोत्सव मनाउने क्रममा आयोजित पहिलो विदेश यात्रा अपार सफलताका साथ सम्पन्न भएकामा हामी असाध्यै खुशी छौं,’ अमृत भन्छन्, ‘अब न्यूजिल्याण्डस्थित हाम्रा शुभचिन्तकहरुसँग जम्काभेट गर्न तीब्र छटपटी सुरु भएको छ ।’

प्राकृतिक सम्पदामा अनौठो वन्यजन्तु पाएकै कारण ‘किवीको देस’ भनेर चिनिने न्यूजिल्याण्डको अकल्याण्ड सहरमा नेपथ्य जुलाइ २८ तारिखका दिन स्काइ सिटी थिएटरमा प्रस्तुत हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment