Comments Add Comment

भक्तपुरका मिनिबस सञ्चालकले भित्र्याए ठूला बस, साझासँग प्रतिस्पर्धा

९ साउन, काठमाडौं । केहीअघिसम्म सार्वजनिक यातायातमा भक्तपुरको यात्रा निकै कष्टकर हुन्थ्यो । ५० वर्ष पुराना ‘हिप्पी’ बस वा मिनिबसमा सिट नै पाइहाले पनि अगाडिको सिटमा घुँडा ठोक्काउनु, नभए उभिएर यात्रा गर्नुको विकल्प थिएन ।

२० वर्ष पुराना गाडी गुडाउन नपाउने नियमसँगै हिप्पी बसहरु हटेपनि मिनिबसको विकल्प थिएन ।

तर, अघिल्लो साताबाट भने भक्तपुरबासीले पनि ठूला बसमा सहज यात्रा गर्न पाउन थालेका छन् । साझा यातायातको जस्तै ठूला हिरियो रंगको बस भक्तपुरका सडकमा गुड्न थालेको छ ।

भक्तपुरमा मिनिबस सञ्चालकहरुले साझा बससँग प्रतिस्पर्धा गर्न २० वटा ठूला बसमार्फत सेवा प्रारम्भ गरेका छन् । सुरुवातमा नै ब्यवसायीको यो प्रयासले प्रशंसा पाएको छ ।

भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले नागरिरको अपेक्षा अनुरुपको सेवा दिने गरी सेवा थालेको बताए । उनले शहरी यातायातमा ठूला बसको महत्व बढ्दै गर्दा भक्तपुरमा पनि जनतालको सास्ती घटाउने उद्देश्यले ठूला बस सञ्चालनमा ल्याएको उल्लेख गरे ।

‘भक्तपुर-काठमाडौं नगर बस’ नाम दिइएको नगरबसले भक्तपुरको दूधपाटीबाट कमलविनायक-सूर्यविनायक-कोटेश्वर-गौशाला-चाबहिल-महाराजगञ्ज-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-कलंकी-कालीमाटी-त्रिपुरेश्वर-शहीदगेट-रत्नपार्क-माइतीघर-नयाँबानेश्वर- कोटेश्वर हुँदै भक्तपुरसम्म सेवा दिइरहेको छ ।

समितिले अर्को रुटमा पनि बस चलाएको छ । दूधपाटीबाटै छुटेर कमलविनायक-सूर्यविनायक-कोटेश्वर-बानेश्वर-माइतीघर-त्रिपुरेश्वर-कालीमाटी- कलंकी- स्वयम्भू-बालाजु- नयाँ बसपार्क- महाराजगञ्ज- चाबहिल- गौशाला- कोटेश्वर हुँदै भक्तपुर फर्किन्छ ।

नगर बसले विहान ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिएको समितिले जनाएको छ ।

साझा यातायातले भक्तपुरमा सेवा थालेको केही समयभित्रै यो बस सञ्चालनमा आएपछि स्थानीयलाई पनि सहज भएको छ । साना बसमा कोचिएर यात्रा गर्नुपर्ने यात्रुलाई अब साझा र भक्तपुर-काठमाडौं नगर बसको विकल्प तयार भएको छ ।

३ सय वटा मिनिबस चलाइरहेको समति आफैं ठूला बसमा गएपछि अब भक्तपुरमा ठूला बस आउने क्रम बढ्ने र प्रतिस्पर्धाकै कारण यातायात प्रणाली सुध्रने अपेक्षा गरिएको यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन् ।

नगरबसले सल्लाघारीदेखि भक्तपुरसम्म र भक्तपुरदेखि सल्लाघारीसम्म १० रुपैयाँ मात्रै लिएर सेवा दिइरहेको छ ।

‘हामी शहरमा ठूला बसलाई प्रवर्द्धन गर्दै निजी सवारीलाई निरुत्साहित गर्न चहान्छौं । ब्यवसायी पनि सरकारको यो नीति नजिक भएर ठूला बस सञ्चालनमा ल्याउनु सकारात्मक छ’ प्रवक्ता पाण्डेले भने ,’अब माइक्रो र मिनिबस चलाएर काठमाडौंको यातायात ब्यवस्था सुध्रँदैन । ब्यवसायी पनि यो कुरालाई बोध गर्दैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment