Comments Add Comment

नयाँशक्ति र फोरमको एकता भाँडियो, बाबुराम भए ‘ब्याक’

शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश

८ साउन, काठमाडौं । नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आयोजित छलफलमा सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।

‘फोरमसँगको एकता वार्ता सफल हुन सकेन,’ नयाँशक्ति पार्टीका एक नेताले अनलाइनखबरसँग भने, ‘वार्ताको ढोका बन्द नगरिए पनि अब तत्काल उहाँहरुसँग पार्टी एकता नहुने निश्कर्षमा पुगिएको छ, एजेण्डामा संयुक्त मोर्चा बनाएर चाहिँ अघि बढ्न सकिन्छ ।’

नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा. बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् । आइतबारको छलफलपछि डा. भट्टराईसमेत अब एकता नगरौं भन्दै ‘ब्याक’ फर्केको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘हिजोसम्म उहाँ जसरी पनि एकता गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो, आज फोरम नेताका कुरा सुनेपछि पछि सर्नुभयो,’ नयाँ शक्तिका नेताले भने-‘ पार्टीभित्रका बहुमत साथीहरु यथास्थितिमा उपेन्द्र यादवसँग एकता गर्नुहसँदैन भन्ने पक्षमा उभिएकाले पनि डा. भट्टराई अघि बढ्न सक्नुभएन ।’

पार्टीको नामदेखि पदाधिकारीसम्म कुरो मिलेन

नयाँशक्ति पार्टी र फोरममा नेताहरु आइतबार बाबुराम भट्टराईको निवासमा पार्टी एकताका लागि छलफलमा जुटेका थिए । त्यहाँ फोरमका नेताहरुले एकीकृत पार्टीको नाममा ‘संघीय समाजवादी फोरम’ तीनवटै पदावली छाड्न मानेनन् । त्यो नाममा नयाँशक्ति समेत थप्दा नाम असाध्यै लामो हुने भयो ।

यसैक्रममा बाबुराम पक्षले सुरुमा ‘नयाँ समाजवादी फोरम’ नाम राखेर एकता गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । तर, उपेन्द्र पक्षले यो प्रस्ताव पनि नमानेको स्रोतको भनाइ छ ।

नामका साथै पदाधिकारी कति राख्ने भन्नेमा पनि यादव र भट्टराई समूहवीच कुरा नमिलेको नयाँ शक्तिका नेताको भनाइ छ । उपेन्द्र पक्षले हाल सबैलाई समेटेर जम्बो पदाधिकारी बनाउने प्रस्ताव अघि सारेको थियो भने भट्टराईपक्षले त्यसो गर्दा माओवादी केन्द्रको जस्तो भद्रगोल हुन्छ भन्दै सानो कामकाजी केन्द्रीय नेतृत्व बनाइनुपर्ने प्रस्ताव गरेको थियो ।

एकतापछि पार्टीको मुख्य नेता कसलाई बनाउने र अधिकारको विन्यास कसरी गर्ने भन्नेमा पनि दुई पार्टीवीच कुरो नमिलेको नेताहरुले बताएका छन् ।

नेतृत्वको सवालमा बाबुराम भट्टराई लचिलो हुँदै उपेन्द्रलाई नेता मानेर अघि बढ्न तयार देखिएका थिए । तर, नयाँशक्तिभित्रका अरु नेताहरुले उपेन्द्रको ‘हाइट’ नपुग्ने भन्दै असहमति जनाएका थिए ।

उपेन्द्रलाई अध्यक्ष र बाबुरामलाई संयोजक मानेर जान सकिने नयाँशक्ति पक्षको स्वीकारोक्ति भए पनि उपेन्द्र यादवले कार्यकारी अधिकार आफैंमा निहीत गर्न जोड गरेपछि सहमति टाढिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार बाबुरामले हदैसम्म लचिलो भएर एकताको प्रयास गरेका थिए । तर, उपेन्द्र यादवको कठोरपनले गर्दा डा. भट्टराईको प्रयास सफल हुन सकेन । नयाँशक्ति पार्टीभित्र पनि बहुमत नेताहरु पार्टी एकताको विपक्षमा उभिएको स्रोतले बतायो ।

एकता वार्तापछि नयाँ शक्तिका एक नेताले भने- ‘उपेन्द्रजीहरुमा दुई नम्बर प्रदेशभन्दा माथि उठेर सिंगै देशका लागि सोच्न सक्ने दृष्टिकोण पाइएन । उहाँहरु संकीर्ण क्षेत्रीय सोचभन्दा माथि उठ्न नसकेकाले उपेन्द्रको नेतृत्वमा वैकल्पिक राजनीतिक धार बनाउन नसकिने देखियो ।’

बाबुरामकै नेतृत्वमा बैकल्पिक पार्टी बनाउने निश्कर्ष

उपेन्द्र यादवसँगको एकता वार्ता असफल भएपछि आइतबार साँझ डा. भट्टराईकै निवासमा नयाँ शक्तिपार्टीका शीर्ष नेताहरु अनौपचारिक बैठकमा जुटेका थिए । सो बैठकले अहिलेकै अवस्थामा उपेन्द्र यादवलाई नेता मानेर वैकल्पिक राजनीतिक अघि बढ्न नसक्ने निश्कर्ष निकालेको छ ।

सो आन्तरिक छलफलमा डा. भट्टराईले पनि अब पार्टीका बहुमत साथीहरुको मतको कदर गर्दै तत्काल पार्टी एकताको छलफलबाट पछि हट्ने बताएका थिए ।

अब नयाँ शक्ति पार्टीले साउन ९ र १० गते राजधानीमा कार्यकारी समितिको बैठक बोलाएको छ । त्यस्तै ११ र १२ गते संघीय परिषदको बैठक बोलाइएको र सो बैठकले २ नम्बर प्रदेशको चुनावी रणनीतिका साथै पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गर्ने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment